भि.एस.निकेतन कलेजमा रोबोट रेस प्रतियोगिता सम्पन्न, साउथ वेस्टर्न र एक्मि विजयी

काठमाण्डौं/४ फागुन– काठमाण्डौंको मीनभवनस्थित भि.एस निकेतन कलेजको आयोजनामा ‘ईन्नो फेस्ट २०२० रोबोट रेस प्रतियोगिता’ सम्पन्न भएको छ ।


भि.एस.निकेतन कलेजको प्राङ्गणमा दश वटा कलेजका विज्ञान संकायका विद्यार्थीहरूबीच रोबोट रेस प्रतियोगिता भएको थियो । प्रतियोगितामा उपत्यकाका ९ वटा कलेजलगायत ईलामको ग्रीन भ्याली कलेजले समेत सहभागीता जनाएको थियो । उक्त प्रतियोगितामा साउथ वेस्टर्न कलेज र एक्मि कलेजले बारबार अंक ल्याउँदै सामूहिक विजेता भएका छन् । दुवै कलेजले नगद २५ हजार रकम सहित ट्रफि, मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।
कलेजका प्रिन्सिपल गोपाल सिंहका अनुसार विभिन्न कलेजका विद्यार्थीहरुबीचको पहिचानका साथै तिनीहरुबीच सहकार्य गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको हो । विद्यार्थीहरुले आफूले सिकेको ज्ञानलाई प्रदर्शन गर्न र व्यवहारिक शिक्षा अरु माझ प्रस्तुत गर्न उक्त प्रतियोगिताले सहयोग गरेको उनको भनाई छ ।

प्रतियोगितामा विद्यार्थीहरूले सामूहिक कार्य गरेको बताउँदै उनले भने, “सामूहिक कार्य गर्दा विद्यार्थीहरुले आफूले पढेका र सिकेका कुराहरुलाई व्यवहारिक रुपमा उतार्न सहज हुन्छ । आजको विज्ञान तथा प्रविधि युगमा यस्तो कार्यक्रमले निकै अर्थ राख्ने र विद्यार्थीहरू आफूले पढेका र सिकेका कुराहरूलाई व्यवहारिक रूपमा उतार्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने समेत प्राध्यापक सिंहले जानकारी दिए ।