शिक्षक संघमा आर्थिक हिनामिना भएकै हो, खोजी गरेर सबै सामु ल्याउछौं

काठमाडौं/२८ चैत-नेपाल शिक्षक संघको नवौं महाधिवेशन यही चैत २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा हुन गइरहेको छ । २०७४ सालको चैत ४ गते गठित समितिले २०७८ सालको चैत ४ गतेभित्रमा गरिसक्नुपर्ने महाधिवेशन विभिन्न कारणले समयमा हुन सकेन र १३ महीना ढिलो महाधिवेशन हुँदै छ । करीब ६ सय जना महाधिवेशन प्रतिनिधिहरु रहेको नेपाल शिक्षक संघले केही दिनमा नयाँ नेतृत्व पाउने छ । यसै सवालमा महासचिव पदका उम्मेदवार ज्ञानेन्द्र रावलसँग खबर एजुकेशनले गरेको संवाद :


नेपाल शिक्षक संघको माहाधिवेशन हुँदैछ, तपाई महासचिव पद मै किन उठ्नु भयो ?

नेपाल शिक्षक संघ सबै भन्दा धेरै शिक्षक सदस्यहरु भएको ठुलो संस्था हो । जहॉसम्म यसको नेतृत्वको सवाल छ, विगतमा जुन किसिमले शिक्षक संघ अगाडि बढेको थियो त्यो अनुरुप अगाडि बढ्न नसकेको महसुस भएको छ । शिक्षकहरुसँग प्रत्यक्ष जोडिन, शिक्षकका मुल मुद्दाहरुमा प्रत्यक्ष सहभागी हुन, संघलाई चलायमान गराउन अहिलेको कार्य समितिले नसकेको मलाई महसुस भएको छ । त्यसकारण नेपाल शिक्षक सघंलाई व्यवस्थित र चलायमान गराउन, शिक्षकका मुल मुद्धाहरुलाई सम्बोधन गर्न र सम्बन्धीत निकायमा शिक्षका माग राख्न सक्ने व्यक्तित्वको हिसावले महासचिव पदमा उठेको हुँ । साथै मैले विगतमा उपमहासचिव पदमा रहेर काम गरेको अनुभवलाई व्यवहारमा उतार्न पनि यो पदमा उठेको छु ।


अहिले रहेको कार्य समितिलाई कसरी हेर्नु भएको छ ?


नेपाल शिक्षक संघमा करिब एक लाखको हाराहारीमा सदस्य छन् । ती सबै सदस्य शिक्षकहरुको यो कार्य समितिले काम गरेको आधारमा मुल्याङ्कन गराई र हेराई एउटै छ । किन भने यो कार्य समिति पूर्ण रुपमा असफल भएको अवस्था छ । असफल हुनुको कारण विचमा अवस्था परिवर्तन भएर संविधान नयाँ आयो, त्यसपछि शिक्षकलाई प्रत्यक्ष शासकसँग जोड्ने वा हाम्रा माग मुद्दा जसले सम्बोधन गर्नुपर्ने हो र जहाँबाट पुरा हुने हो, त्यहाँ माग राख्न नसकेको, बार्गेनिङ गर्न नसकेको, स्थानीय तहमा शक्ति पृथकीकरण, विकेन्द्रीकरण बारेमा सम्बन्धित क्षेत्रमा सम्पूर्ण शिक्षक नेतृत्वलाई बुझाउन नसकेको र शिक्षकलाई सरकारबाट प्राप्त गर्ने सेवाहरुका सन्दर्भमा जानकारी गराउन नसकेको देखिन्छ । मुलभुत रुपमा एउटा झुण्डा बनाएर खाली घुम्ने र जन्म दिनको शुभकामना दिने बाहेक शिक्षकको मूल मुद्दामा अध्ययन पनि नगरेको, छलफल पनि नचलाएको र आम शिक्षालाई जोड्न नसकेको अनुभव मैले गरेको छु ।


पाठ्यक्रमका बारेमा, पाठ्यपुस्तकका बारेमा, स्थानीय पाठ्यक्रमका बारेमा, शिक्षकलाई परेको समस्याहरुको बारेमा, शिक्षकले किताब खानामा भोगेको दुःखका बारेमा, शिक्षकको पोस्टिङ तथा पटक पटक पोस्टिङ्को कार्यविधि परिवर्तन हुँदै गएको छ । यो सबै हुनुको कारण नेतृत्व असफल भएर नै हो । नेतृत्वले शिक्षकका मागहरुलाई सशक्त राख्न सकेको भए हामीले खोजेको कुरा प्राप्त गर्न सकिन्थ्यो र आम शिक्षकलाई अधिकार दिलाउन सकिन्थ्यो । तर त्यसो हुन सकेन ।


तपाई महासचिव हुनुभयो भने कसरी काम गर्ने योजना बनाउनु भएको छ ?


शिक्षकका लागि के के काम गर्नुपर्ने हो, कसरी गर्नुपर्ने हो, समस्या के के छन् सबै प्रष्ट रुपमा जानकारी लिनुका साथै अनुभव गरेका छौं । अर्को कुरा हाम्रो समितिमा जति हुनुहुन्छ सबैले तल्लो तहबाटै काम गरेर आउनु भएको छ । किताब खानामा सबै भन्दा बढी दुःख शिक्षकहरुले पाउनु भएको छ । शिक्षकहरु स्थनीय तहबाट प्रताडित हुनुपर्ने अवस्था छ । शिक्षा ऐन नियमावली ल्याउने नाममा जस्तो पायो त्यस्तै ल्याउने भन्दा पनि शिक्षकको अनुकुलको ऐन नियमावली ल्याउनुपर्ने छ । शिक्षकका पेशागत सीप अभिवृद्धि, विद्यालय कर्मचारी, बालविकासका शिक्षकहरुका माग लगायतका सवालमा हाम्रो नेतृत्वले काम गर्ने योजना बनाएका छौं ।


नेपाल शिक्षक संघमा रहेका अहिलेका केही पदाधिकारीमा आर्थिक पारदर्शि भएन भन्ने शिक्षकहरुको आरोप छ, यसमा तपाईको बुझाई के हो ?


एकदम सही कुरा गर्नु भयो । हामीले जहाँ लगानि गर्छौं त्यो लगानिको स्पष्ट लेखा रहनु पर्छ र जानकारी पाउनु पर्छ । सदस्यता बापत उठेको लाखौं रुपैयाँको हिसाब दिन सक्नु पर्छ । पटक पटक विभिन्न छानविन समिति गठन गरेर तिनीहरुले प्रत्यक्ष प्रतिवेदन दिएका छन् त्यसलाई सार्वजनिक गर्नुपर्छ । शिक्षक संघमा आर्थिक हिनामिना भएकै हो । उहाँहरुले हिसाब दिन सक्नु भएको छैन । एउटा शिक्षकले दिनमा एक रुपैयाँ तिरेको लेबीको हिसाब किताब दिनुपर्छ तर दिन नसक्नु बिडम्वना हो । तलबका नाममा आफ्नो तहलाई नै बिर्सेर रकमको दुरुपयोग भएको छ, त्यो नियन्त्रण गर्नुपर्छ । हाम्रो नेतृत्व नेपाल शिक्षक संघमा गयो भने यस्ता कुराको खोजि गर्नेछौं र सबै सामु ल्याउने छौं ।


नेपाल शिक्षक संघका प्रत्येक सदस्यले बुझाएको लेबीबाट ६ वर्षमा करीब एक करोड रुपैयाँ तलबमा मात्रै गएको देखिन्छ, त्यो वापत उहाँ कति दिन खटिनु भयो त ? विधानमा पनि दुई पद पुरै समय खटिने उल्लेख गरेको छ, त्यसको मर्म अनुसार काम गर्नु भयो की भएन ? यी विषयमा हामी आएपछि छानविन गर्छांै र आम शिक्षक सामु ल्याउछौं ।


हामीले सकेसम्म शिक्षकको लेबिबाट तलब नै नखाने विचार गरेका छौं । यो विषय सबै शिक्षक सामु लैजान्छौं र छलफल गर्छांै । कसरी अझबढी प्रभावकारी र पारदर्शि बनाउन सकिन्छ, खर्च कम गर्न सकिन्छ त्यसमा प्रष्ट योजना बनाएका छौं ।


अन्तमा के भन्नु हुन्छ ?


मेरा कुरा राख्न दिनुभएकोमा खबर एजुकेशन टिमलाई धन्यवाद दिन चाहान्छु । साथै महाधिवेशनमा सहभागी हुन आउनु भएका सबै शिक्षक साथीहरुलाई गोकर्ण बानियाको नेतृत्व समुहलाई नेपाल शिक्षक संघमा एक पटक काम गर्ने अवसर दिनका लागि आग्रह गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *