काभ्रेपलान्चोक/२ जेठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनोपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्ने बताएकी छन् । भालेश्वर माध्यमिक विद्यालय पनौती नगरपालिका ८ काभ्रेपलान्चोकको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन् ।
मन्त्री चौधरीले सङ्घीय शिक्षा ऐन संघ, प्रदेश र स्थानीय तह तीन तहको सरकार जिम्मेवार हुने गरी आउनुपर्ने बताइन । ऐन अहिले संसद्मा रहेको भन्दै उहाँले सँगै विश्वविद्यालय र विद्यालय शिक्षा ऐन पनि संसद्मा दर्ता भएको जानकारी दिइन ।
‘सङ्घीय शिक्षा ऐन संसद्मा छ । सँगै विश्वविद्यालय र विद्यालय शिक्षा ऐन पनि संसद्मा दर्ता भएको छ । सङ्घीय शिक्षा ऐनभित्र तीन तहको सरकार जिम्मेवार हुने गरी समेटिनुपर्छ’, मन्त्री चौधरीले भनिन, ‘अहिले स्थानीय निकायलाई शिक्षाको जिम्मेवारी दिइएको अवस्था छ । तर त्यसभित्र पनि केही गुनासोहरू प्राप्त भएका छन् । त्यसलाई पनि सम्बोधन हुने गरी ऐन आउनुपर्छ ।’
स्थानीय निकायहरूले सामुदायिक विद्यालयलाई समेत प्रभावित पार्ने गरी विभिन्न नियमहरू लगाउने प्रवृत्ति पनि बढेको भन्दै उनले ती कुराको सम्बोधन हुने गरी ऐन आउनुपर्नेमा जोड् दिइन ।
शिक्षकहरूलाई राजनीतिक दलमा लाग्न दिइनुहुँदैन भन्ने कुरा शिक्षामन्त्रीले अगाडि सारेको भन्दै उहाँले शिक्षालाई सङ्घीय, प्रदेश र स्थानीय तीनै सरकारबिच कसरी समन्वय गरेर लैजान सकिन्छ भनेर ध्यान दिन जरुरी रहेको उनको भनाई थियो ।
सबै बालबालिकालाई विद्यालयसम्म पु¥याउन सबैको भूमिका हुनुपर्ने भन्दै उनले कुनैपनि बालबालिकालाई बालश्रममा लाग्नबाट रोक्नुपर्ने बताइन । ‘सबै बालबालिकाले शिक्षा पाउनुपर्छ । उनीहरूलाई कुनैपनि बहानामा श्रममा लगाउन पाइँदैन । जुन कुरा सरकारको नीति तथा कार्यक्रममा पनि केही कुरा समेटिएको छ’, मन्त्री चौधरीले भनिन् ।
अहिलेको अवस्थामा प्राथमिक विद्यालयमा विद्यार्थी भर्ना दर न्यून भएको भन्दै मन्त्री चौधरीले सरकारमा आबद्ध भएका व्यक्तिहरूका विद्यार्थीहरू सामुदायिक विद्यालयमा भर्ना गर्नै पर्छ भन्ने अवधारणा पनि ल्याउन आवश्यक रहेको बताइन ।
सामुदायिक विद्यालयको अवस्था कमजोर हुँदै गएको सन्दर्भमा राम्रा हुँदै गएको विद्यालय देख्न पाउनु निकै राम्रो कुरा भएको मन्त्री चौधरीको भनाई थियो । भनिन् ‘सामुदायिक विद्यालयहरूको अवस्था यस्तो देख्न पाउनु निकै ठुलो कुरा हो । यो विद्यालयमा एक हजार जनाभन्दा बढी विद्यार्थीहरू रहेको सुन्न पाउँदा खुसी लागेको छ । अहिले सामुदायिक विद्यालयप्रतिको गुणस्तरमा प्रश्न उठेको छ । विद्यार्थी सङ्ख्या पनि निकै घट्दै गएको अवस्था छ । यो विद्यालयको शिक्षण सिकाई, विद्यालयको वातावरणका कारण विद्यार्थीको चाप रहेको पाइयो ।’
कार्यक्रममा बोल्दै संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री रेशम लामाले सामुदायिक विद्यालयको सुधारका निम्ति आफूले लामो समयदेखि पहलकदमी गर्दै आएको बताए । विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाले विद्यालयलाई अझ वैज्ञानिक शिक्षण सिकाई लागु गर्नका निम्ति शिक्षकको व्यवस्थापन लगायतका विषयहरू आवश्यक रहेको धारणा व्यक्ति गरे ।