काठमाडौँ /१ चैत-त्रिभुवन विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका पनि तडकभडक भने कम देखिएको छ । त्रिविका विद्यार्थी संख्या धेरै भएका ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् ।
स्ववियुको निर्वाचनमा आचारसंहितालाई कडाइ गरेपछि उम्मेदवारले पर्चा, पम्पलेट एवं माइकिङ गर्न पाएका छैनन् । त्रिविले पनि प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने गरी आचारसंहिता लागु गरेपछि निर्वाचनमा तडकभडक देखिएको छैन । आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।
त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, शङ्करदेव क्याम्पस, नेपाल ल क्याम्पस, नेपाल कर्मश क्याम्पस लगायत ठूला क्याम्पसमा चुनाव प्रसारप्रसार शान्त वातावरण भइरहेको छ ।
आचारसंहिताले निर्वाचनलाई व्यवस्थित बनाएपछि उम्मेदवारले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन् । उम्मेदवारले आफ्नो पक्षमा माहोल बनाउनका लागि भेटघाटलाई तीव्र पारेका छन् ।
यस्तै उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली ‘एफो’ साइजको कागजमा एकै रङ्ग भएको पर्चा मात्र प्रचारप्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आचारसंहितामा कडाइ गरेपछि निर्वाचनमा तडकभडक नभएको बताए । “उम्मेदवारले कुनै पर्चा, पम्पलेटजस्ता निर्वाचन सामग्री बनाउन बन्देज गरिएको छ”, उनले भने, “त्यसैले यसपटकको निर्वाचनमा तडकभडक छैन ।”
उम्मेदवारले भोलि चैत २ गते राती १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ । उनले उम्मेदवारको प्रचारप्रसारका लागि सम्बन्धित क्याम्पसले एउटा कार्यक्रम गरी परिचयात्मक कार्यक्रम गर्ने र उक्त कार्यक्रममा एक अर्काप्रति आक्षेप वा आरोप लगाउन नपाइने व्यवस्था गरिएको जानकारी दिए ।


