शिक्षक नेताहरुको शैली र व्यवहारबारे शिक्षक समुदायमा एउटा धारणा बनेको छ

काठमाडौं/८ पुस-अहिले नेपाल शिक्षक संघको स्थानीय अधिवेशनहरु भैरहेका छन् । एक वर्ष अगाडी हुनुपर्ने महाधिवेशन विविध कारणबस हुन सकेन र आगामी फागुनमा गर्ने तयारी गरेसँगै स्थानीय तह र जिल्ला अधिवेशनहरु गरिरहेको छ । धेरै सदस्या संख्या भएको नेपाल शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्थ पनि हो । आम् शिक्षकहरुका पेशागत समस्याहरुका लागि वा मुद्धाहरुका लागि र अधिकार स्थापित गराउनका निम्ति पैरवी गर्नु संस्थाको उदेश्य हो । पछिल्लो समय नेपाल शिक्षक संघ आलोचना हुनबाट अछुतो रहन सकेन र नेतृत्व प्रति विभिन्न सवालहरु उठिनै रहे । यसै सवालमा नेपाल शिक्षक संघका वरिष्ठ उपाध्यक्ष तथा सास्क,युनाइट परियोजना नेपालका फोकल पर्सन यम पी. भुसालसँग खबर एजुकेसनले गरेको संवाद ।


पछिल्लो समय नेपाल शिक्षक संघले शिक्षकहरुको सवालमा के काम गरिरहेको छ ?


नेपाल शिक्षक संघ आफ्नो ९औं राष्ट्रिय महाधिबेशनको क्रममा रहेकोले स्थानीय अधिबेशनहरु भैरहेका छन । केही जिल्ला अधिबेशनहरु पनि सम्पन्न भएका छन । कतिपय पालिकाहरुमा देखिएका समस्या समाधान गर्न आवश्यक सहजीकरण गरिएको छ । आम निर्वाचनका क्रममा राजनैतिक दलहरुलाइ शैक्षिक पेशागत मुद्दा सम्बोधन गर्न घोषणापत्र÷सङ्कल्पमा समेट्न पहल गरिएको थियो ।


त्यस बाहेक एजुकेसन इन्टरनेसनलको सहयोगमा सङ्घ संगठन र इष्टु मिलेर युनाइट परियोजना मार्फत शिक्षकहरुको पेशागत विकास र पैरवी, महिला तथा युवा नेतृत्व विकास तालिम, वातावरणीय परिवर्तन र अनुकुल सिकाइ प्रक्रिया, स्थानीय सरकारहरुसँग सम्वादको थालनी र सहकार्य लगायतका विषय र क्षेत्रमा कामहरु अघि बढिरहेका छन । यो क्रममा सबै तहका सरकारहरुलाई शिक्षामा २०% बजेट सुनिश्चित गर्न, शिक्षकहरुको श्रम अधिकार र मर्यादित कार्य अवस्था सुनिश्चित गर्न, गुणस्तरीय शिक्षक तालिम र पेशागत विकास तालिममा लगानी गर्न, शिक्षकहरुको काम र शैक्षणिक विज्ञतालाई सम्मान गर्न र सामजिक सम्वाद मार्फत शिक्षकहरुलाइ नीति निर्धारणमा सहभागी गराउन भनिरहेका छौं । अघिल्लो सरकारले नेपाल शिक्षक महासंघसँग गरेको ५१ बँुदे सहमती कार्यान्वयन गर्दै यथासिघ्र संघीय शिक्षा ऐन जारी गर्न गराउन माग गरिरहेका छौं ।


तमाम् शिक्षकहरुका समस्याका विच नेतृत्वले आफ्ना लागि मात्रै नेतृत्व गरेको आरोप छ, यसमा तपाईको भनाई के छ ?


आफ्ना लागी त त्यस्तो के भएको छ र ? तर स्वाभाविक रुपमा शिक्षकहरुको पेशागत माग र मुद्धाहरु ठिक ढंगले सम्बोधन हुन नसक्दा नेतृत्व आलोचित भएको हो । खासगरी संघियता पछिको परिस्थिती लाइ नेपाल शिक्षक महासंघले प्रभावकारी व्यवस्थापन गर्न सकेन । यहि बिचमा ठुला दुई संस्थाहरु द्वन्दमा रहे । यसले प्रभावित गरेको सत्य हो । अर्कातिर दुइ तिहाइको सरकार पनि जिम्मेवार भएन भने पछिल्लो गठबन्धन सरकारले पनि शिक्षामा खासै ध्यान दिएन । वा तिनिहरुलाइ बाध्य पार्न सकिएन । यसलाइ गम्भिर समिक्षा र सिकाइका रुपमा हेरिनु पर्छ ।


नेपाल शिक्षक संघमा अबको नेतृत्व कस्तो हुनुपर्छ जस्तो लाग्छ ?


नेपाल शिक्षक संघ नेपालमा सबैभन्दा ठुलो संगठनका रुपमा रहेको छ । महासंघ, एसटीएफ, इआईमा पनि यसको महत्वपुर्ण सहभागिता र जिम्मेवारी रहेको छ । शिक्षाकर्मीहरुका पेशागत समस्या र गुणस्तरीय शिक्षाका सवालहरु समाधान नभएको अवस्था छ । संघियता पछिको शिक्षा व्यवस्थामा काम र समन्वय भएको छैन । शिक्षामा निजिकरण र व्यापारीकरणको ठुलो ऋणात्मक प्रभाव छ ।


एसडीजी-४ लगायतका सरोकारहरुमा प्रभावकारी कार्य गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाइ आवश्यक प्रोत्साहन र सुविधाको व्यवस्थापन गर्न जरुरी रहेकोले स्वाभाविक छ अनुभवी, प्रतिबद्ध र पेशागत नेतृत्व चाहिएको छ । त्यस दिशामा नै नेपाल शिक्षक संघ र यसका सदस्यहरुले ध्यान पु–याएर नयाँ नेतृत्व निर्माण गर्नु पर्दछ ।


अहिले भएको नेतृत्वको समिक्षा कसरी गर्नुहुन्छ ? शिक्षकहरुका समस्या समाधानका लागि के के गर्न सक्यो ?


अस्थायी शिक्षकहरुको समस्या समाधान यो अबधिको महत्वपुर्ण उपलब्धी हो भन्ने ठान्दछु । करिब २६ हजार शिक्षकहरु मध्ये आधाले पहिलोपटक गोल्डेन ह्यान्डसेक गर्नुभो । नेपाली शिक्षकहरुले पहिलोपटक सेवा निवृत हुँदा पैसा लिएर जानु भएको छ भने त्यही संख्याका साथीहरु शिक्षक सेवा आयोग पास गरेर स्थायी हुनु भएको छ । तत्कालिन प्रधानमन्त्री स्व. सुशील कोइराला, शिक्षामन्त्री गोपालमान श्रेष्ठ र संघिय अध्यक्ष राजेन्द्रराज पौडेल लगायत शिक्षक नेता साथीहरु र मेरो पनि यसमा महत्वपुर्ण भुमिका थियो । संघियतामा शिक्षक युनियनहरुको कार्यशैली बारे राम्रैसँग सिकाइ भएको छ भने शिक्षक आन्दोलनलाइ पेशागत र व्यावसायिक बनाउन आवश्यक रहेको बुझिएको छ । शिक्षा मन्त्रालयको निरिहता गहिरो सँग देख्दै बूझिएको छ । यस आधारमा अब अघि बढ्ने हो । यहि नै अहिलेको आवश्यकता हो ।


शिक्षक नेताहरुको शैली र व्यवहारबारे पनि शिक्षक समुदायमा एउटा धारणा बनेको छ त्यसलाइ शिक्षक मैत्री र शिक्षा अधिकारका पक्षमा ल्याउनु छ ।


नेपाल शिक्षक संघको महाधिवेशन आउँदैछ, शिक्षक महासंघको पनि आउँदै छ तपाईको दावी केमा रहन्छ ? र किन ?


२०६५ सालदेखि नेपाल शिक्षक संघको केन्द्रीय सदस्यका रुपमा काम गर्दै अहिले बरिष्ठ उपाध्यक्षका रुपमा सक्रिय छु । यस अघि कोषाध्यक्षका रुपमा पनि प्रभावकारी काम गरेको छु । नेपाल शिक्षक संघका सदस्यहरु तथा सबै तहका साथीहरुको ठुलो भरोषा र माया पाएको छु । सधन्यवाद आभारी छु, यो अवसर र भुमिकाका लागि । केन्द्रिय सदस्य, कोषाध्यक्ष र बरिष्ठ उपाध्यक्षको भुमिकामा मेरो सक्रियता र कामको अवश्य मुल्याङ्कन हुनेछ र अबको आवश्यकतालाई पनि साथीहरुले ध्यानपुर्वक हेरिरहेको देखेको छु । व्यक्ती गौण देख्छु, सामुहिकता महत्वपुर्ण हुन्छ् । म सँग धेरै बिकल्प छैन ! संघको अध्यक्ष वा महासंघको अध्यक्ष पदलाई सहि अर्थमा न्याय गर्न सक्छु भन्ने लागेको छ । साथिहरुसँग सल्लाह गर्दैछौं । सामुहिक तवरले निर्णय गर्छौं र अघि बढ्छौं ।


नेपाल शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो, तर यसपालिको प्रतिनिधि सभाको निर्वाचनमा त्यस्ता संस्थाहरु खारेज गर्नुपर्छ भनिएको छ, के शिक्षक संगठनहरुको औचित्य सकिएको हो ?


यस्ताखाले संघसंस्था खारेज गर्नेकुरा २०७४ मा आएको थियो, यो पटक मौन देखिए राजनितिक दलहरु । शिक्षकहरुका ट्रेड युनियन संस्थाहरुको औचित्य र आवश्यकता दुबै छ । संबिधानले नै सबै पेशाकर्मीहरुको ट्रेड युनियन अधिकार सुस्पष्ट गरेकोले यिनिहरु कसैलाई मन नपरे पनि सत्य र आवश्यक छन । र यिनिहरुले सरकारहरुलाइ खबरदारी सहित सहकार्य गर्नुको बिकल्प छैन ।


अन्तमा के भन्न चाहानु हुन्छ ?


खबर एजुकेसनलाई मनैदेखि धन्यबाद भन्छु । शिक्षा र खासगरी सार्वजनिक शिक्षा मानव अधिकार र लोकतन्त्रको आधार स्तम्भ हो । यसलाइ थप राम्रो बनाउन आवश्यक छ, हुन्छ र यो साझा दायित्व हो । यसमा इमान्दार प्रयास गरौं । शिक्षक आन्दोलन शसक्त र प्रभावकारी भैरहनु पर्ने र निरन्तर बलिरहने दिप हो, यसलाइ अझै गति दिन आवश्यक छ । राजनितिक दलहरु सार्वजनिक शिक्षाका बरेमा अलमलिएका छन, यसमा ध्यान दिन आवश्यक छ । सामुहिकता र सहकार्यबाट गुणस्तरीय शिक्षाको अपेक्षा पुरा हुन सक्दछ । यसमा काम गरौं । नेपाल शिक्षक संघको गौरवपुर्ण इतिहासलाइ थप उचाइ दिन काम गरौं । धन्यबाद । जय नेपाल ।