स्कुल बसमा आगजनी गर्नेलाई कारबाही गर्न प्याब्सनको माग

काठमाडौँ /३० बैशाख – चितवनको भरतपुर महानगरपालिका स्थित विद्यार्थी ओसार्न हिँडेको स्मल हेभन स्कुल बसमा आगजनी गर्नेलाई कडा कारबाही गर्न प्यब्सनले माग गरेको छ । ६ जनाको अज्ञात समूहले आगजनी गरी पुरै बस ध्वस्त पारेको भन्दै कारबाही गर्न माग गरेको हो ।


प्याब्सनले आज एक विज्ञप्ति जारी गरी बागमती प्रदेश ०६००१ ‘क’ ००४५ नम्बरको स्कुल बसमा ६ जनाको अज्ञात समूहले आगजनी गरी पुरै बस ध्वस्त पारेको खबरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


विज्ञप्तिमा भनिएको छ वैशाख ३० गते बिहान ८ः१५ बजे, विद्यार्थी लिन जाने क्रममा चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं.–२०, दद्राहानी पुलमा प्याब्सन सदस्य विद्यालय स्मल हेभन स्कुल, कल्याणपुरको बागमती प्रदेश ०६००१ ‘क’ ००४५ नम्बरको स्कुल बसमा ६ जनाको अज्ञात समूहले आगजनी गरी पुरै बस ध्वस्त पारेको खबरले प्याब्सन केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ ।


त्यसैगरी विद्यालय र विद्यार्थी शान्ति क्षेत्र हो भन्ने मान्यता विपरीत विद्यालयको विद्यार्थी बोक्ने सवारी साधन माथि तोडफोड, आगजनी जस्तो निकृष्ट र निन्दनीय कार्य प्रति घोर भर्त्सना गरेको छ ।


यस्ता जघन्य कार्यमा सम्मिलित व्यक्तिहरूको पहिचान गरी कडा भन्दा कडा कारबाही र उचित क्षतिपूर्तिका लागि नेपाल सरकारसँग प्यब्सनले माग गरेको छ ।