विद्यालय कर्मचारीलाई शिक्षकको जस्तै सुविधा दिन शिक्षक महासङ्घको माग

काठमाडौं/११ बैशाख-विद्यालय कर्मचारीको स्वीकृत दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई दरबन्दी अनुसार तलब भक्ता उपलब्ध गराउन नेपाल शिक्षक महासघंले माग गरेको छ । यसै पटकको बजेट वक्तव्य मार्फत शिक्षकको जस्तै सुविधा पाउने विद्यालय कर्मचारीको प्रबन्ध गर्न महासंघले माग गरेको हो ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलाई भेटी महासंघले ध्यानाकर्षण पत्र बुझाउँदै सहमतीहरु कार्यान्वयन हुनेगरी अविलम्ब नयाँ राष्ट्रिय शिक्षा ऐन जारी गर्न माग गरेको छ । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघ बीच भएका ५१ बुँदा सहमतीलाई कार्यान्वयन गर्न माग गरिएको छ ।


त्यसैगरी प्रारम्भिक बाल कक्षाका शिक्षकहरुलाई यही बजेटबाट प्रथमीक तृतीय सरह तलब भत्ता उपलब्ध गराउन, प्राथमिक तृतीय, प्राथमिक द्धितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम तहका स्थायी शिक्षकको अन्तिम ग्रेड संख्या समान तहका निजामती सेवाका कर्मचारी भन्दा कम रहेकोले सम्बन्धीत तहको ग्रेड संख्याको निजामती सेवाका कर्मचारीसँग एकरुपता गर्न र शिक्षकको तलबमान सार्वजनिक गर्दा प्राविधिक ग्रेडको महल समेत उल्लेख गरी नियमअनुसार शिक्षकहरुलाई प्राविधिक ग्रेड उपलब्ध गराउन माग गरेको छ ।


महासंघको ध्यानाकर्षण पत्रमा शिक्षक कर्मचारीको तलबभत्ता सशर्त अनुदान शिर्षकमा पठाउने प्रबन्ध कायम गर्न, पठाइएको तलबभत्ता उपलब्ध गराउँदा स्थानीय तहले निर्णय गर्न नपर्ने कानुनी प्रबन्ध गर्न र मासिक रुपमा उपलब्ध गराउने प्रबन्ध मिलाउन भनिएको छ ।