अग्रिम भाडा नदिएको भन्दै छात्रालाई दुर्व्यवहार गर्ने होस्टल सञ्चालक पक्राउ

विराटनगर/३० फागुन-छात्रालाई हातपात तथा दुर्व्यवहार गर्ने एक होस्टल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर ८ स्थित मुनलाइट होस्टलकी सञ्चालक मधु कटुवाल रेग्मीलाई पक्राउ गरेको हो ।


होस्टेलको पैसा नतिरेको भन्दै छात्रा माथि कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि पीडित छात्राले प्रहरीमा दिएको जाहेरीका आधारमा उनलाई आज दिउँसो घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


रेग्मीले मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात र दुर्व्यवहार गरेकी थिइन् । रेग्मीले छात्रामाथि गरेको दुर्व्यवहारका भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । मोरङ प्रहरीकाका अनुसार पक्राउ परेकी रेग्मीलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेको छ ।


रेग्मीले होस्टेलमा बसिरहेका विद्यार्थीबाट अग्रिम भाडा रकम दिन नमानेको भन्दै विद्यार्थीका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपात समेत गरेकी थिइन् । दुर्व्यवहारमा पर्ने छात्राहरूमा विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कञ्चनपुर घर भएका विद्यार्थीहरू हुन् ।

कारबाही प्रक्रिया अघि बढाउन जिप्रका मोरङको प्रहरीलाई निर्देशन


छात्रामाथि कुटपिट गर्ने मुनलाइट गर्ल्स होस्टेलकी सञ्चालक मधु कटुवाल रेग्मीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय मोरङले प्रहरीलाई निर्देशन दिएको छ । जिप्रका मोरङले एक पत्र लेखेर जिल्ला प्रहरी कार्यालय विराटनगरलाई मधुविरुद्ध कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको हो ।