काठमाडौँ /२१ माघ – नेकपा (एकीकृत समाजवादी), शिक्षा विभाग प्रमुख विरोध खतिवडाले संसदको हिउँदे अधिवेशनमा विद्यालय शिक्षा ऐन पेस हुन नसक्ने बताएका छन् । विद्यालय शिक्षा विधेयक बारे अझै व्यापक छलफलको आवश्यकता रहेकाले अहिलेको सदनबाट विद्यालय शिक्षा ऐन आउन नसक्ने बताएका हुन् ।
उनले खबर एजुकेशनसँग कुरा गर्दै धेरै पक्षबाट धेरै विवादहरू आएको र विद्यार्थी, देश लगायत धेरैसँग सरोकार राख्ने विषय भएकाले अझ धेरै छलफल गर्न आवश्यक रहेकोले अहिले नै सदनमा पेस गरेर शिक्षा ऐन आउने सम्भावना कम रहेको विचार व्यक्त गरे । उनले भने “यो संसदले शिक्षा विधेयक परित गर्ने सम्भावना देख्दिन । किनभने धेरै पक्षबाट धेरै विवादहरू आएका छन् । विभिन्न पार्टीगत शिक्षक संगठनहरूले पनि आ आफ्नो ढंगले विभिन्न मागहरू प्रस्तुत गरेका छन् । त्यसै गरी धेरैसँग सरोकार भएको, विद्यार्थीको भविष्य र देशको भविष्यसँग गसिएको ले यो अझ धेरै छलफल गर्न आवश्यक छ । र त्यो छलफलपछि मात्रै हामी निष्कर्षमा पुग्न सक्छौँ ।”
पहिला भन्दा अहिले समितिले राम्रोसँग काम गरिरहेको बताउँदै सबै सरोकारवाला पक्षहरूसँग छलफल गरेर टुंगाउने भनिएकोले यसलाई मसिनोसँग छलफल भइरहेकोले यस्तै निष्कर्ष हुन्छ भन्न नसकिने बताए । पहिला पहिला माननीयहरूले छलफल गर्ने र हल्ला गर्ने शक्ति लगाउने, दुई चार जनाले सहमति गरेपछि भयो भनेर टेवल ठोक्ने गरेको र त्यो स्थिति अब नरहेकोले अब आउँदा मूलभूत विषय सम्बोधन गर्ने गरी आउँने उनले जोड् दिए ।
शिक्षकहरूको राखेको मागको सवालमा बोल्दै ९० प्रतिशत जति माग सम्बोधन हुने बताए । ” आन्दोलनका समयमा ज्ञापन पत्र बुझ्ने, सम्झौता गर्ने तत्काल समस्या समाधान गर्ने एउटा कुरा हो । तर मूलभूत रूपमा संसदमा रहेका दल, बाहिर रहेका दल सम्पूर्ण शिक्षा सँग सारेकार राख्ने संगठनहरू उनीहरूकै रायलाई निचोडमा ल्याएर र अहिले देशको आर्थिक अवस्थाको पक्षलाई पनि महसुस गरेर मात्रै निर्णयमा पुग्न सक्ने स्थिति छन् । त्यसकारण ९० प्रतिशत जति सम्बोधन हुन्छ” उनले भने ।
उनले पुनर्लेखनको कुरा उठेपनि संशोधनले काम गर्ने बताउँदै पुनर्लेखन विधेयकमा आवश्यक नरहेको धारणा राखे ।



