शिक्षकको पेसागत क्षमता अभिवृद्धि गर्न आवश्यक छ : पूर्व शिक्षा मन्त्री श्रेष्ठ

काठमाडौं/१७ असोज – पूर्व शिक्षामन्त्री तथा सांसद कृष्णगोपाल श्रेष्ठले सामुदायिक विद्यालयको गुणस्तर बढाउन शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् । सामुदायिक विद्यालयहरू राम्रो हुँदै गईरहेको अवस्थामा गुणस्तर वृद्धिका लागि शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताएका हुन् ।


काठमाडौँको कालीमाटी स्थित नील वाराही विद्यालयले ७१औँ हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सामुदायिक विद्यालयमा न्यून आए भएका बालबालिकाले पढ्ने भएकोले गुणस्तर सुधारमा जोड् दिनुपर्ने बताए । नील वाराही विद्यालयले उत्कृष्ट शिक्षा दिन सफल भएको प्रशंसा गर्दै देशकै उत्कृष्ट सामुदायिक विद्यालयमा पर्न सफल भएको भन्दै खुसी व्यक्त गरे ।


नील वाराही विद्यालयकी प्रधानाध्यापक डा.जानुका नेपालले विद्यालयमा भौतिक पूर्वाधारको कारण विद्यार्थी सङ्ख्या घटाउनुपर्ने अवस्था आएको, भर्ना हुन चाहेका विद्यार्थीलाई भर्ना गर्न नसकेकोले सहयोग गर्न सरोकारवालाहरूलाई आग्रह गरीन ।


उक्त अवसरमा विभिन्न सरोकारवाला र विज्ञहरूका लेख तथा विद्यालयका गतिविधि समावेश गरिएको स्मारिकाको विमोचन गरिएको थियो । साथै अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण, विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने शिक्षकहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा गायनहरू प्रस्तुत गरेका थिए ।