काठमाडौँ /१ फागुन – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रस्ताव माग गरेको छ । आगामी आर्थिक वर्षदेखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको विनियोजन हुने रकम उल्लेख गरी सम्बन्धित स्थानीय तहमार्फत अनुदान हस्तान्तरण गर्ने गरी बजेट व्यवस्था गर्नका लागि आवश्यक पर्ने विद्यालयका कार्यक्रम तयारी गर्ने सवालमा विद्यालयसँग प्रस्ताव माग गरिएको हो ।
प्रस्ताव माग गरिएका क्षेत्रहरूः
१. विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम (४ कोठे विद्यालय भवन),
२. सूचना प्रविधि ल्याब व्यवस्थापन र डिजिटल लाइब्रेरी,
३. प्राविधिक धारका कार्यक्रम सञ्चालन ।
विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम (४ कोठे विद्यालय भवन) माग गर्ने आधारहरूः
१. विद्यार्थी सङ्ख्याका आधारमा भवन र कक्षाकोठा नपुग भएको ।
२. विद्यालयको भवन निर्माणका लागि विद्यालयको आफ्नै स्वामित्व र विद्यालय भवन हाताभित्र शौचालयसमेत निर्माण गर्न पर्याप्त जग्गा भएको ।
३. सङ्घ, प्रदेश तथा स्थानीय तह र कुनै दातृ संस्थाबाट भवन निर्माणका लागि कार्यक्रम नपरेको वा दोहोरो हुने अवस्था नभएको ।
४. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गतवर्षसम्म ४ कोठे विद्यालय भवन निर्माण कार्यक्रम प्राप्त नभएको तथा विगत वर्षहरूमा परेका भौतिक निर्माणका कार्य सम्पन्न भई सकेको र विद्यालयको भौतिक निर्माणमा बेरुजु नरहेको ।
५. नमुना विद्यालय विकास कार्यक्रममा छनौट भएको विद्यालय हुनु नहुने ।
६. लागत साझेदारीमा निर्माण कार्य गर्न सक्षम भए सो को प्रतिवद्धता ।
७. स्थानीय तहबाट सिफारिस भएको हुनु पर्ने ।
सूचना प्रविधि ल्याब व्यवस्थापन र डिजिटल लाइब्रेरी :
१. सूचना प्रविधि ल्याब तथा हालसम्म डिजिटल लाइब्रेरी व्यवस्था नभएका माध्यमिक विद्यालय हुनु पर्ने ।
२. उच्च विद्यार्थी सङ्ख्या भएका आधारभूत तह कक्षा ८ सम्म सञ्चालनमा रहेका विद्यालयसमेत समावेश हुन सक्ने ।
३. सूचना प्रविधि ल्याब व्यवस्थापन तथा डिजिटल लाइब्रेरी व्यवस्थाका लागि आवश्यक कोठा र इन्टरनेट सहितको विद्युतीय प्रबन्ध भएको हुनु पर्ने ।
४. कम्प्युटर विषय अध्यापन हुने विद्यालय भए सो को व्यहोरा खुल्ने प्रमाण समावेश गर्नुपर्ने ।
५. गत बिगत वर्षहरूमा सूचना प्रविधि ल्याब व्यवस्थापनका लागि अनुदान प्राप्त नभएका विद्यालय हुनुपर्ने ।
प्राविधिक धारका कार्यक्रम सञ्चालन :
१. हालसम्म प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राविधिक धार सञ्चालनका लागि विद्यालय छनौट नभएका स्थानीय तह मध्येबाट विद्यार्थी सङ्ख्या उच्च भई प्राविधिक धार सञ्चालन हुन सक्ने अवस्थामा रहेका इच्छुक माध्यमिक विद्यालयहरूले सञ्चालन गर्न चाहेको प्राविधिक धारको विषयसमेत स्पष्ट हुने गरी प्रत्येक स्थानीय तहबाट १ वटा मात्र पर्ने गरी प्रस्ताव पेस गर्नुपर्ने ।



