सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सम्झौता

काठमाडौँ /२ फागुन – शैक्षिक गुणस्तर वृद्धिका लागि काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र धादिङको खनियाबास गाउँपालिका दार्खाबिच सम्झौता भएको छ । विश्वविद्यालयको सेन्टर सिपीइसी मार्फत सामुदायिक विद्यालयहरूको आवश्यकता पहिचान, कार्ययोजना, तालिम कार्यक्रमहरूको कार्यान्वयन, अनुगमन, मुल्यांकन तथा पृष्ठपोषण र सहयोग, दस्तावेजीकरण र प्रतिवेदन पेस कार्यसम्पादनका लागि सम्झौता भएको हो ।


गुणस्तरीय शिक्षाले मात्र समाजको विकास र उन्नति हुने भएकोले शिक्षामा पालिकाको विशेष पहल रहेकोले विश्वविद्यालयसँग सहकार्य गरिएको जनाएको छ । आधारभूत आवश्यकताको रूपमा रहेको मानो, नानो र छानो पछि महत्वपूर्ण आधारभूत आवश्यकताको रूपमा रहेको शिक्षालाई महत्व दिने कार्य पालिकाले गर्दै आएको पालिकाले जनाएको छ । साथै शिक्षाबाट कोही पनि वञ्चित नहुन् भन्ने उदेश्यले शिक्षालाई पालिकाले सबैभन्दा अगाडी राख्दै आएको छ ।


काठमाडौँ विश्वविद्यालयको तर्फबाट डिन प्रा।डा।बालचन्द्र लुइटेल र खनियाबास गाउँपालिकाको तर्फबाट अध्यक्ष रणबहादुर तामाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसारको कार्यक्रम तोकिएको समयावधि भित्र कार्यान्वयन गर्ने, त्रैमासिक रूपमा वित्तीय तथा कार्यक्रम प्रगति प्रतिवेदन पेस गर्ने तथा सुरुमा कार्यक्रम ५ ओटा विद्यालयबाट सुरुवात गरि सम्पूर्ण विद्यालयहरूमा कार्यक्रम सम्पन्न गरिने लक्ष्य राखिएको छ