शिक्षक तथा कर्मचारीको सेवा सुविधाका लागि कानुनी प्रक्रिया थालिएको छ : शिक्षा मन्त्री

काठमाडौँ /४ असार – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विशेष शिक्षक परिषद् अन्तर्गत कार्यरत शिक्षक तथा कर्मचारीहरूले प्राप्त गर्ने सेवा सुविधाका लागि कानुनी प्रक्रिया थालिएको बताएकी छन् । मंगलबार शिक्षा मन्त्रालयको जिम्मेवारी समालेको सय दिन पुगेको सन्दर्भमा सञ्चारकर्मीहरूसँगको संवादमा सो कुरा बताएकी हुन् ।


उनले यससम्बन्धी नियमावली अर्थ मन्त्रालयबाट स्वीकृत गराएर कानुन मन्त्रालयमा पठाएको जानकारी दिइन । श्रेष्ठले विशेष शिक्षक कर्मचारीहरूको सेवा सुविधा जोडिएकोले यो विषय निकै महत्वपूर्ण रहेको बताइन ।


उनले भनिन् “सुप्रिम कोटको अर्डर पनि छ । धेरै भइसक्यो । यो विशेष शिक्षक परिषद् अन्तर्गत कार्यरत शिक्षक तथा कर्मचारीहरूले प्राप्त गर्ने सेवा सुविधा सम्बन्धीको नियमावली पनि अर्थबाट ओक्के गराएर कानुन मन्त्रालयमा पठाएका छौँ । यो महत्वपूर्ण छ, किन भने विशेष शिक्षकहरूको सेवा सुविधा यसमा जोडिएको छ ।”