शिक्षक लाइन्सेस परीक्षाको नतिजा एक हप्ताभित्र प्रकाशित गर्ने आयोगको तयारी

काठमाडाैं/४ फागुन–शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षक लाइन्सेस परीक्षाको नतिजा एक हप्ताभित्र प्रकाशित गर्ने तयारी गरेको छ ।
आयोगका प्रशासकिय प्रमुख बैकुण्ठ अर्यालका अनुसार सबै तहको उत्तरपुस्तिका परीक्षणको काम सकेर मावि तहको नतिजा प्रकाशनको तयारी भईरहेको जानकारी दिए । उनका अनुसार मावि, निमावि र प्रावि तहको नतिजा क्रमश सार्वजनिक गरिनेछ । आयोगले माघ अन्तिममा नतिजा सार्वजनिक गर्ने तयारी गरेको भएपनि केही प्राविधिक समस्याका कारण ढिलाइ भएको आयोगले जनाएको छ ।
आयोगले गत असोज ११, १२ र १३ गते शिक्षक लाइसेन्स परीक्षा लिएको थियो । आयोगले मावि तहको विभिन्न तीन, निमावि तहको एक र प्रावि तहको एक गरी पाँच किसिमको विज्ञापन खुलाएको थियो । लाईसेन्स परीक्षामा प्रावि तहमा ६६ हजार ५ सय ९५, निमावि तहमा ५६ हजार १ सय ४० र मावि तहमा १ लाख १ हजार ९ सय ९० परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ ।
आयोगले शिक्षा लाईसेन्स परीक्षा धेरै समयपछि खुलाएको हो । आयोगले यसअघि मावि र निमावि तहको लाईसेन्स २०७२ र प्रावि तहको लाईसेन्स २०६८ सालमा खुलाएको थियो ।