शिक्षक संगठनहरुको भनाई : शिक्षाको गुणस्तर बढाउन शिक्षकको सम्मान र कदर हुनुपर्छ

काठमाडौं/९ बैशाख-शिक्षकको सम्मान र कदर भएमा मात्रै शिक्षाको गुणस्तर बढाउन सकिने शिक्षक संगठनहरुले बताएका छन् । उनीहरुले कुल राष्ट्रिय बजेटको २० प्रतिशत बजेट शिक्षामा हुनुपर्ने र शिक्षकहरुको सेवा सुविधामा वृद्धिसँगै सम्मान र कदर गरिए मात्रै शिक्षाको गुणस्तर बढाउन सकिने बताएका हुन् ।


अन्तराष्ट्रिय शैक्षिक संस्था एजुकेशन इन्टरनेशनलले आयोजना गरेको छलफल कार्यक्रममा आवद्ध विभिन्न युनियनहरुले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षामा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् । नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियन(ईष्टु) अन्तराष्ट्रिय शैक्षिक संस्था एजुकेशन इन्टरनेशनलमा आबद्ध सदस्य युनियनहरु हुन् ।

तीनवटै युनियनहरुले देशमा निशुल्क शिक्षा अनिवार्य र गुणस्तिरीय शिक्षाका बारेमा शिक्षामा लेङ्गीक बिभेद, शिक्षामा अव्यस्थित निजीकरणको न्यूनिकरण र शिक्षाकर्मीहरुका अधिकार बारे सबै तहका सरकारसँग माग गरेको बताए ।


ईष्टुका अध्यक्ष होमकुमार थापाले ९७ प्रतिशत बढी बालबालिकामा शिक्षाको पहुँच भएपनि उनीहरुलाई विद्यालयमा टिकाउन नसकिएको बताए । यसका लागि दक्ष शिक्षकहरुको आवश्यक रहेको र राज्यले शिक्षकहरुलाई तालिमको व्यवस्था गरेर शिक्षामा गुणस्तरीयता कायम गर्नुपर्ने बताए । साथै शिक्षा स्थानीय तहमा हस्तान्तरण गर्ने कुरा र शिक्षकले पाउने सेवा सुविधाका सवालमा राज्य गम्भिर हुनुपर्नेमा जोड्दिए ।


नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले शिक्षाको अहिलेकै वेथितिलाई यस्तै राखेर अगाडी बढ्न नसकिने बताए । शिक्षामा देखिएका समस्याहरुलाई समाधान गर्दै परिवर्तन गर्नुपर्ने खाँचो रहेको उनको भनाई थियो । भण्डारीले शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षक कर्मचारीमा रहेको ग्रेडदेखि विविद विषयमा देखिएका विभेदलाई सुधार गर्न आवश्यक रहेको बताए ।


नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष राजेन्द्रराज पौडेलले शिक्षकहरुले राजनीतिदलहरुको झोला बोक्न नचाहेको बताउँदै पार्टीहरुले शैक्षिक नीतिमा जोड्दिए पुग्ने बताए । उनले शैक्षिक सुधारका लागि अभिभावक, विद्यार्थी संगठन लगाएत सबैसँग सहकार्य गरेर अगाडी बढ्नुपर्ने धारणा राखे ।