प्रतिवेदन तत्काल कार्यान्वयन हुने

काठमाडौँ /२९ चैत – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसँगै तत्काल कार्यान्वयन सुरु हुने जनाएको छ । आयोगले बुझाएको प्रतिवेदनमा गरिएको सिफारिस अनुसार कार्यान्वयन प्रक्रिया तत्काल सुरु गर्ने जनाएको हो ।


राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसङ्गतिको जाँचबुझ गरी सुझाव सहितको प्रतिवेदन गर्न आयोग गठन गरेको थियो । आयोगले २०७४ जेठ १६ गतेबाट कार्य प्रारम्भ गरी २०७४ माघ १८ गते प्रतिवेदन बुझाए पनि कार्यान्वयनमा लैजान ढिलाइ भएको थियो ।


मन्त्रालयले बुधवार प्रतिवेदन सार्वजनिक गरी सिफारिस अनुसार कारवाही प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको छ । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति एवं त्रिवि कार्यकारी परिषद्का अध्यक्ष प्राडा तीर्थ खनिया एवं परिषद् सदस्यहरू रेक्टर डा. सुधा त्रिपाठी र रजिस्ट्रार डिल्ली उप्रेतीसहित सात जनालाई कारबाहीको सिफारिस गरिएको छ ।


त्यसै गरी विज्ञान सङ्कायका डिन रामप्रसाद खतिवडा, कानुन सङ्कायका डिन डा. ताराप्रसाद सापकोटा र परिषद् सदस्यद्वय राजेन्द्र पौडेल र हरि पराजुलीलाई पनि आयोगले कारबाहीको सिफारिस गरेको छ । उनीहरुले आफ्नै विश्वविद्यालय र सरकारको बदनाम हुने गरी सम्बन्धन दिएको र विद्यमान ऐन, नियम अन्तर्गतका आफ्नै निकायका निर्णय, अनुरोधलाई उपेक्षा गरी पदको दुरुपयोग गरेको प्रतिवेदनमा भनिएको छ ।


आयोगले पद अनुसार कर्तव्य पालन नगरी कानुनविपरीत सम्बन्धन दिने निर्णय गरेको, पूर्वउपकुलपति, रेक्टर र रजिस्ट्रारसहित अति जिम्मेवार पदाधिकारीले पद अनुकूलको काम, कर्तव्य पालन र आचरण नगरेकाले पदमा राखिरहन उचित नभएकाले पदबाट अवकाश दिनुपर्ने उल्लेख छ तर यो तत्कालीन प्रावधान हो ।


त्यसै गरी त्रिविका तत्कालीन उपकुलपति प्रा.डा. हीराबहादुर महर्जन सेवा निवृत्त भए पनि भविष्यमा विश्वविद्यालयलगायत सरकारी र अर्धसरकारी निकायमा उहाँलाई नियुक्त नगर्न सचेत गराउँदै कारबाहीको सिफारिस गरिएको छ । उनले पदमा रहँदा विश्वविद्यालय र सरकारको बदनाम हुने गरी गलत रूपमा कानुनविपरीत सम्बन्धन दिलाउन भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नो संवैधानिक पदको दुरुपयोग गरी काठमाडौँ विश्वविद्यालयमा सञ्चालित परीक्षामा हस्तक्षेप गरेको आयोगको ठहर छ । राष्ट्रिय मेडिकल बोर्ड गठन गर्नू प्रतिवेदनमा मेडिकल पढ्न इच्छुक विद्यार्थीका लागि राष्ट्रिय मेडिकल बोर्ड गठन गरी एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने व्यवस्था अनिवार्य गर्न सुझाव दिएको छ तर विदेशी विद्यार्थीको भर्ना गर्न विश्वविद्यालयले ’उपयुक्त छनोट प्रक्रिया अवलम्बन गर्न सुझाव छ ।


साथै राष्ट्रिय मेडिकल बोर्डले सञ्चालन गर्ने परीक्षाको योग्यता क्रममा रहेकामध्ये फ्याकल्टी विकास तथा छात्रवृत्तिका लागि निश्चित प्रतिशतमा सिट सुरक्षित गर्दै बाँकी रहने सिटमा योग्यता क्रमका आधारमा मात्र विद्यार्थी भर्ना गर्नुपर्ने आयोगको निष्कर्ष छ । साथै आयोगले वस्तुनिष्ठ, पारदर्शी एवं विश्वसनीय अनुगमनका लागि एकीकृत अनुगमन प्रणालीको विकास गर्न सुझाव छ ।