काठमाडौँ /३० फागुन – अघिल्लो वर्ष देखि नेपालमा पहिलो पटक म्याथ पार्कको सुरुवात गरेको ईम्पेरियल वर्ल्ड स्कुलले यो वर्ष गणितका शैक्षिक सामग्री प्रदर्शनी तथा गणित सम्मेलन गर्ने भएको छ । बुढानीलकण्ठमा रहेको ईम्पेरियल वर्ल्ड स्कुलले पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर वृहत् प्रदर्शनी तथा गणित सम्मेलन गर्ने भएको हो ।
दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा र विशेष अतिथि इजरायल एम्बेस्डर रहने छन् ।
विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न र गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उदेश्यले म्याथ पार्कको निर्माण गरिएको संस्थापक निर्देशक कुमार कार्कीले जानकारी दिए । उनले हरेक वर्ष पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा प्रदर्शनी तथा गणित सम्मेलन गर्ने योजना अनुसार यो वर्ष पनि चैत १ र २ गते कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रम चैत १ गते म्याथ पार्कमा गणित सम्बन्धी विज्ञ तथा विद्यार्थीहरूले गणित सिकाई अन्तर्गत निर्माण गरेका शैक्षिक सामग्रीहरूको प्रदर्शनी हुनेछ । प्रदर्शनीमा इच्छुक विद्यालय, विद्यार्थी, अभिभावकहरूले निःशुल्क रूपमा अवलोकन गर्न सक्ने छन् । त्यसैगरी चैत २ गते बिहान ९ बजेदेखि ५ः३० सम्म गणित सम्मेलन हुनेछ ।
गणित सम्मेलनले विद्यालय शिक्षामा गणितमा रूपान्तरण कसरी गर्ने, गणित विषयलाई प्रभावकारी रूपमा कसरी शिक्षण सिकाई गर्ने, दैनिक रूपमा गणितको महत्व कति छ भन्ने बुझन सहज हुने तथा विद्यार्थीलाई बुझाउन र सिकाउन कस्तो भूमिका खेल्न सकिन्छ भन्ने उदेश्यले सम्मेलनको आयोजना गरिएको प्रिन्सिपल जुनीता शाहीले बताइन ।
तीन सत्रमा विभाजन गरिएको सम्मेलनमा बिहान ९ बजेदेखि १२ बजेसम्म पहिलो सत्र हुने छ । जसमा तीन फरक विषयमा विज्ञहरूको प्रस्तुति रहने छ । विद्यालयका गणित शिक्षक जीत बहादुर तामाङ, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका स्टिम विभाग प्रमुख प्राध्यापक विनोद पन्तले स्टिम शिक्षाका बारेमा र पाठ्यक्रम विकास केन्द्रका गणित विषय विज्ञ डा. श्याम प्रसाद आचर्यले २१ औँ शताब्दीको पेडागोजी बारे प्रस्तुति दिने छन् ।
त्यस्तै दिउसो १ बजेदेखि २ः३० बजेसम्म दोस्रो सत्र अन्तर्गत वर्कसप राखिएको छ । यो सत्रमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा.वेदप्रसाद ढकालको गणित कक्षामा प्रविधिको प्रयोग कसरी गर्ने, पाठ्यक्रम विकास केन्द्रका गणित विषय विज्ञ रामचन्द्र ढकालले डेभलपिङ एसेस्मेन्ट आइटम्स् फर स्कुल म्याथमेटिक्स् बारे र गणितका रिसर्चर एचएन उपाध्यायले हेण्स् अन एक्टिभिटिज फर टिचिङ म्यथम्यटिक्सका बारेमा वर्कसप हुनेछ ।
तेस्रो सत्रमा ३ः४५ देखि ४ः१० सम्म पछिल्लो समयमा गणित शिक्षाको अभ्यासबारे प्यनल छलफल हुनेछ । छलफलका लागि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. हिरा बहादुर महर्जन, पाठ्यक्रम विकास केन्द्रका पूर्व निर्देशक डा. लेखनाथ पौडेल, काठमाडौँ विश्वविद्यालय स्कुल अफ साइन्सका पूर्व डीन प्रा.डा. कनैया झा र प्रा.डा. धन थापा बुढाथोकीको सहभागीता रहने छ । साथै सहजकर्तामा प्राध्यापक विनोद पन्त रहेका छन् भने प्रमुख वक्ताका रूपमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन प्रा. डा. बाल चन्द्र लुइटेल रहेका छन् ।
म्याथ पार्कमा विद्यार्थीहरूले म्याथलाई प्रयोग गरेर रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन् । गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न म्याथ पार्कको भूमिका रहने छ । साथै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरूले आफै म्याथ पार्कमा गणितका नयाँ कुराहरू सिक्न सक्छन् जसले कक्षा कोठाको शिक्षणमा पनि सहयोग पुग्ने छ ।