काठमाडौँ /८ फागुन – विद्यार्थी भनेको देशको कणधार हुन् । उनीहरू सफल भए मात्र देश सफल हुन सक्छ । मानिसले आफ्नो जीवनमा सफलता प्राप्त गर्नको लागि विद्यार्थी समयदेखि नै मेहेनत गर्नुपर्ने हुन्छ । विद्यार्थी सफल भनेको प्रत्येक कक्षामा राम्रो अंक ल्याएर होइन, हरेक कक्षाबाट के कुरा सिक्यो भन्ने कुराले निर्धारण गर्छ । हामीले विद्यार्थी सफल हुन कसरी सक्छन् भन्ने बारेमा केही जानकारी दिँदै छौँ ।
कक्षा कोठामा ध्यान दिने
विद्यार्थीले जहिले पनि कक्षा कोठामा बस्दा शिक्षकले पढाइरहेको कुरा ध्यान दिन जरुरी छ । ध्यान बिना जति पढे पनि बुझन गाह्रो हुन्छ । पढाइमा सक्रिय हुनलाई ध्यानको निकै आवश्यकता पर्छ । कक्षा कोठामा बस्दा साथीहरूको कारणले पढाइमा एकोहोरो ध्यान लगाउन निकै मुस्किल हुन्छ । विद्यार्थीले केही समय आँखा बन्द गरेर लामो श्वास फेर्ने । जसले गर्दा पढाइमा ध्यान केन्द्रित हुन मद्दत पुग्छ । शिक्षकले भनेको कुरा ध्यान दिएर सुन्ने र हेर्ने गर्नुपर्छ । ध्यान दिएमा मात्र पढाएको कुरालाई बुझ्न सकिन्छ ।
नोट बनाउने
विद्यार्थीले विद्यालयमा पढाएको कुरा नोट बनाउन जरुरी हुन्छ । नोट बनाएर बेलाबेलामा पढ्ने र समीक्षा गर्नुपर्छ । नियमित नोट बनाउनाले विद्यार्थीले आज कक्षामा के पढेको छु थाहा हुन्छ र परीक्षाको बेलामा नोट पढ्न सहज हुन्छ । नोट तयार पार्नु सफल विद्यार्थीको गुण हो । त्यसैले नोट बनाउने बानीले धेरै सहयोग पुग्छ ।
समयको पालन गर्ने
समय व्यवस्थापन विद्यार्थीको महत्वपूर्ण गुण हो । विद्यार्थीले हरेक काम समयमै गर्न सक्छ भने उ पछि गएर सफल हुन सक्छ । कक्षा कोठामा प्रवेश गर्ने, गृहकार्य समयमै गर्ने, कक्षा कार्य समयमा गर्ने, परियोजना समयमै सक्ने, हरेक ठाउँमा समयमै पुग्ने र समयमा नै सबै कार्य सक्ने बानी बसाल्नुपर्छ । जसले गर्दा हामीलाई पछिसम्म पनि हरेक काम समयमा नै गर्ने बानी लाग्छ र त्यस बानीले सफल व्यक्ति बन्न मद्दत पुराउछ ।
अनुशासनमा बस्ने
अनुशासन बिना कुनै पनि विद्यार्थी सफल हुन सक्दैन् । विद्यालय समयमा जाने, गृहकार्य, कक्षा कार्य गर्ने, कक्षा कोठामा हल्ला नगर्ने, ध्यान दिने, नबुझेको कुरा शिक्षकलाई साध्ने अनुशासनको गुण हो । अनुशासनले विद्यार्थीलाई सफलता प्राप्त गर्न मद्दत गर्छ ।