नेपाल राष्ट्रिय शिक्षक सङ्गठन द्वारा महासङ्घको महाधिवेशन बहिस्कार

काठमाडौँ /९ बैशाख – नेपाल शिक्षक महासङ्घको बैशाख १०,११ र १२ गते हुन लागेको महाधिवेशनमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको सहभागिता नरहने घोषणा गरेको छ । नेपाल शिक्षक महासङ्घको विधान विपरीत एक पक्षीय ढङ्गले जिल्ला समितिहरू घोषणा गरेको भन्दै सहभागी नहुने घोषणा गरेको हो ।


आज विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको बैशाख ७ र ८ गतेको राष्ट्रिय समितिको बैठकको निर्णय अनुसार उक्त घोषित महाधिवेशन स्थगनको अनुरोधलाई नेपाल शिक्षक महासङ्घले बेवास्ता गरेकाले बैशाख १०,११ र १२ गते काठमाडौँ गर्ने भनिएको दोस्रो राष्ट्रिय महाधिवेशन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको सहभागिता नरहने घोषणा गरेको छ । साथै सङ्गठनका कुनै पनि सदस्य महासङ्घमा प्रतिनिधित्व गर्ने पदाधिकारी, सदस्य र प्रतिनिधिहरू उपस्थित नहुन विज्ञप्ति मार्फत सार्वजनिक अपिल गरेको छ ।


नेपाल शिक्षक महासङ्घको २०८१ वैशाख १०–१२ गते घोषित दोस्रो महाधिवेशन सम्बन्धमा सो महासङ्घद्वारा माघ २९ गते जारी भएको पत्रको आधारमा विधान बमोजिम स्थानीय, जिल्ला अधिवेशन सहमति नजिक पुगेको अवस्थामा महासङ्घका महासचिवद्वारा २०८० चैत्र १६ गते सामाजिक सञ्जालमा सम्प्रेषित सूचना अनुसार पश्चात् २०७८ सालमा केन्द्रमा बुझाएको सदस्यता शुल्कको आधारमा तथ्याङ्क तथा पदसोपान विभाजन गरी सार्वजनिक भएको विवरणले जिल्लामा बन्दै गरेका सहमति र सहकार्यलाई बिथोलेको विज्ञप्तिमा उल्लेख छ ।


त्यसैगरी २०७८ पछिको सदस्यता नविकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षकहरू सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरेको, नेपाल शिक्षक महासङ्घको विधान विपरीत एक पक्षीय ढङ्गले जिल्ला समितिहरू घोषणा गरेको तथा २०८० को ताजा सदस्यता प्रमाणीकरण गरी विधान सम्मत स्थानीय, जिल्ला र प्रदेश अधिवेशनहरू सम्पन्न नभएकाले नेपाल शिक्षक महासङ्घको विधान बमोजिम पालिका, जिल्ला र प्रदेश अधिवेशन गरी महाधिवेशन गर्नका लागि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको बैशाख ७ र ८ गतेको राष्ट्रिय समितिको बैठकको निर्णय अनुसार उक्त घोषित महाधिवेशन स्थगनको अनुरोधलाई नेपाल शिक्षक महासङ्घले बेवास्ता गरेकाले महाधिवेशन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको सहभागिता नरहने जनाएको छ ।