स्थानीय तहले नै पढाउन थाले जापानीज भाषा, आईईएलटिएस र टोफेल

सुर्खेत/२ जेठ – सरकारले हिजो मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा युवाहरूलाई स्वदेश मै टिकाउनका लागि अनुसन्धान तथा रोजगार मूलक कार्यक्रम ल्याइने राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीतिमा उल्लेख छ ।


त्यसैगरी शिक्षामा विश्वविद्यालयलाई अनुसन्धानमा लाग्न प्रोत्साहन गर्ने, विद्यार्थीलाई रोजगार मूलक शिक्षामा केन्द्रीत गर्ने, विद्यालय तहमा प्राविधिक धारलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र विदेशबाट नेपालमा पढ्न आउने विद्यार्थीका लागि भिसा सहजीकरण गर्ने लगायतका कार्यक्रम रहेका छन् ।


तर सुर्खेतको वीरेन्द्र नगरपालिका वडा नं. १०ले विदेश जाने विद्यार्थीलाई ५० प्रतिशत छुट भन्दै कोरियन भाषा, जापानिज भाषा, आईईएलटिएस, पिटिई र टोफेल कक्षा सञ्चालन गर्न थालेको छ ।


वडा कार्यालयले टेस्ला इन्टिच्युट प्रा।लि।सँग सहकार्य भन्दै ५० प्रतिशत छुटको प्रलोभन देखाएर विद्यार्थी बटुल्ने र इन्स्टिच्युट चलाउने तरीका अपनाएको देखिन्छ । १० वडामा बस्ने गरिब जेहेन्दार विद्यार्थीलाई ५० प्रतिशत छुट भनिएपनि सहभागी विद्यार्थीले ब्यहोर्ने रकम आफैमा धरै रहेको समेत पाइएको छ ।


वडा कार्यालयले नै शैक्षिक परामर्शको काम गर्नुले विद्यार्थीलाई देशमा नै रोजगारको सिर्जना गर्ने भन्दा पनि विदेश पलाएन हुनका लागि प्रोत्साहन गरेको देखिन्छ ।