शिक्षा मन्त्रालयका थोत्रा सामान : देशको शिक्षा प्रणालीलाई जिस्काए जस्तो लाग्ने

काठमाडौँ /३ जेठ – शिक्षा सम्बन्धी गुनासो, काम, सुझाब, बैठक अथवा विभिन्न कामको सिलसिलामा तपाई शिक्षा मन्त्रालय पुग्नु भएकै होला ? तपाईले एउटा कुरा ख्याल गर्नु भएको छ ? यदी गर्नु भएको छैन भने सिंहदरबार भित्र रहेको शिक्षा मन्त्रालयको मुख्य प्रवेश द्वारबाट भित्र छिरेपछि दाहिने पट्टिबाट माथिल्लो तलामा जाने भर्‍याङ छ । हो त्यो बाटो हुँदै माथि चढ्दा तपाईका आँखा शिक्षा मन्त्रालयको असरल्ल फालिएका थोत्रा कुर्ची र सामानमा अवश्य पुग्छ ।


मन्त्रालयमा सायद स्टोर वा पुराना सामान राख्ने ठाउँ नभएर होला भर्‍याङ उठाउने भागको बिचमा रहेको खाली भागमा सामान राखिएको छ । त्यो पनि तल्लो तलादेखि सबै भन्दा माथिको तलासम्म नपुगुन्जेल धित पुग्नेगरी सबैले देख्न पाइन्छ । शिक्षा मन्त्री, शिक्षा सचिव वा अन्यलाई केही कामले भेट्न पुग्नु भयो भने सिधै तिनै थोत्रा सामानमा आँखा पुग्छ । तपाईले भेट्ने मान्छे वा बैठक भन्दा पहिला थोत्रा कुर्चिको दर्शन गर्न पाउनु हुन्छ अनि मात्रै भेट्न ।


शिक्षा मन्त्री, शिक्षा सचिव त्यो बाटो हुँदै ओहोर दोहार धेरै पटक गरे होलान उनीहरूका आँखा पनि तिनै थोत्रा सामान सँग धेरै पटक ठोकिए होलान । सायद शिक्षा मन्त्रालयको कामको चापले धेरै व्यस्त भएर होला, न त शिक्षा मन्त्रीले त्यो हटाउन निर्देशन दिइन न त सचिवले । कुरा आउन सक्छ त्यति पनि मन्त्रीले नै निर्देशन दिनु पर्ने ? कर्मचारीले गर्न सक्दैनन् ? हो उनीहरूलाई त झन फुर्सदै छैन, कहीले मन्त्रालय बाहिरको काम कहिले मन्त्रालय भित्रको काम । यदी तपाई भेट् जानु भयो भने मिटिङ नै मिटिङ लाग्छ देशको शिक्षामा आमूल परिवर्तन आउँदै छ । सबैले निःशुल्क शिक्षा पाउँदैछन् ।


देशको अवस्थाका बारेमा हामी बानी परेका छौँ । थोत्रा सामान देखेपनि चुप लागेर हिडौँला तर, शिक्षा मन्त्रालयमा उच्च तहका विदेशी पाहुनाहरू पनि आउने गर्छन । उनीहरूले त्यो देखेपछि के सोचे होलान ? त्यसबाट उनीहरूले कस्तो सन्देश लिएर मन्त्रालयबाट फर्कलान ?


कहिले कही भर्‍याङबाट माथि चढ्दै गर्दा ति सामान देखेपछि देशको शिक्षा प्रणालीलाई नै जिस्काए जस्तो लाग्छ । देशको समग्र शिक्षा हेर्ने मन्त्रालयले ती सामान प्रदर्शनीमा राखेर दिन खोजेको सन्देश के हो ? सामान जस्तै हाम्रो मन्त्रालय र शिक्षा भन्न खोजिएको हो ? कि कसो ?