काठमाडौँ /३ बैशाख – विश्वविद्यालय र विद्यालयको सहकार्यमा निजी क्षेत्रबाट विद्यालय सुधारका लागि सकारात्मक कदम भएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन प्रा.डा. बालचन्द्र लुँइटेलले बताएका छन् । विद्यालयमा बालबालिकालाई समय सापेक्ष शिक्षण सिकाइ गराउने उदेश्यले काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र न्यू एरा मन्टेश्वरी विद्यालयसँगको सहकार्य हुने जानकारी दिँदै सो कुरा बताएका हुन् ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका दहचोक खहरे स्थित न्यू एरा मन्टेश्वरी विद्यालयले बालबालिकालाई गुणस्तरीय, आधुनिक तथा समय सापेक्ष शिक्षण सिकाइ गराउने उदेश्यले विद्यालयसँग सहकार्य गर्ने भएको छ । शिक्षा क्षेत्रमा फरक विद्यालयका रूपमा न्यू एरा विद्यालयलाई स्थापित गर्ने विद्यालयको उदेश्यमा विश्वविद्यालयसँगको सहकार्य ममत्वपूर्ण कदम भएको विद्यालयका प्रबन्ध निर्देशक विष्णु कार्कीले बताए ।
परम्परागत शिक्षण विधिले विद्यार्थीहरूको सिकाइ उपलब्धि समय सापेक्ष बनाउन नसक्ने तथा विद्यार्थीहरूको पढाइमा अभिरुचि वृद्धि गर्न समस्या परिरहेको यस परिस्थितिमा शिक्षकहरूको पेसागत सीप अभिवृद्धि तथा शिक्षण क्रियाकलापमा स्टिम विधिलाई अवलम्बन गर्न लागिएको प्रधानाध्यापक संगिता सापकोटाले बताइन ।
विश्वविद्यालयका तर्फबाट स्कुल अफ एडुकेशनका डिन प्रा. डा. बालचन्द्र लुँइटेल र विद्यालयका तर्फबाट प्रधानाध्यापक संगिता सापकोटाले सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।



