एक करोड ५२ लाख बैंक ब्यालेन्स रहेको शिक्षामन्त्रीको सम्पत्ति विवरणमा उल्लेख

काठमाडौँ /८ जेठ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफ्नो नाममा कुनै घर नभएको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । मन्त्रीपरिषद्मा बुझाएको सम्पत्ति विवरण अनुसार आफ्नो नाममा घर नभए पनि बैंकमा एक करोड ५२ लाख रुपैयाँ रहेको उल्लेख गरेकी छन् ।


उनले बुझाएको विवरण अनुसार एनआईसी एसिया बैंकमा एक करोड १५ लाख र एभरेस्ट बैंकमा ३७ लाख आफ्नो मौजदात नगद रहेको र सो रकम पारिश्रमिकबापत पाएको विवरणमा उल्लेख गरेकी छन् ।


त्यसैगरी हजुर आमाको शेषपछि पाएको १ तोला सुन र १ सेट हिराको टप, बिहेका बेला उपहार पाएको १० तोला सुन, १०० तोला चाँदी, हिराको एक सेट रहेको विवरणमा खुलाएकी छन् ।


साथै काभ्रे जिल्लाको रियाले ४ मा ९ लाख ९४ हजारमा पारिश्रमिकको रकमबाट जग्गा लिएको र उक्त जग्गा संयुक्त नाममा रहेको उल्लेख गरेकी छन् । नविल बैंक सहित विभिन्न ४ कम्पनीमा शेयर रहेको उनको विवरणमा छ । सवारी साधनाका रूपमा २० लाखमा खरिद गरेको ईभी कार र एउटा स्कुटर प्रयोग गरिहेको जनाएकी छन् ।