काठमाडौं/२६ माघ–विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा विद्यालय शिक्षाको पाठ्यक्रमको स्वरुप तोकिदिएको छ ।
विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म तयार पारिएको प्रारुपले विद्यालय शिक्षाका लागि नौ वटा पाठ्यक्रमको स्वरुप तोकिदिएको छ । विद्यालय शिक्षाको पाठ्यक्रमको स्वरुप निम्नानुसार हुने छ :
१) राष्ट्रिय पाठ्यक्रम प्रारूप र राष्ट्रिय योग्यता प्रारूपबिच सामञ्जस्य कायम गरिने छ ।
२) आधारभूत तहको कक्षा ३ सम्म एकीकृत पाठ्यक्रम ढाँचा अवलम्बन गर्ने नीति लिइने छ ।
३) माध्यमिक तहको कक्षा ९ देखि १२ सम्म एकलपथीय पाठ्यक्रम स्थापित गर्ने नीति अवलम्बन गरिने छ ।
४) अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय अनुभवसमेतका आधारमा अक्षराङ्कन पद्वतिअनुरूप विद्यार्थीको सिकाइ उपलब्धि प्रमाणीकरण गरिने छ । यसका लागि पाठ्यक्रम संरचनामा नै पाठ्यघण्टा समेटी सोहीबमोजिम पठनपाठनको व्यवस्था मिलाइने छ । यसका लागि एक पाठ्यघण्टा बराबर ३२ कार्यघण्टा (Working hour) हुने छ । कक्षा एकदेखि तीनसम्मका प्रत्येक कक्षाका लागि वार्षिक २६ पाठ्यघण्टा र कक्षा चारदेखि दशसम्मका लागि प्रत्येक कक्षाका लागि वार्षिक ३२ पाठ्यघण्टाको विषयवस्तु हुने छ । त्यसै गरी कक्षा ११ र १२ प्रत्येकमा वार्षिक कम्तीमा २७ देखि बढीमा ३२ पाठ्यघण्टाको विषयवस्तु हुने छ ।
५) विद्यार्थीका आवश्यकता र सेतु पाठ्यांश (Bridge Course) का रूपमा विद्यालयले माध्यमिक शिक्षामा आवश्यकताअनुसार पाठ्यक्रम संरचनामा व्यवस्था भएका ऐच्छिक विषयहरूमध्ये कुनै एक विषयलाई थप विषयको रूपमा पठनपाठन गर्न गराउन सक्ने छ ।
६) यस प्रारूपमा निर्दिष्ट पाठ्यक्रम संरचनाबमोजिम कक्षागत रूपमा रहेका विषयहरूको विषयगत सक्षमतासहितको पाठ्यव्रmम विकास गरी राष्ट्रिय पाठ्यव्रmम विकास तथा मूल्याङ्कन परिषद्बाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइने छ ।
७) माध्यमिक तहको कक्षा ११ र १२ को पाठ्यक्रम संरचनामा अनिवार्य र विद्यार्थीको रुचि, क्षमता र विद्यालयको आवश्यकताका आधारमा ऐच्छिक विषयहरू छनोट हुने छन् । छनोटमा आधारित विषयहरूलाई उपल्लो तहको अध्ययन तथा रोजगारीका क्षेत्रमा दक्षता प्रदान गर्ने गरी समूहीकृत गरिने छ ।
८) विद्यालय शिक्षाको कुनै धारको कक्षा वा तह पूरा गरेपछि कुनै विद्यार्थीले अर्को धारतर्फको कुनै कक्षामा भर्ना हुन चाहेमा दुवै धारतर्फका मौजुदा पाठ्यक्रमको तुलना गरी सेतु पाठ्यक्रम (Bridge course) को अध्ययन आवश्यक भएमा सोसमेतको सुनिश्चितता हुने गरी राष्ट्रिय पाठ्यव्रmम विकास तथा मूल्याङ्कन परिषद्ले आवश्यक व्यवस्था गर्न सक्ने छ ।
९) विद्यार्थीहरूलाई सिकाइको अधिकतम अवसर प्रदान गर्न उनीहरूको विविध क्षमता तथा झुकावलाई दृष्टिगत गरी पाठ्यक्रमलाई विविधीकरण गर्न सकिने छ ।