शिक्षक महासङ्घका नेताको निजि विद्यालय, शिक्षकलाई तलब ८३ रुपैयाँ

स्याङ्जा/२३ साउन – स्याङ्जाको अर्जुनचौपारी १ मा रहेको श्री पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद तिवारीले निजि स्कुल सञ्चालन गरिरहेको पाइएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक तिवारीले सञ्चालन गरेको निजि विद्यालय सितलादेवी इङलिस बोर्डङ स्कुल प्रालिमा आफै अध्यक्ष बसेर विद्यालय सञ्चालन गरिरहेको पाइएको हो ।


उनले २०५९ साउन २३ मा विद्यालय सञ्चालनका लागि अनुमति लिएको र त्यस यता सामुदायिक विद्यालयसँगै निजि विद्यालय पनि सञ्चालन गरिरहेको देखिएको छ । उक्त विद्यालयमा तीन जना संस्थापक सञ्चालक रहेपनि उनि एउटैका नाममा आठ हजार दुई सय पचास (५५ प्रतिशत) शेयर सङ्ख्या रहेको छ । अन्य दुई जना मध्ये एक जनाको तीन हजार सात सय पचास र अर्का एक जनाको तिन हजार शेयर सङ्ख्या छ ।


खबर एजुकेशनले प्राप्त गरेको जानकारी अनुसार तिवारीले सामुदायिक विद्यालयमा दिने समय समेत आफूले लगानी गरेको विद्यालयमा दिने गरेको, सामुदायिक विद्यालयमा करारमा राखिएका शिक्षकहरूलाई प्रभावित पारेर न्यून तलबमा कक्षा लिन लगाउने गरेको, आफ्नै श्रीमतीलाई समेत दुबै विद्यालयमा कक्षा लिने व्यवस्था गर्ने गरेका छन् ।


सामुदायिक विद्यालयबाट करिब ५ सय मिटरको दुरीमा आफ्नो बोर्डिङ सञ्चालन गरेको र सम्बन्धीत निकायबाट कुनै पनि अनुमति नलिई विद्यालय समयमा पनि आफ्नो विद्यालयमा गएर गणित विषय पढाउने गरेको पाइएको छ ।


त्यसैगरी पञ्चकन्या माविमा अध्यापन गराउने केही शिक्षकहरूलाई विगतका वर्षहरूदेखि नै विज्ञान, लेखा लगायतका विषयहरूमा पढाउन लगाउने गरेको, अनावश्यक विषय सामुदायिक विद्यालयमा राखेर आफ्नै श्रीमतीलाई कक्षा लिन लगाउने गरेको, श्रीमान र श्रीमती दुबैले निजी विद्यालयपनि सञ्चालन गर्दा र सामुदायिक विद्यालयमा पनि नेतृत्व गर्दा विद्यालयको शैक्षिक गुणस्तर तथा नतिजा दिनप्रतिदिन खस्किदै गएको स्थानीयहरूको भनाई छ ।


यस सन्दर्भमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक वसन्त प्रसाद कोइरालाले कुनै पनि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले अन्य निजि संस्थामा लगानी गर्न र काम गर्न नमिल्ने बताएका छन् । उनले शिक्षकहरूको सिर्जनात्मक कुराहरू गर्दा समेत इकाइलाई जानकारी गराएर मात्रै गर्न पाउने व्यवस्था भएको बताउँदै त्यसरी लगानी नै गरेर सामुदायिक विद्यालय नै प्रभावित हुने गरी कुनै पनि गतिविधि गर्न नहुँने बताए ।


प्रतिवेदन भन्छ तिवारीकै कारण धेरै विद्यार्थी अनुत्तीर्ण भए


यस सम्बन्धी यथार्थ कुरा पत्ता लगाउन र उक्त विद्यालय सुधारका लागि अर्जुनचौपारी शिक्षा शाखाबाट विद्यालयको व्यवस्थापन र नेतृत्व सम्बन्धी अध्ययन गरेर प्रतिवेदन तयार पारिएको छ । विद्यालयको स्थलगत अवलोकन गरी, विद्यार्थीका अभिभावक, विद्यालय अभिभावक समिति, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाहरूसँग अन्तरक्रिया, विभिन्न समयमा पत्राचार गरि बुझिएको उल्लेख छ ।

श्री पञ्चकन्या माध्यमिक विद्यालय


प्रतिवेदनमा वार्षिक कार्यक्रम र शैक्षिक कार्यपात्रो पालना नगरिएको, विगत ५ वर्षदेखि अतिरिक्त क्रियाकलाप सञ्चालन नगरिएको, नियमित स्टाफ बैठक सञ्चालन नगरिएको, परीक्षा तालिका अनुसार परीक्षा सञ्चालन नगरिएको, परीक्षाफल विश्लेषण तथा शिक्षक अभिभावक अन्तरक्रिया नराखेको, विद्यालय सुधार प्रतिबद्धता कार्यान्वयन नगरिएको, नियमित कक्षा अवलोकन र दैनिक पाठ्य योजना अनिवार्य नगराएको र विद्यालयको भौतिक पूर्वाधार, सरसफाइ, कक्षा सञ्चालन अनुगमन लगायतका कुनै पनि कार्य नगरेको देखिएको छ ।


साथै पालिका स्तरीय स्तरीकृत परीक्षा कक्षा ३, ५ र ८ तथा १० र १२ को नतिजा अत्यन्तै खस्कदै गएको प्रतिवेदनमा देखिएको छ । कक्षा ३ को २०८० मा अर्धवार्षिक परीक्षामा कुल १३ जना विद्यार्थीमा १२ जना विद्यार्थी अनुत्तीर्ण भएको देखिएको छ । त्यस्तै २०७९ को वार्षिक परीक्षामा कक्षा ३ मा कुल ९ जना विद्यार्थीमा ५ जना उत्तीर्ण, कक्षा ५ को २१ जना विद्यार्थीमा १९ जना अनुत्तीर्ण र कक्षा ८ को कुल ५७ विद्यार्थीमा ४५ अनुत्तीर्ण भएका छन् ।


उनै तिवारी नेपाल शिक्षक महासङ्घका पालिका अध्यक्ष


उनै विष्णु प्रसाद तिवारी नेपाल शिक्षक महासङ्घको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष हुन् । २०८१ बैशाख १५ गते बसेको नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठन लगायतको संयुक्त भेलाबाट उनको नेतृत्वमा कार्य समिति गठन गरिएको थियो ।


तर तिवारीले आफू नेपाल शिक्षक महासङ्घको नेता भएकै कारण पदको दुरुपयोग गर्दै सामुदायिक विद्यालयलाई भन्दा आफूले लगानी गरेको निजि विद्यालयमा समय दिने, पालिकाले गरेका कुनै पनि निर्णय नमान्ने, विद्यालय व्यवस्थापक समितिलाई नटेर्ने र आफूखुसी विद्यालय सञ्चालन गर्ने गरेका छन् । साथै शिक्षकहरूलाई दबाबमा राख्ने र उनिहरूलाई आफूले सञ्चालन गरेको विद्यालयमा पढाउन बाध्य गराउने गरेको देखिएको छ । साथै सामुदायिक विद्यालयका अन्य शिक्षकहरूलाई समेत उनीहरूका सेवा सुविधामा राज्यसँग माग गर्ने आश्वासन दिँदै पालिकाले गरेका निर्णयहरू कार्यान्वयन नगर्न शिक्षकहरूलाई उचाल्ने जस्ता हर्कत गरेको केही शिक्षकहरूको भनाई छ ।


शिक्षक माथि श्रम शोषण


तिवारीले सामुदायिक विद्यालयका शिक्षकहरूको सेवा सुविधा, तलबका लागि कुरा उठाइरहेको र राज्यसँग माग गरिरहेको भनेर नेतागिरी गरेपनि आफैले सञ्चालन गरेको विद्यालयमा अत्यन्त न्यून तलबमा काम गराई रहेका छन् ।


उनले आर्थिक वर्ष २०७९/०८० को आन्तरिक राजस्व कार्यालयमा बुझाउनका लागि बनाएको अडिट रिपोर्टमा उल्लेख भएअनुसार धेरै तलब दिएका शिक्षकहरूको वार्षिक रूपमा दुई लाख २५ हजारदेखि ३२ हजार ४ सयसम्म शिक्षक तथा कर्मचारीहरूलाई तलब दिएको देखिन्छ । तर शिक्षकहरूलाई पर्व खर्च सहित १३ महिनाको तलब दिनुपर्ने व्यवस्था हुन्छ ।


उनले लगानी गरेको विद्यालयले शिक्षकहरूलाई मासिक रूपमा हिसाब गर्ने हो भने १३ महिनाको दरले हेर्दा २ हजार ४ सय ९२ मा काममा लगाएको र एक महिनाको तलब २ हजार ४ सय ९२ दिएका छन् । यसलाई ३० दिनका दरले हिसाब गर्दा दैनिक ८३ रुपैयाँ तलब दिएको देखिन्छ ।


स्थायी शिक्षकको रूपमा नियुक्ति लिएर आएकी शिक्षकलाई हाजिर हुन दिएनन्


प्रधानाध्यापक तिवारीले स्थायी शिक्षकको रूपमा नियुक्ति लिएर आएकी एक जना शिक्षकलाई हाजिर हुन नदिएको उनि माथि आरोप छ । श्री चण्डीडाँडा आधारभूत विद्यालयबाट सरुवा भई पञ्चकन्या मावि अर्जुनचौपारी आएकी शिक्षकलाई हाजिर हुन नदिए पछि उनलाई अहिले गाउँपालिकाले पालिकामै हाजिर हुने व्यवस्था मिलाएर तलब खुवाईरहेको छ ।


शिक्षक सेवा आयोगबाट स्थायी नियुक्ति लिई हालै मात्र अर्जुनचौपारी गाउँपालिका आएकी शिक्षक शारदा गैह्रेको पदस्थापन श्री चण्डीडाँडा आधारभूत विद्यालयमा भएपनि उक्त विद्यालयमा विद्यार्थी अभावको कारण विद्यालय नै खारेज हुने अवस्था आएपछि अर्जुनचौपारी गाउँपालिकाको कार्यपालिका बैठकले सरुवा अर्को व्यवस्था नभएसम्मका लागि पञ्चकन्या मावि अर्जुनचौपारीमा गरिएको थियो । वैशाख ३० गतेदेखि आजसम्म पनि उनलाई विद्यालयमा हाजिर हुन दिइएको छैन ।