काठमाडौं/१६ फागुन-पछिल्लो समय वैदेशिक अध्ययन अनुमति शाखामा विद्यार्थीहरुले एनओसी लिनका लागि घण्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । दैनिक रुपमा ५ सय देखि माथि विद्यार्थीहरुलाई यो शाखाले एनओसी जारी गर्दै आएको छ । सार्वजनिक विदाको दिनमा पनि अनलाईन आवेदन सोवा खुल्ला हुने उक्त दिनमा पनि अनलाइन रुजु कार्य निरन्तर भइरहने गरिएकै कारण सहज तरीकाले विद्यार्थीलाई दिएको समयभित्र एनओसी प्राप्त गर्न सकेका छन् । यस शाखामा देखिएका विभिन्न विकृतिको अन्त्य हुनु, समयमा एनओसी पाउनुले यो शाखा व्यवस्थित हुँदै गएको देख्न सकिन्छ । यसै सन्दर्भमा वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख बासुदेव वस्तीसँग खबर एजुकेशनले गरेको संवाद :
वैदेशिक अध्ययन अनुमति शाखाले पछिल्लो समय कसरी काम गरिरहेको छ ?
विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई अध्ययन स्वीकृति दिनको लागि स्थापित वैदेशिक अध्ययन अनुमति शाखाले सहज, व्यवस्थित र मर्यादित ढङ्गबाट सेवा प्रवाह गर्नको निमित्त भिजिटिङ् मिति र समयको आधारमा सेवा प्रदान गरिरहेको छ । अनलाइन रुपमा प्राप्त आवेदनलाई कम्तीमा एक दिनभित्र रूजू गर्ने र ढिलोमा त्यसको थप एक दिनभित्र तोकिएको अपोइन्ट्मेन्ट समयमा बढीमा तीस मिनेटभित्र सेवाग्राहीलाई एनओसी प्रदान गरिरहेको छ । यद्यपि आज भोलि डिजिटल गर्भनेन्स्को समय भएकोले शाखाका समग्र क्रियाकलापलाई पूर्ण रुपमा फेसलेस र पेपर लेस बनाएर प्रविधिमैत्री सेवा प्रवाह गर्नको निमित्त निकट समयमा नै परिणाम निकाल्ने तरिकाले अर्जुन दृष्टि राखेर तयारी कार्यमा जुटिरहेको छ ।
यो शाखामा यहाँ आउनु भन्दा पहिलेको अवस्था भन्दा अहिलेको अवस्थामा के परिवर्तन गर्न सक्नु भयो ?
यस शाखामा शाखा प्रमुख भएर आएको भर्खर छ महिना भएको छ । यस समयमा नीतिगत र संस्थागत रुपमा केही कामहरू सम्पन्न भएका छन् । सेवालाई समय सुहाउँदो बनाई सेवा प्रवाहमा देखिएका चुनौतीहरूको व्यवस्थापन गर्नको लागि वैदेशिक अध्ययन स्वीकृति व्यवस्थापन निर्देशिका, २०७९ निर्माण भएर स्वीकृतिको चरणमा रहेको छ । वैदेशिक अध्ययन अनुमति शाखाको सेवा प्रवाहमा उल्लेखनिय रुपमा सुधार गरिएको छ । एनओसी लिनको लागि हप्तौं दिन कुर्नुपर्ने, भनसुनको बाटो अपनाउनुपर्ने, छोटो बाटोबाट एनओसी लिनुपरे सम्बन्धित व्यक्ति वा संस्थाद्वारा तयार हुने नामावली विवरणमा आफ्नो नाम समावेश गराउनुपर्ने, अनलाइन आवेदन पश्चात् रूजू गराउन वैदेशिक अध्ययन अनुमति शाखामा घण्टौं कुर्नुपर्ने जस्ता विविध समस्याहरू अहिले छैनन् । यसै गरी सफ्टवेयरमा गरिएको अपडेटले कसैले पनि पहिलेको विवरण लुकाएर वैदेशिक मुद्रा सटही सुविधा लिए पश्चात् सो रकम फिर्ता नहुँदै पुनः चाहेको समयमा पटक पटक एनओसी लिने परम्पराको अन्त्य गरिएको छ । अनलाइन आवेदन दिँदा किर्ते कागजात राख्ने, असम्बन्धित व्यक्तिको कागजात राखिदिने दर्जनौं शैक्षिक परामर्श संस्थाहरूलाई एक पटकको लागि क्षमा दिंदै लिखित माफी मगाइएको छ । पदीय मर्यादा समेत ख्याल नगरी गैर कानूनी रुपमा एनओसी दिनको लागि अनावश्यक दबाब तथा प्रलोभन दिनेहरूलाई कानून नै सर्वोपरी रहेछ भन्ने गतिलो सवक सिकाइएको छ ।
एनओसी लिनका लागि शैक्षिक परामर्श संस्थाहरूले एजेन्टको प्रयोग गर्ने र विद्यार्थीसँग ठूलो रकम असुल गरेको आरोप छ, के यो सत्य हो ?
एनओसी लिनको लागि आवेदक स्वयं वा निज उपस्थित हुन नसक्ने अवस्थामा आवेदकको एकाघर परिवारका सदस्यलाई सक्कल शैक्षिक प्रमाण पत्र र नागरिकता प्रमाणपत्रको आधारमा मात्र एनओसी दिने गरिएको छ । यसको मुलभूत उद्देश्य शैक्षिक परामर्श संस्था, सो का एजेन्ट वा अर्को तेस्रो व्यक्तिबाट हुन सक्ने अनधिकृत क्रियाकलापले प्रश्रय नपाओस् भन्ने नै हो । जहाँसम्म शैक्षिक परामर्श संस्थाहरू र निजका एजेन्टहरूबाट ठूलो रकम असुल हुने गरेको विषयवस्तु छ, यस सन्दर्भमा केही तिता अनुभवहरू रहेका छन् । यसैको परिणतिले गर्दा विभिन्न प्रलोभनमा परेर मोटो रकम तिरी विभिन्न शैक्षिक परामर्श संस्थाहरू मार्फत रुस गएका विद्यार्थीहरूले त्यहाँ विभिन्न समस्या खेप्नुपरेको कारण केही समयदेखि रुसमा अध्ययन गर्न जानको लागि एनओसी बन्द गर्नु परेको स्थिति रहेको छ । यद्यपि सबै शैक्षिक परामर्श संस्थाहरूलाई एउटै डालोमा राखेर भने हेर्न मिल्दैन ।
शैक्षिक परामर्श संस्थाहरूले नक्कली एनओसी बनाउने जस्ता अवैध धन्दा गरिरहेका छन् भन्ने सुनिएको छ । कानूनद्वारा वर्जित यसप्रकारका क्रियाकलापलाई नियमन र नियन्त्रण गर्न के गरिरहनु भएको छ ?
यहाँले नक्कली एनओसी बनाएर अवैध धन्दा भएको जुन प्रसङ्ग उठाउनु भयो यसो हुन नदिनको लागि वेलैमा सजगता अपनाएर शाखाले मिहिन रुपमा अध्ययन गरिरहेको छ भने सरोकारवाला निकायहरूसँगको समन्वय र सहकार्यलाई बलियो बनाएको छ । परिणामस्वरुप अध्ययनको लागि विदेश जाने सिलसिलामा अध्यागमन विभागबाट परीक्षण हुँदा जारी भएको विद्यार्थीको एनओसी अनलाइन रूजू नभएमा त्यहीँबाट देखिएको कैफियतको प्रकृति हेरी कारवाही हुने वातावरण बनाइएको छ । म्यानुअल्ली एनओसी जारी गरेता पनि यसको वैद्यता र विश्वसनियताको निरुपण अनलाइन सफ्टवेयरबाट मात्र हुने हुँदा एनओसी नक्कली वा सक्कली के हो भन्ने थाहा पाउन र आवश्यकताअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन निमेषभरको समय पनि लाग्दैन । यद्यपि कानूनद्वारा वर्जित काम गरेको भेटिए यसप्रकारका कुकृत्य गर्नेमाथि निगरानी राखी प्रचलित कानुन बमोजिम निर्मम भएर कडा भन्दा कडा कारवाही गर्न शाखा तत्पर रहेको छ ।
अहिले विद्यार्थीले कति समयमा एनओसी प्राप्त गर्ने गरेका छन् ?
रितपूर्वक कागजात पेस गरी अनलाइन आवेदन गर्ने विद्यार्थीहरूले औषतमा आवेदन दिएको दुई दिनभित्र तोकिएको भिजिटिङ् मिति र समयमा बीसदेखि तीस मिनेटको समयसीमाभित्र एनओसी प्राप्त गरि रहेका छन् ।
तपाईंले एनओसी शाखालाई धेरै व्यवस्थित गर्न सफल हुनु भएको छ र एनओसी लिन सहज भएको विद्यार्थीहरूले बताएका छन् । धमिलो पानीमा माछा मार्न पल्केकाहरूबाट यसो नगर्न कत्तिको दबाव आउने गरेको छ ?
एनओसी शाखा कर्मचारीको निम्ति रोजाइको गन्तव्य नबनेको देखेर मलाई यस स्थानमा पदस्थापन नभए वेसै हुन्थ्यो भन्ने अनुभूति भएको थियो । एनओसी कहिल्यै पनि सुध्रदैन, सुधार गर्न सकिन्न भन्ने अभिव्यक्ति जिम्मेवार व्यक्ति तथा सेवाग्राहीबाट नै सुनेकाले सुरूमा आउँदा ममा कसरी सुधार गरी आफ्नो पहिचान नविगार्ने होला भन्ने चिन्ता बढी थियो । वस्तुस्थितिको अध्ययन गरी सहकर्मी सबै कर्मचारीको साथ पाएपछि मलाई गलत कार्य गर्न दबाब र प्रभाव दिनेमाथि निर्मम रुपमा प्रस्तुत हुनुको विकल्प थिएन । लिस्ट र सोर्सफोर्सको आधारमा सेवा लिनपल्केकालाई कार्यालयभित्र पस्न नदिन ढोका लगाएर सेवा प्रवाह गर्न थालियो । अनलाइन रूजू २४ घण्टाभित्र गर्ने कार्यले रूजू गर्न कार्यालय धाउन नपर्ने बनाइयो, सफ्टवेयर अपडेट गरी अतिरिक्त समयमा पनि काम गर्ने वातावरण निर्माण गरियो, भिजिटिङ् मिति र समयलाई कडाइकासाथ लागु गरियो, तोकिएको भिजिटिङ् मिति र समयमा सेवा लिन आएका सबैलाई ढिलो समयसम्म बसेर भए पनि सबैलाई सेवा दिने गरियो, सेवालाई पेपरलेस बनाई फोटोकपि र प्रिन्टिङबाट विद्यार्थी ठगिने धन्दालाई नियन्त्रण गरियो, सफ्टवेरको एडमिन लिएर लिमिट सेटअप, अपोइन्मेन्ट सिफ्ट सेट अप जस्ता प्राविधिक कार्य कार्यरत कर्मचारीबाट नै सम्पन्न हुने वातावरण निर्माण गरियो, वैदेशिक मुद्रा अपचलन रोक्न आवेदकको पोर्टफोलियो विवरणको आधारमा नयाँ एनओसी जारी गरियो ।
यसप्रकारका कार्यहरू गरी एक प्रकारको अवैध सिन्डिकेटको अन्त्य गर्न विभिन्न दवाव र प्रभाव आउनु स्वाभाविक थियो । तर यसप्रकारका क्रियाकलापबाट किञ्चित विचलित नभई टिम वर्क एण्ड स्प्रिटको साथ अगाडी बढियो किनभने परिवर्तनको खातिर यो अपरिहार्य थियो । अहिले दवाव र प्रभावबाट काम लिन सकिन्छ भन्ने तत्त्वहरू आफैं किनारा लागेका छन् ।
यो शाखालाई अझ व्यवस्थापन गर्न आगामी कार्ययोजना के के छन् ?
यस शाखाका समग्र कार्यलाई पूर्ण रुपमा अनलाइन बनाउन महाशाखा प्रमुखज्यूको अध्यक्षतामा एक समिति गठन भएर प्राविधिक रुपमा काम अघि बढिरहेको छ । पहिलो चरणमा अनलाइन आवेदनको अटोनोमस भेरिफिकेसन गरी अटोनोमस एनओसी इस्यु पश्चात् विद्यार्थीहरूलाई अनलाईन रुपमा आफ्नो एनओसी आफैं प्रिन्ट गर्ने गरी फेसलेस र पेपर लेसका रुपमा सेवा प्रवाह गर्नको लागि सरोकारवाला संस्थाहरूको सफ्टवेयर एकीकृत गर्नुपर्ने हुन्छ । त्यसैले उक्त संस्थाहरूको एटीआई सङ्कलन गर्ने कार्य गरिरहेका छौं ।
भावी दिनमा अनलाइन सेवा प्रवाह गरी सबै विद्यार्थीको विवरण अनलाइन नै व्यवस्थित गरेर उनीहरूको ट्रयाकिङ्ग गर्न तथा परेको खण्डमा तत्काल विश्वको जुन कुनै स्थानबाट पनि नागरिकप्रति रहेको राज्यको दायित्व पूर्ण रुपमा निर्वाह गर्न सक्ने गरी डिजिटल गर्भनेन्स्को अनुभूति प्रदान गरिनेछ । यस सिलसिलामा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै निकायलाई आफ्नो कार्यप्रति जवाफदेही बनाइनेछ । परन्तु वर्तमान भनेको स्वदेशमा नै रोजगार तथा सीपमूलक र गुणस्तरीय शिक्षा दिएर युवा जनशक्तिलाई आफ्नै देशमा टिकाउन सबैले आ–आफ्नो ठाउँबाट सोच्नुपर्ने समय हो ।
अन्तमा यहाँको भन्नु केही छ कि ?
खबर एजुकेसनले वैदेशिक अध्ययन अनुमति शाखाको कार्य विवरणमा आधारित रहेर शाखाका गतिविधि तथा यससँग सम्बन्धित विषय उपर जानकारी दिने अवसर दिएकोमा व्यक्तिगत तथा शाखाको तर्फबाट विशेष धन्यवाद दिन चाहान्छु ।