काठमाडौँ /२८ बैशाख – आगामी वर्षको बजेटमा शिक्षकलाई प्रोत्साहनका लागि बजेट विनियोजन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ प्रस्ताव गरेको सचिवालयले जनाएको छ । शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन ल्याउनका लागि बजेट भाषणमा नै सम्बोधन गर्ने गरी तयारी गरिरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको सचिवालयले जनाएको हो ।
मन्त्रालयले शिक्षक–विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान सहित शिक्षक व्यवस्थापन र प्रोत्साहनका लागि बजेट माग गरेको जनाएको छ । साथै शिक्षकहरूलाई तालिमको व्यवस्था गर्न समेत बजेटमा प्रस्ताव गरिएको छ ।
विद्यार्थीलाई परामर्श
त्यसैगरी मन्त्रालयले कक्षा १० को परीक्षा दिएका विद्यार्थी र कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई शैक्षिक परामर्श उपलब्ध गराउने गरी बजेटमा व्यवस्था गर्ने गरी तयारी गरेको मन्त्री श्रेष्ठले बताएकी छन् । उनले अहिले समय कम भएको र अर्को वर्षका लागि बजेटको व्यवस्था गरेर विद्यार्थीहरूलाई नेपाल मै अध्ययन गर्नका लागि र अन्योलता हटाउनका लागि परामर्श दिइने बताइन ।
विद्यार्थीले विश्वविद्यालयको शैक्षिक कार्यक्रम, करियर गाईडलाइन्स लगायतका विषयमा जानकारी नै नपाउने अवस्था भएकोले दिनका लागि यस्तो व्यवस्था गर्ने तयारी गरेको बताइएको छ । विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयको सहकार्यमा विद्यार्थीलाई परामर्श दिने योजना मन्त्रालयको छ ।



