काठमाडौँ /१५ जेठ – सरकारले आज घोषणा गरेको बजेटमा विद्यालय कर्मचारीहरूका मागलाई आगामी आर्थिक वर्षमा समेटिएको देखिएन । न्यून तलबमा काम गर्दै आएका विद्यालय कर्मचारीहरू राज्यले नै निर्धारण गरेको नियममा समेत समेटिन सकेका छैनन् । यसै सन्दर्भमा विद्यालय कर्मचारी राम शरण फुयाँलले शिक्षा मन्त्रीलाई लेखेको खुला पत्र ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, सुमना श्रेष्ठज्यू
त्यहाँ हजुरलाई आरामनै होला प्रत्येक समय डायरी र कलम मात्र समातेको देख्थे अनि लाग्थ्यो अब शिक्षाबाट समाज परिवर्तनको बिगुल फुक्नु हुन्छ र अब कोही पनि नागरिक एक गास खानकै लागि विदेशी भूमिमा बेचिनु पर्ने अवस्था आउने छैन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर तिब्र गतिमा सुधार हुनेछ । तपाईको शालीनता र वैचारिकता हेर्दा लाग्थ्यो कि वा नेतृत्व भनेको यस्तो पो हुनु पर्छ तर खैर म दिवा सपनामा रहेछु । बिउँझिएर हेर्दा बल्ल पो थाहा भयो कि तपाईले भन्नु भएको सबै गलत थियो । बालविकास शिक्षक र कर्मचारीको कुनै पनि हालतमा म काम गर्छु मलाई सबै समस्याहरू थाहा छ र त्यो काम गर्ने तीन विकल्प छन भनि विकल्प सहित प्रस्तुत हुँदै गर्दा तपाईको सामाजिक सुरक्षा कोष कता हरायो ? संघ, प्रदेश र स्थानीय तहले बेहोर्ने तलब रकम कता हरायो ? अनि स्थानीय निकायलाई दिने समानीकरणको बजेट कुन भौतिक पूर्वाधार भित्र लुक्न सफल बन्यो ?
हामीले तपाईलाई भनेका थियौँ ७ सय ५३ पालिकाको ७ सय ५३ ओटा ऐन छन सबैमा समानता र एकरूपता छैन भनि अनि तपाई आफैले भन्नु भयो कि जुन जुन पालिका कमजोर छन् ति पालिकामा समानीकरणको बजेट पठाएर भए पनि हामी पूर्ण तलब दिने व्यवस्थापन गर्छौ तर आफ्नै बोलिमा परिपक्वता छैन खै के भनु ।
तपाई जहा जे जस्तो अबस्थामा भए पनि बिचरा कर्मचारीको हालत बेहाल छ । काम गरुन्जेल काम गरेको ८ हजार र १३ हजार ५ सयले खान पुग्दैन । ६० कटे पछि बेकामी बाउ आमा भन्छन छोरा छोरीले हेर्दैन अनि जाने कहाँ, भन्ने कसलाई विकल्प केही छैन राज्य तेस्रो दर्जाको नागरिक को रूपमा हेर्छ । स्थानीय सरकार सङ्घीय सरकारको जिम्मा भन्छ अनि हुन्छ चाही के, गर्छ चाही कसले ।
अन्त्यमा यस्तो स्थिति सृजना नहोसकी विद्यालय कर्मचारी आफू बाच्न नसकी आफू सँगै आफ्नो परिवारलाई नै साथ लागोस । मेरो कुरा विश्वास लाग्दैन भने ठुलो सिंहदरबारबाट गाउँ गाउँमा आएको सिंहदरबार जानु आफै थाहा पाउनु हुनेछ ।
उही तपाईको तेस्रो दर्जाको नागरिक
राम शरण फुयाँल
तारकेश्वर नगरपालिका ५ काठमाडौँ