स्ववियुका गतिविधि अगाडि नबढाउन उच्च अदालत पोखराको अन्तरकालीन आदेश

कास्की/२ चैत-पोखराको पृथ्वीनारायण क्याम्पसमा चैत २ गतेसम्म स्ववियुका गतिविधि अगाडि नबढाउन उच्च अदालत पोखराले अन्तरकालीन आदेश जारी गरेको छ । निर्वाचन समितिले नाम फेरिदिएको भन्दै विद्यार्थीको एक समुहले उच्च अदालतमा रिट हाले पछि स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरकालीन आदेश दिएको हो ।


स्ववियूको निर्वाचन नजिकिदै गएपछि पृथ्वीनारायण क्याम्पसमा नेकपा(एमाले)को विद्यार्थी संगठन अनेरास्ववियु र नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले कागजी प्रक्रिया पु¥याएर फर्जी संगठन समेत दर्ता गराएका थिए ।


अनेरास्ववियुनिकट एक विद्यार्थीले ‘नेविसंघ (गगन विश्व) समूह’ भनेर संगठन दर्ता गराएका थिए । त्यसपछि नेविसंघले पनि ‘अनेरास्ववियु केपी’ भनेर अर्को संगठन दर्ता गराएको थियो ।


प्राज्ञिक विद्यार्थी परिषद्ले पनि निर्वाचनमा भाग लिने निर्णय गरेसँगै परिषद्ले ‘स्वतन्त्र विद्यार्थी समूह’ भनेर संगठन दर्ता गरायो । ‘नेपाल विद्यार्थी समूह’ भन्ने संगठन पनि छुट्टै रूपमा दर्ता गराइयो । तर, निर्वाचन समितिले विद्यार्थीले दर्ता गराएअनुसारको सूची प्रकाशन गरेन । अनेरास्ववियु र नेविसंघको सहमतिमा ‘अनेरास्ववियु केपी’ र ‘नेविसंघ (गगन विश्व) समूह’को नाम फिर्ता लिने निर्णय भयो । यी दुई संगठनको नाम सूचीमा समावेश गरिएन ।


सूचीमा परेकाको पनि निर्वाचन समितिले एकतर्फी रूपमा नाम हेरफेर गरिदिएको आरोप विद्यार्थीले लगाएका छन् । प्राज्ञिकले दर्ता गरेको ‘स्वतन्त्र विद्यार्थी समूह’को नाम फेरेर ‘पृथ्वी विद्यार्थी’ मञ्च राखियो । ‘नेपाल विद्यार्थी समूह’को नाम ‘प्रतीक अधिकारी विद्यार्थी समूह’ भनेर सूची सार्वजनिक गरियो ।


निर्वाचन समितिले नाम फेरिदिएपछि प्राज्ञिकका विद्यार्थी उच्च अदालतमा रिट हाल्न पुगे । सोही रिटअनुसार अदालतले स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरकालीन आदेश दिएको हो ।