काठमाडौँ /४ असार – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आफूले शिक्षा क्षेत्र सुधारका लागि नीतिगत पहल गरिरहेको र केही परिवर्तन आएको दाबी गरेकी छन् । मंगलबार शिक्षा मन्त्रालयको जिम्मेवारी समालेको सय दिन पुगेको सन्दर्भमा सञ्चारकर्मीहरूसँगको संवादमा सो दावी गरेकी हुन् ।
मन्त्री श्रेष्ठले आफू तथ्य र तथ्याङ्कलाई विश्लेषण गरेर काम गरिरहेको बताउँदै दलीय राजनीति मुक्त शिक्षा क्षेत्र बनाउने अभिलाषाका साथ अगाडि बढेको बताइन । यसै सन्दर्भमा राजनीतिक दलमा आबद्ध भएका शिक्षहरूलाई दलीय सदस्यता त्याग्न आह्वान गरिएको र स्थानीय तहसँग सोको विवरण माग, ताकेता र स्पष्टीकरण माग गरिएको जानकारी दिइन ।
श्रेष्ठका अनुसार ४५ जना शिक्षकको उजुरी प्राप्त भएको, ४१ जनलाई स्पष्टीकरण सोधिएको, ४ जना शिक्षकले सफाइ पाएको, २० जना शिक्षकले शिक्षण पेशाबाट राजीनामा गरेको र ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको बताइन ।
त्यसैगरी काजमा गएका शिक्षकहरूको एकीकृत तथ्यांक बनाउने प्रक्रियामा रहेको बताउँदै २ सय ९१ काजमा रहेका शिक्षकहरूमा ५४ जनाको काज फिर्ता भएको र ५९ शिक्षकसँग स्पष्टीकरण सोधिएको बताइन ।
शिक्षामा हुने गरेको राजनीतिको अन्त्य गर्ने उदेश्यका साथ अगाडि बढेको बताउँदै आफूले सकेसम्म विद्यालय शिक्षकमा हुने दलीय राजनीतिको अन्त्य गरेरै छाड्ने प्रतिबद्धताका साथ लागेको बताइन ।