काठमाडौँ /२५ चैत – त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र संकायका पूर्व डिन तथा बोर्ड सदस्य प्रा.डा. प्रकाश मान श्रेष्ठले गुणस्तरीय शिक्षाका लागि परीक्षा अनिवार्य रहेको बताएका छन् । विद्यालय शिक्षाको गुणस्तर उकास्ने तत्वहरू मध्ये पहिलो पक्ष परीक्षा भएकोले अनिवार्य रहेको बताएका हुन् ।
सामान्यतया शिक्षण भनेपछि शिक्षक कक्षा कोठामा पस्ने र पाठ्यपुस्तक लिएर पढाउने गरेको तर, कक्षामा रहेका विद्यार्थीको क्षमता फरक फरक भएपनि ध्यान नदिने सबैलाई समान तरीकाले पाठ्यवस्तु दिने गरिएकोले परीक्षा आवश्यक रहेको बताए । उनले सबै विद्यार्थीलाई बुझ्ने गरी सिकाउने हो भने उसको क्षमता थाहा पाउनु पर्ने र त्यसका लागि परीक्षा लिनुपर्नेमा जोड् दिए ।
श्रेष्ठले परीक्षा लिएपछि प्राप्त अंकको आधारमा उनिहरूलाई पढ्नका लागि चाहिने पूर्व ज्ञान छ वा छैन थाहा हुने बताए । उनले भने “यसको अर्थ सबै लिखित परीक्षा चाहिन्छ भन्ने होइन । हप्ताको एक पटक, दुई पटक, मासिक, त्रैमासिक अथवा दिनहुँ पढाउने हुँदा प्रश्न उत्तर होला, अवलोकन होला, समूहमा छलफल गराएर होला त्यसका लागि आफूले पढाउने कुरामा के कति ज्ञान छ त्यो पहिला थाहा पाउन आवश्यक छ । त्यसैले कक्षा कोठामा पसेर शिक्षण गर्नु भन्दा अगाडी विद्यार्थीहरूले त्यो विषय प्रति बुझ्न सक्ने क्षमता के कति छ भन्ने कुरा पहिले थाहा पाउनु पर्छ । त्यो थाहा पाउने भनेको परीक्षा हो, त्यो मौखिक, लिखित, छलफल, अवलोकन जे पनि हुन सक्छ ।”
विभिन्न तह भएका विद्यार्थीको क्षमता थाहा पाएपछि कुन समूहको विद्यार्थीलाई कसरी पढाउने भन्ने कुराको योजना बनाउनुपर्ने र त्यसरी पढाएको खण्डमा शिक्षण राम्रो हुने भएकोले विद्यार्थीको स्तर थाहा पाउनका लागि परीक्षा अनिवार्य रहेको उनको भनाई छ ।
साथै परीक्षा भनेको विद्यालय शिक्षाको गुणस्तर उकास्ने विभिन्न तत्वहरू मध्ये पहिलो पक्ष रहेको बताउँदै शैक्षिक प्रणालीमा कुन ठाउँमा सुधार गर्नु पर्छ पाठ्यक्रममाकी शिक्षण सिकाईमा, शैक्षिक सामग्री निर्माण वा परीक्षा आफैमा सुधार गर्ने हो, त्यो कुरा थाहा पाउनका लागि परीक्षा लिनुपर्ने बताए ।
परीक्षाले कमजोरी पहिचान गर्नका लागि सहयोग गर्ने र त्यसका आधारमा शिक्षण सिकाइलाई सुधार गर्न सकिने उनको भनाई छ । परीक्षाले विद्यालयमा पठनपाठन भईराखेको तरीका मिलेको छ छैन भन्ने कुरा थाहा दिने, अनुगमनमा कमजोरी भएको कुरा, पाठ्यवस्तु ठिक भए नभएको र परीक्षा आफैमा वैद्य छ छैन थाहा दिने भएकोले परीक्षा गुणस्तरीय शिक्षाको ड्राइभर रहेको र कुन ठाउँमा सुधार गर्नुपर्छ भन्ने सुधारको क्षेत्र परीक्षाले पहिचान गर्ने उनको तर्क छ ।