त्रिविको शैक्षिक पात्रो कार्यान्वयन गर्न दलगत सङ्गठनहरुको एउटै धारणा हुनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ /३१ बैशाख – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिविको शैक्षिक पात्रोको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थी सङ्घ सङ्गठनसँग छलफल भएको बताएकी छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलमा मन्त्री श्रेष्ठले शैक्षिक पात्रो बनाउनका लागि मुख्य भूमिका दलगत रूपमा आबद्ध प्रशासन र कर्मचारी सङ्गठनको एउटै धारणा हुनुपर्ने भन्दै उक्त कुरा बताएकी हुन् ।


उनले भनिनन्, “जबसम्म दलगत रूपमा रहेको प्रशासन र कर्मचारी सङ्गठनको निचोड एउटै आउँदैन, तबसम्म कार्यान्वयन सहज हुँदैन, एउटा कर्मचारी सरुवा गर्दा पनि आन्दोलन गर्ने, धम्की दिने काम भइरहेको छ ।” त्रिविमा पटक–पटक तालाबन्दीलगायत समस्या राजनीतिक हस्तक्षेपका कारण आएका कारण राजनीतिक दलका शीर्ष नेतासँग नै छलफल गर्नुपर्ने उनको भनाइ छ । विश्वविद्यालयलाई राजनीतिकरण नगर्न उनले आग्रह गरिन् ।


बङ्गलादेशको छात्रवृत्तिको विषयमा दुई देशबिचको सम्बन्धको पनि विषय भएकोले कूटनीतिक रूपमा समाधानका लागि पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । उनले विदेशी विश्वविद्यालयको अनुमतिका लागि समिति बनाएर नीतिगत कमजोरी के हो भन्नेबारेमा बुझ्न लगाएको जानकारी दिइन् ।


त्यसैगरी श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति गठनको तयारी भइरहेको बताएकी छन् । समितिको लागि कार्यजिम्मेवारी तयार भइसकेको र तीन महिने अवधि दिएर कामको लागि प्रस्ताव तयार गर्दै गरेको बताइन ।