विज्ञले भने : परीक्षाले विद्यार्थीको सिकाईलाई सुधार गर्छ

काठमाडौँ /२४ चैत – खबर एजुकेशन, राष्ट्रिय परीक्षा बोर्ड र नेपाल शिक्षक महासङ्घको सहकार्यमा काठमाडौँको बाफल स्थित श्री ज्ञानोदय माध्यमिक विद्यालय र ओटिसको सहयोगमा प्रश्नपत्र निर्माण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर अन्तर्गत सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागीतमा कार्यक्रमको आयोजना गरिएको हो ।


कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पाठ्यक्रम अनुसार प्रश्नपत्र निर्माण कसरी गर्न सकिन्छ र प्रश्नमा एक रूपताका लागि कसरी निर्माण गर्ने भन्ने बारेमा आफ्नो धारणा राखेका थिए । प्रश्नमा एक रूपता ल्याउनका लागि विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू नै लाग्नु पर्ने आग्रह गर्दै शिक्षक सिकाईसँग यसलाई जोड्न आवश्यक रहेका बताए । उनले बालबालिकालाई प्रश्न सोध्दा जान्दैनन नसोधौँ भन्ने गुनासो आउने गरेको बताउँदै विद्यार्थीहरूमा सिकाई नपुगेको र शिक्षकहरूले सिकाउन आवश्यक रहेको धारणा राखे ।


त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्रका पूर्व डिन तथा बोर्ड सदस्य प्रा.डा. प्रकाश मान श्रेष्ठले गुणस्तरीय शिक्षाका लागि परीक्षा ड्राइभर रहेकोले परीक्षा अनिवार्य भएको बताए । विद्यार्थीहरूको सिकाईलाई ध्यानमा राख्दै शिक्षकले सहयोग गर्नुपर्ने उनको भनाई थियो । शिक्षाविद् प्रा.डा. गणेश बहादुर सिंहले सिकाईको तह फरक फरक हुने बताउँदै प्रश्न कस्तो सोध्छौँ त्यसले सिकाईलाई असर पार्ने बताए । उनले विद्यार्थी कुन कुरामा कमजोर छ त्यसलाई ध्यान दिएर कसरी प्रश्न सोध्दा बुझ्छन् शिक्षकले ख्याल गर्नुपर्नेमा जोड् दिए । विद्यार्थीको सिकाई सुधार गर्नका लागि परीक्षाले सहयोग गर्ने उनको भनाई थियो ।

राष्ट्रिय परीक्षा बोर्डका विषय विज्ञ रमेश प्रसाद अवस्थीले पाठ्यक्रमलाई कक्षा कोठामा राम्रोसँग प्रयोग गर्नुपर्नेमा जोड्दिदैँ यसका लागि शिक्षक र विद्यार्थीबिच पाठ्यक्रम बारे बहस गर्न सक्ने भए मात्रै सिकाई प्रभावकारी हुने बताए । त्यसका लागि शिक्षक सक्षम हुनुपर्ने र विद्यार्थी सिक्न सक्ने भए मात्रै प्रश्न जहाबाट सोधिएपनि विद्यार्थीलाई सहज हुने बताए ।


त्यसैगरी कतिपय सामुदायिक विद्यालय अब्बल हुँदा हुँदैपनि नीति निर्माता तथा विज्ञहरूले राम्रा हुन नसकेको आरोप लगाउने गरेको नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरको भनाई थियो । शिक्षकहरूले शैक्षिक सामग्रीको अभावमा पढाउन बाध्य भएको भनाइ राख्दै यसलाई राज्यले सम्बोधन गर्नुपर्ने बताइन । साथै शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि महासङ्घले देशैभरी अभियान सञ्चालन गर्न लागेको जानकारी दिइन ।