सबै स्थायी शिक्षकलाई पुरानै पेन्सन उपलब्ध गराउन माग

काठमाडौँ /१२ साउन – हाल सम्मका सबै स्थायी शिक्षकहरूलाई पुरानै पेन्सन उपलब्ध गराउन शिक्षक हकहित मञ्च नेपाल जोडदार माग गर्दछ ।


निजामती कर्मचारीको हकमा निजामती विनियम बनाएर २०७६/०४/१ अगाडि सम्मकाले पुरानै पेन्सन पाउने व्यवस्था गरे र २०७६ साउन १ देखि योगदानमा आधारित पेन्सन पनि जम्मा गर्न थाले ।


शिक्षकको हकमा नवौं संशोधन पछि कुनै ऐन संशोधन गरिएको छैन र एकैचोटि २०८० सालमा आएर सदनमा दर्ता भएको छ । विश्वमै कहिपनि कानुन भूतप्रभावी हुदैन त्यो नेपाल सरकारलाई पक्कै पनि थाहा होला । त्यसैले यो विद्यालय शिक्षा विधेयक प्रारम्भ हुनुभन्दा अगाडिका सबै स्थायी शिक्षकहरूले पुरानै पेन्सन पाउनुपर्छ ,यो जायज माग पनि हो ।


अनि अर्को कुरा २०२८ को शिक्षा ऐनमा टेकेर २०७५/१२/०४ भन्दा अगाडि नै विज्ञापन भएका आन्तरिक विज्ञापन र त्यसपछिको पहिलो खुला विज्ञापनमा परीक्षा भएको पनि सम्बन्धित सबैलाई थाहै होला ।


अझै पनि समय छ संशोधन प्रस्ताव हालेर सबै स्थायी शिक्षक साथीहरूलाई पुरानै पेन्सनमा लैजान नेपाल सरकार, शिक्षक महासङ्घ एवम् सरोकारवाला सबैसँग हार्दिक अनुरोध गर्दछु ।


साथै राहत शिक्षक , छुट अस्थायी करार शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी , अनुदान शिक्षक , उमावि शिक्षक , निजि स्रोत शिक्षक र विस्थापित शिक्षक साथीहरूको माग समेत पूरा गर्न नेपाल सरकार समक्ष आग्रह गर्दछु ।


ज्योति नारायण ढकाल, अध्यक्ष, शिक्षक हकहित मञ्च नेपाल ।