धेरै सङ्ख्यामा एसईईको परीक्षा अनुगमनमा नजान निर्देशन

काठमाडौँ /१५ चैत – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले समूहगत रूपमा र धेरै सङ्ख्यामा पटक पटक परीक्षा अनुगमनमा नजान निर्देशन दिएको छ । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुगमनका नाममा आधिकारिक व्यक्तिहरू बाहेक धेरै व्यक्तिहरू परीक्षा केन्द्रमा गई ठुला परीक्षार्थीहरूको लेखन कार्यमा असुविधा भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासो आएपछि यस्तो निर्देशन दिएको हो ।


प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य अनुगमनकर्ता र पर्यवेक्षकहरू समूहगत रूपमा र धेरै सङ्ख्यामा पटक पटक परीक्षा अनुगमनमा जाने कार्य नगर्न बोर्डले निर्देशन दिएको छ ।


साथै परीक्षालाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न गराउने व्यवस्थामा सहयोग पुर्‍याउन समेत बोर्डले अनुरोध गरेको छ । त्यसैगरी सम्पूर्ण परीक्षार्थीहरूलाई उच्च मनोबल र निर्भयका साथ परीक्षामा सहभागी हुने वातावरण बनाइ दिनुहुनका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिहरूबाट सबै केन्द्रहरूमा आवश्यक समन्वय गर्न भनिएको छ ।