काठमाडौँ /१२ साउन – ह्वाइट हाउस इन्टरनेशल कलेजका विद्यार्थीले नेपालकै सबै भन्दा ठुलो र अग्लो केक बनाएका छन् । कलेजमा बिएचएम पाचौँ सेमेस्टर पढ्ने विद्यार्थीले प्रयोगात्मक कक्षा अन्तर्गत उक्त केक बनाएको दाबी गरेका हुन् ।
विद्यार्थीहरूले शुक्रवार कलेज प्राङ्गणमा द मेलोडी एण्ड मन्चिज गाला कार्यक्रम आयोजना गरेर उक्त ठुलो केकलाई प्रदर्शनीमा समेत राखेका थिए । केक ६ फिट अग्लो र २ सय ७.५ पाउन्डको रहेको थियो ।
विएचएम पाचौँ सेमेस्टर पढ्दै गरेका विद्यार्थीहरूका लागि पाठ्यक्रमले निर्धारण गरेअनुरुप प्रयोगात्मक रूपमा एउटा कार्यक्रम गर्नेपर्ने हुन्छ । त्यसै अन्तर्गत विद्यार्थीहरूले यो कार्यक्रम आयोजना गरेको विएचएम कार्यक्रमका कोअर्डिनेटर नरोत्तम अधिकारीले जानकारी दिए ।
कार्यक्रममा विद्यार्थीले नै बनाएका परिकार सहितको फुडस्टल, विभिन्न फास्टफुड समेत राखिएको थियो । साथै विद्यार्थीहरूले एचआइभी एड्स लागेका बालबालिकाहरूलाई सहयोग गर्ने उदेश्यले सहयोग रकम समेत सङ्कलन गरेको थिए । त्यसैगरी विद्यार्थीहरूलाई मनोरञ्जन दिनका लागि गायक कालिप्रसाद बाँस्कोटा, रक्स् हेड व्यण्ड र ईण्डियन गायक जितेस सिंहको समेत उपस्थिति रहेको थियो ।
पाठ्यक्रममा बिएचएम पढ्ने पाचौँ सेमेस्टरका विद्यार्थीहरूले सैद्धान्तिक पढाइसँगै प्रयोगात्मक पनि गर्नुपर्ने भनिएको र त्यसैलाई केन्द्रीत गरेर विद्यार्थीहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको कोअर्डिनेटर अधिकारीले बताए । यस्ता कार्यक्रमहरूले विद्यार्थीको नेटवर्क हुने, कम्युनिकेशन क्षमता विकास हुने बताए ।
कलेज प्रमुख तोय नारायण पौडेलले कलेजले सैद्धान्तिक पठनपाठनसँगै विद्यार्थीहरूको सिप विकासका लागि प्रयोगात्मक कक्षालाई बढी जोड् दिएको जानकारी दिए । साथै विद्यार्थीको पढाई सकिएपछि बेरोजगारी बस्न नपरोस, स्वरोजगार हुन सकुन, नेटवर्क होस र सिपसँगै व्यक्तिगत क्षमताको विकास होस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
एक हजार भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा होटेल हिमालयन, होटेल साहारा, लेमन टी, हायत होटेल, सोल्टी होटेल, होलिडे इन लगायतका विभिन्न होटेलहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।