काठमाण्डौं/२६ माघ– निजी तथा आवासीय विद्यालय संगठन, काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको चौथो लुम्बिनी प्याब्सक फुटसल कप सम्पन्न भएको छ ।
लुम्बिनी एकेडेमीको मुख्य प्रायोजनमा भएको चुच्चेपाटीस्थित लुम्बिनी फुटसल प्रतियोगितामा शुक्रबार भएको फाइनलमा विट्स एकेडेमीलाई ६–२ गोलको अन्तरले पराजित गर्दै विनायक स्कूलले सो उपाधि जितेको छ । उपाधिसँगै विनायकले नगद १० हजार रकमका साथै आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको विट्सले ८ हजार रकमका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तेस्रो स्थानको लागि भएको खेलमा सगरमाथाले पुष्पलाललाई ३–१ ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्नुका साथै नगद रकम ७ हजार का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, पुष्पलाल स्कूलले ५ हजार रकम, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा विनायकका स्कन्द पोखरेलले ४ गोल गरि ‘म्यान अफ द म्याच’ को उपाधी जित्नुका साथै अनुशासित खेलाडीको उपाधी हासिल गरेको छ । यसैगरि विनायककै अर्का युवराज गोर्खाली उत्कृष्ट गोलरक्षक, विट्सका अशोक मगर उत्कृष्ट खेलाडी ठहरिएका छन् भने उत्कृष्ट डिफेन्डरमा विनायकका सतीश थापा, उत्कृष्ट प्रशिक्षकमा आनन्द क्षेत्री र उदीयमान खेलाडीका रूपमा विट्सका रिसोप प्रधान घोषित भएका छन् ।
निजी तथा आवासीय विद्यालय संगठन, काठमाण्डौं (प्याब्सक) द्वारा आयोजना गरिएको सो प्रतियोगिताका विजेताहरूलाई वाग्मती प्रदेशका प्रदेशसभा सदस्य नरोत्तम वैद्य तथा प्रमुख अतिथि लगायतले पुरस्कार प्रदान गरियो ।