बालबालिकालाई प्रविधिजन्य यन्त्रको दुरुपयोगबाट सुरक्षित राख्न प्रशिक्षण

रूपन्देही/२४ चैत – रूपन्देहीको तिलोत्तमा–१३ मधवलियामा रहेको लुम्बिनी वर्ल्ड स्कुलमा प्राविधिक युगमा कसरी अभिभावकको जिम्मेवारी बहन गर्ने बारे बृहत् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी वर्ल्ड स्कुल र नेपाल स्टिम अलायन्सको कोडिङ कक्षा डिभिजनको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।


रूपन्देहीका विभिन्न क्षेत्रबाट सहभागी भएका अभिभावकहरूलाई मोटिभेसनल स्पिकर सौरभ लोहनीले बालबालिकाहरूलाई मोबाइल टिभी लगायतका सामग्रीहरू सही रूपमा कसरी प्रयोग गर्ने, यसको अनावश्यक प्रयोगबाट कसरी वञ्चित गर्ने तथा घरमा के कस्तो वातावरण सिर्जना गरेमा बालबालिकाहरू प्रविधिजन्य यन्त्रहरूको दुरुपयोग गर्नबाट सुरक्षित रहन्छन् भन्ने बारे प्रशिक्षण दिएका थिए ।


कार्यक्रमको मुख्य आकर्षणहरू मध्ये एक अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र थियो, जहाँ अभिभावकहरूले डिजिटल युगमा सामना गर्ने विभिन्न अभिभावकीय चुनौतीहरूको बारेमा लोहनीबाट व्यक्तिगत सल्लाह लिने अवसर पाए ।


विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकालले लुम्बिनी वर्ल्ड स्कुलले प्रदान गर्ने शैक्षिक वातावरण र यसका शैक्षणिक प्रक्रियाहरूबारे जानकारी दिदैँ अभिभावकहरूसँग बालबालिकाको र विद्यालयको सम्बन्ध तथा विद्यालय र विद्यार्थीहरूको सामाजिक उत्तरदायित्व जस्ता कुराहरूलाई आत्मसाथ गर्दै चरणबद्ध रूपमा अभ्यास गर्दै आईरहेको बताए ।


साथै कार्यक्रममा कोडिङ कक्षाका कार्यकारी प्रमुख सुशील बुढाथोकीले कोडिङ कक्षाको महत्व र के कसरी विभिन्न उमेर समूहका बालबालिकाहरू कोडिङ कक्षामा भाग लिन सक्छन् भन्ने बारे जानकारी दिएका थिए । अनलाइनमा दर्ता गरेका अभिभावकका बालबालिकाहरूलाई निःशुल्क कोडिङ कक्षाको व्यवस्था गरिएको थियो ।कार्यक्रमको सञ्चालन विद्यालयका शैक्षिक निर्देशक डा. मीनप्रसाद खनालले गरेका थिए ।