काठमाडौँ /३० चैत – सामुदायिक विद्यालय सुधारका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले विभिन्न योजना घोषणा गरिरहेका छन् । सामुदायिक विद्यालय प्रति अभिभावकको विश्वास बढाउन सरकारले दिवा खाजा देखि प्राविधिक विषय सञ्चालन गर्दै आइरहेको छ । योसँगै विभिन्न संघ संगठनहरूले विद्यालय सुधारका लागि अभियान समेत सञ्चालनमा ल्याइरहेका छन् ।
विद्यालयमा विद्यार्थीहरूको सङ्ख्या घट्दै गएपछि सामुदायिक विद्यालयले गुमाएको विश्वास उठाउन सङ्घीय सरकार र स्थानीय तह हर हमेसा लागेका छन् । तर केही विद्यालयमा विद्यार्थीको चाप थेगि नसक्नु भएपछि भर्ना हुने कक्षा अनुसार कोटा नै तोकेर प्रवेश परीक्षाका लागि आवेदन नै खुला गर्नुपर्ने अवस्था रहेको छ ।
काठमाडौँको पुरानो कालीमाटी स्थित श्री ज्ञानोदय माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्रका लागि कोटा नै तोकेर आवेदन माग गरेको छ । कक्षा १ देखि ९ सम्म नयाँ भर्नाका लागि आवेदन मागिएको विद्यालयले जनाएको छ । ३ सय ९० विद्यार्थी भर्नाका लागि आवेदन माग गर्दा १८ सय ५० ले आवेदन दिएका छन् । अघिल्लो वर्ष नयाँ भर्नाका लागि १३ सयले आवेदन दिएकोमा यो वर्ष ५ सय ५० बढीले आवेदन दिएका हुन् ।
कक्षा १ मा २५ जनाको कोटा, कक्षा २ मा १५ जनाको कोटा, कक्षा ३ मा २० जनाको कोटा, कक्षा ४ मा २० जनाको कोटा, कक्षा ५ मा ५० जनाको कोटा, कक्षा ६ मा २० जनाको कोटा, कक्षा ७ मा ८० जनाको कोटा, कक्षा ८ मा १ सय २० जनाको कोटा र कक्षा ९ मा ४० देखि ५० जनाको कोटामा नयाँ विद्यार्थी भर्ना गर्न सकिने विद्यालयको भनाई छ ।
विद्यार्थीको चाप बढेपछि कक्षा ७ र ८ मा नयाँ कक्षा सञ्चालनका लागि धेरै सङ्ख्या माग गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु रिमालले बताईन । उनले आवेदन दिने सबै विद्यार्थी भर्ना गर्ने अवस्था नरहेपनि विद्यालयको क्षमता अनुसारको कोटामा भर्ना लिन लागेको बताइन । यसरी आवेदन दिनेमा निजी विद्यालयका विद्यार्थीको सङ्ख्या धेरै रहेको उनको भनाई छ ।
रिमालले भनिन् “अहिले हामीसँग कुल विद्यार्थीको सङ्ख्या ४ हजार ६ सय छ । नयाँ विद्यार्थी भर्नाका लागि आवेदन दिने विद्यार्थीको सङ्ख्या धेरै भएकै कारण हामीले भर्ना प्रक्रियाका लागि आवेदन माग गरेका हौ, कक्षा कोठा पुगेसम्म भर्ना लिन्छौँ । तर, आवेदन दिने सबै विद्यार्थीलाई भर्ना गर्न सक्दैनौँ ।”
भर्ना गर्न नपाएका विद्यार्थी रुदै जाने गरेको बताउँदै त्यसले आफूलाई पिडा हुने गरेको रिमालले बताइन । उनले विद्यार्थी विद्यालयमा ठुलो आशा बोकेर आएपनि भर्ना हुन नपाएपछि विद्यार्थी रुदै जाने गरेको र चाहेर पनि पढ्न नपाएको देख्दा आफूपनि सँगै रुने गरेको सुनाइन ।
यसरी सामुदायिक विद्यालयमा कक्षा कोठाको कमी, ल्याबको अभाव, दरबन्दीको अभाव हुँदा चाहेर पनि विद्यार्थी भर्ना गर्न सक्दैनन् । विद्यार्थी भर्ना हुन चाहेका विद्यालयलाई सरकारले शिक्षकको व्यवस्था, कक्षा कोठाको व्यवस्था, शैक्षिक सामग्रीको व्यवस्था लगायतका विषयमा ध्यान दिने हो भने विद्यार्थी फर्काउनु पर्ने अवस्थाको अन्त्य हुने र सामुदायिक विद्यालय प्रतिको विश्वास बढ्दै जाने देखिन्छ ।