सुर्खेत/१४ फागुन – त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. केदार भक्त माथेमाले विश्वविद्यालय र शिक्षा प्रणाली राजनीति मुक्त हुनुपर्ने बताएका छन् । विश्वविद्यालय सञ्चालन गर्नका लागि नेतृत्वमा भिजन र भिजनलाई कार्यान्वयन गर्न सक्ने क्षमता हुनुपर्ने कुरा व्यक्त गर्दै राजनीति मुक्त हुनुपर्ने बताएका हुन् ।
मध्यपश्चिम विश्वविद्यालयले आयोजना गरेको “उच्च शिक्षा चुनौती, अवसर र उपलब्धि“ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै विश्वविद्यालय आयल निगम र साल्ट ट्रडिङ्ग जस्तो नभएकाले भिजन र भिजनलाई कार्यान्वयन गर्न सक्ने क्षमता भएको प्राज्ञिक व्यक्तिलाई विश्वविद्यालयको नेतृत्वमा ल्याउनु पर्ने उनको भनाई थियो ।
उनले भने “विश्वविद्यालय आयल निगम र साल्ट ट्रडिङ्ग जस्तो होइन राजनीतिक निकटताका आधारमा नेतृत्व चयन गर्न । राज्यले देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि मात्रै विश्वविद्यालयलाई आग्रह गर्नुपर्छ । विश्वविद्यालयलाई राजनीतिक नियन्त्रण गर्ने होइन ।”
उनले मध्यपश्चिम विश्वविद्यालयले गरेको प्रगति र सकारात्मक प्रयासले आफू प्रभावित भएको कुरा उल्लेख गर्दै उपकुलपति छनोटमा मेरिटका आधारमा नभई राजनीति अभ्यासका आधारमा हुने गरेको बताउँदै डरलाग्दो अवस्था भएको बताए ।
त्यसैगरी वरिष्ठ समाजशास्त्री प्रा। चैतन्य मिश्रले विश्वविद्यालय सुधारको लागि बोर्ड अफ ट्रस्टको व्यवस्था हुनुपर्ने र विश्वविद्यालय पदाधिकारीमा स्वामित्व र समर्पणको भावना हुनु पर्नेमा जोड दिए । मिश्रले मध्यपश्चिम विश्वविद्यालयको वर्तमान नेतृत्वले गरेको प्रयास र सुधारका कार्य सर्हानिय रहेको बताउँदै दलीय करणले विश्वविद्यालयलाई सिध्याउन लागेको बताए ।
उनले भने “दल देशका लागि आवश्यक छ तर यत्त्रतत्त्र दलीयकरण भयो । विद्यालयदेखि विश्वविद्यालयसम्म दलीय करण भयो । यसै कारण पढाउने, लेख्ने, रिसर्च गर्नै काममा व्यावसायिक श्रेष्ठता नभई जागिर खाने र राजनीतिक गर्ने मात्रै भयो ।”
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले विश्वविद्यालयमा उपकुलपति भएर आएपछि राजनीतिक हस्तक्षेपका कारण काम गर्न खोज्दा पटक पटक समस्यामा पर्न खोजेको बताए । आफूले कुनै राजनीतिक दलले भनेका नमान्दा विश्वविद्यालयमा ताला लगाउने, आन्दोलन गर्ने, भौतिक संरचना माथि तोडफोड गर्ने गरेको बताउँदै विश्वविद्यालयको गरिमा माथि आँच आउने काम गर्ने कसैसँग पनि सम्झौता नगर्ने र नझुक्ने चेतावनी दिए । सिंहले आफू आएपछि रातदिन नभनि काम गरेको र कसैलाई पनि भ्रष्टाचार गर्न नदिएको, विश्वविद्यालयका लागि ठुलो रकम ल्याउन सफल हुँदा पनि १ सय २५ मुद्दा झेल्न परेको बताए । उनले आफू देश र जनताका लागि काम गर्न आएकोले विश्वविद्यालयलाई उत्कृष्ट विश्वविद्यालय बनाउन लागि परेको बताए ।
त्रि.वि.का पूर्व उपकुलपति प्रा.केदार भक्त माथेमा र वरिष्ठ समाजशास्त्री प्रा. चैतन्य मिश्रले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय, ग्रयाजुएट स्कुल अफ एजुकेशन, ग्रयाजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स, ग्रयाजुएट स्कुल अफ म्यानेजमेन्ट, ग्रयाजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी, मुसोम, कीक्स्ट र ग्रयाजुएट स्कुल अफ इञ्जिनियरिङ्ग, रामघाट स्थित रामघाट स्थित ग्य्राजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीको समेत अवलोकन तथा अनुगमन गरेका थिए ।
विश्वविद्यालयलाई यथावत रुपमा काम गर्न दिन सर्वोच्चको आदेश
मध्यपश्चिम विश्वविद्यालयलाई यथावत् रूपमा नियमित काम गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतामा अपूरणीय क्षति पुग्ने भन्दै आदेश जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विरुद्ध नारायण योगीले हालेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले विश्व विद्यालय स्वायत्त निकाय रहेकोले हस्तक्षेप नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
“मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा ४, ७(१), ८ (१) (२), ९, १०, ११, २२ (३) र २३ (३) समेतका प्रावधानहरूलाई हेर्दा विश्व विद्यालय स्वायत्त निकाय रहेको र यसको प्राज्ञिक स्वतन्त्रता रहेकोमा यस्तो निकायलाई दिने निर्देशनहरू सामान्यतया समन्वयकारी वा निरीक्षण गरी वस्तुगत आधारमा दिईने प्रकृतिको देखिँदा विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतामा पुग्न सक्ने अपूरणीय क्षतिलाई मध्यनजर गर्दा कुलपति तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को नामबाट विश्वविद्यालयका नाममा जारी भएका मिति २०८०/१/२८ मिति २०८०/४/३० र मिति २०८०/१०/३ तथा सह कुलपति तथा शिक्षा मन्त्रीबाट मिति २०८०/१०/४ लगायतका पत्रहरू तत्काल कार्यान्वयन नगर्नु नगराउनु, मध्यपश्चिम विश्वविद्यालयलाई यथावत् रूपमा नियमित काम गर्न दिनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ” आदेशमा भनिएको छ ।
५ महिना देखी लागेको ताला खोल्न अपिल
मध्यपश्चिम विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले केन्द्रीय कार्यालयमा विगत ५ महिना देखी लागेको ताला खोल्न आग्रह गरेको छ । विभिन्न मागहरू राख्दै क्रियाशील प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र एकीकृत प्रगतिशील प्राध्यापक संगठन र विश्वविद्यालय क्रियाशील नेपाल विद्यार्थी संघ, अनेरास्ववियू अखिल (क्रान्तिकारी) र अखिल क्रान्तिकारी द्वारा गरिएको तालाबन्दी खोल्न अपिल गरेको हो ।
तालाबन्दीका कारण विश्वविद्यालयका शैक्षिक प्रशासनिक एवं आर्थिक प्रशासनिक कामकाजहरू ठप्प भएको र प्राध्यापक संघ संगठनहरू र विद्यार्थी संघ संगठनहरूसँग उच्चस्तरीय समस्या समाधान समिति मार्फत पटक पटक वार्ता सम्वाद गर्दा समेत वार्ता सम्वाद निष्कर्ष विहीन हुन पुगेको पत्रमा उल्लेख छ ।
तालाबन्दी कायमै रहँदा विश्वविद्यालयका उपकुलपतिको फागुन १५ गते आयोजना गरिएको विदाई कार्यक्रम विश्वविद्यालयको केन्द्रीय कार्यालयबाट गर्न कठिन हुने अवस्थामा उपकुलपतिको विदाई गर्नका लागि समेत विश्वविद्यालयको केन्द्रीय प्रशासनिक कार्यालयमा लागेको ताला तत्काल खोली सहयोग गर्न रजिस्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलले अपिल गरेका छन् ।
साथै सर्वोच्च अदालत, संयुक्त इजाजतको मिति २०८० फाल्गुन ११ गतेको उत्प्रेषणको आदेशबाट समेत मध्यपश्चिम विश्वविद्यालयलाई यथावत् रूपमा नियमित काम गर्न दिनु भनि सर्वोच्च अदालतको अन्तरिम आदेश जारी गरेकाले विधिको शासनलाई सम्मान गर्दै विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनमा लागेको ताला तत्काल खोली सहयोग गर्न भनिएको छ ।