विद्यालय शिक्षा सुधारका लागि साप्ताहिक अभियान

काठमाडौँ /१० बैशाख – सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई)ले शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह गर्ने भएको छ । रुपान्तरणकारी शिक्षा भन्ने मूल नाराका साथ बैशाख १० गतेदेखि १४ गतेसम्म विभिन्न दबाब मूलक कार्यक्रम गर्ने भएको हो ।


आज आयोजित पत्रकार सम्मेलनमा नेपालले सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकार, सांसद तथा राजनीतिक दलहरूलाई शिक्षामा लगानी, प्रविधिमैत्रि शिक्षा र रूपान्तरण, समावेशी, समतामूलक, सुरक्षित सिकाइ वातावरण, व्यावहारिक शिक्षा, सिकाइ र शिक्षक व्यवस्थापन जस्ता सवालहरूको यथोचित सम्बोधन गर्दै शिक्षामा आमूल परिवर्तन गराउन रचनात्मक दबाब सिर्जना गर्ने उद्देश्यले शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह गर्न लागिएको जानकारी दियो ।


त्यसैगरी विद्यालय र सिकाइ केन्द्रहरूमा अनलाइन शिक्षा, विद्यालयको पाठ्यक्रममा समसामयिक पुनर्विचार र परिमार्जन र शिक्षालाई दैनिक जीवनसँग जोड्दै गुणस्तरीय, समावेशी, जीवनोपयोगी तथा सामाजिक जीवनमा अन्य पक्षसँग अन्तरसम्बन्धत र सीप सम्म शिक्षा जोड्दै यसमा नवप्रर्वत गरिनुपर्ने र शैक्षिक रूपान्तरणका लागि तीनै तहका सरकारले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा शिक्षालाई प्राथमिकतामा राख्नु पर्ने एनसिई नेपालको माग छ ।


कम्तीमा कक्षा १० सम्मको शिक्षा निःशुल्क, समान र गुणस्तरीय हुनुपर्ने एनसिई नेपालका अध्यक्ष राजेन्द्र पहाडीले बताए । उनले समस्यामा परेका बालबालिकालाई यथोचित सम्बोधन गरिनुपर्ने बताउँदै शिक्षा क्षेत्र सुधारका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड् दिए । साथै शिक्षा क्षेत्रमा भईरहेको व्यापारीकरण तत्काल रोक्नुपर्ने उनको भनाई थियो ।


एनसिई नेपालका मागहरू
१. सरकारले अन्तराष्ट्रिय मंचहरूमा गरेको प्रतिबद्धता बमोजिम तीनै तहका सरकारले सार्वजनिक शिक्षामा कुल र्गाहस्थ उत्पादनको ४ देखी ६ प्रतिशत र कुल राष्ट्रिय बजेटको २० प्रतिशत लगानी गरियोस् ।


२. नेपालको संविधानले निःशुल्क तथा अनिवार्य शिक्षा सम्बन्धी मौलिक हकको व्यवस्था गरेको छ । संविधानको मर्म र यसको कार्यान्वयनको लागि मार्ग प्रशस्त गर्ने गरी विद्यालय शिक्षा ऐन तत्काल जारी गरियोस् ।


३. विद्यालय आउन बाँकी र विद्यालय आएर कक्षा छाड्ने आर्थिक र सामाजिक रूपमा पिछडिएका सीमान्तकृत समुदायका बालबालिका, अपाङ्गता भएका, यौनिक अल्पसंख्यक तथा बालिकाहरूलाई विद्यालयमा ल्याउन र टिकाइराख्न तथा गुणस्तरीय सिकाइ सुनिश्चित गर्न विशिष्टिकृत प्रकृति कार्यक्रमहरु कार्यान्वयन गरियोस् ।


४. शिक्षा क्षेत्रमा भईरहेको व्यापारीकरण तत्काल रोकियोस् ।


५. विपद् तथा महामारीको बेलामा समेत सार्वजनिक विद्यालयको पठनपाठनलाई निरन्तरता दिन सबै विद्यालयहरूलाई प्रविधियुक्त बनाउन जोड दिइयोस् ।


६. सार्वजनिक विद्यालयमा पर्दै गईरहेको गुणस्तरीय शिक्षाको खडेरीलाई तत्काल न्यूनीकरण गरी आम् सर्वसाधारण नागरिकको सार्वजनिक शिक्षा प्रतिको आकर्षण बढाउन सार्वजनिक शिक्षा र शिक्षा प्रणालीको रूपान्तरण गर्न तत्काल कदम चालियोस् ।


७. सार्वजनिक विद्यालयको भौतिक अवस्था सुधार गरी अपाङ्गता मैत्री विद्यालय पूर्वाधार, छात्रामैत्री शौचालय, पुस्तकालय, खानेपानी लगायतको अनिवार्य व्यवस्थापन गरियोस् ।


८. विद्यालय तहमा गुणस्तरीय प्राविधिक शिक्षाको पहुँच विस्तार गरियोस् ।


९. सार्वजनिक विद्यालयको सुशासन प्रर्वद्धनको निमित्त विद्यालयसँग सम्बन्धित योजना तर्जुमा तथा नीति निर्माणमा विद्यार्थी, अभिभावक तथा नागरिक समाज लगायत अन्य सरोकारवालाहरूको सहभागिता सुनिश्चित गरियोस् ।


मागहरू पुरा गर्न दबाब दिनका लागि कार्यक्रम तथा गतिविधि
१. केन्द्रीय तहका कार्यक्रमहरू


क) सार्वजनिक शिक्षा सुदृढीकरण तथा शिक्षा अधिकारका निमित्त नागरिक समाजको प्रदर्शन तथा रचनात्मक दबाब । (२०८१ वैशाख १० गते सोमवार)


ख) शिक्षाका विभिन्न मुद्धाहरूका वारेमा जानकारीमूलक पोस्टहरूका साथै सामाजिक सञ्जालको प्रयोग । २०८१ वैशाख १० देखि १४ गते)


ग) रूपान्तरणकारी शिक्षाका लागि विद्यार्थीद्धारा प्रधानमन्त्रीलाई पत्र लेखन अभियान कम्तीमा ५,००० हस्ताक्षर सङ्कलन । (२०८१ वैशाख ६ देखि १४ गते)


घ) विभिन्न शैक्षिक सरोकारवालाहरूको उपस्थितिमा सार्वजनिक शिक्षाको रूपान्तरण किन ? अन्तरक्रियात्मक कार्यक्रम । ( २०८१ वैशाख १२ गते बुधवार) ।


ङ) विभिन्न ५० जिल्लाहरूबाट सङ्कलित पत्र हस्तान्तरण । (२०८१ वैशाख १४ गते शुक्रवार)