जीवन रूपान्तरणका लागि संस्कार शिक्षा आवश्यक

काठमाडौं/४ चैत – जीवन रूपान्तरणका लागि संस्कार शिक्षा आवश्यक रहेको डा. स्वामी केशवानन्दले बताएका छन् । संस्कारले व्यक्तिलाई परिष्कार गर्ने, खार्ने, माझ्ने वा शुद्ध बनाउने भएकोले संस्कार शिक्षा दिन आवश्यक भएको बताएका हुन् ।


अक्षरा स्कुलले आयोजना गरेको कार्यक्रममा बोल्दै संस्कार पुस्तान्तरण, रूपान्तरण र हस्तान्तरण गर्नुपर्ने बताएका छन् । उनले पछिल्लो समय पश्चिमा शिक्षा तर्फ आकर्षण बढेको बताउँदै आफ्नै संस्कारलाई चिनेर शिक्षण पद्धतिमा लागु गर्नुपर्नेमा जोड् दिए ।


बच्चामा दिएको संस्कार कहिलेै अन्यथा नहुने भएकोले बच्चामै संस्कार दिनुपर्ने र त्यसका लागि विद्यालय तहबाटै सुरु गर्न आग्रह गरे । साथै व्यक्तिमा भएको दोषको निराकरण, गुणको समावेश र न्यूनताको पूर्तिका लागि संस्कार शिक्षाको आवश्यक रहेको उनको भनाई थियो ।

अक्षरा स्कुलकी संस्थापक निर्देशक अञ्जु भट्टराईले छोराछोरी, समाज र छिमेकीमा संस्कार हराउँदै गएकोले स्कुलले संस्कार, संस्कृति र सभ्यताका बारेमा पठनपाठन गरिएको बताईन । उनले बालबालिकामा त्यसको प्रभाव तत्काल नदेखिएपनि विस्स्तरै व्यवहारमा देखिने बताइन ।


भट्टराईले विद्यार्थीमा रूपान्तरण ल्याउन संस्कार शिक्षा नै आवश्यक रहेको बताउँदै नेपालमा अन्य देशको भाषा सिकाउने गरिएपनि नेपालकै संस्कार, संस्कृति र सभ्यताका बारेमा सिकाउनुपर्नेमा जोड् दिइन ।


विद्यालयका शैक्षिक निर्देशक विष्णु प्रसाद पनेरुले संस्कार युक्त शिक्षा नारालाई केन्द्रमा राखेर यु केजीदेखि कक्षा ७ सम्म संस्कृत शिक्षा दिइरहेको जानकारी दिँदै सबै विद्यालयले संस्कारलाई केन्द्रमा राखेर शिक्षा दिनुपर्ने भनाई राखे ।