काठमाण्डौं/२३ माघ– स्कुल बसहरूले बिहान नौ बजेभित्र अनिवार्य रूपमा स्कुल कम्पाउण्डभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न सरकारले निर्देशन दिएको छ ।
ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै सरकारले बिहान ९ बजेपछि स्कुल बस सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । उपत्यकाको ट्राफिक व्यवस्थापनबारे बिहीबार प्रधानमन्त्री कार्यालयमा निजी स्कुल सञ्चालकहरूको संस्था प्याब्सन, एन प्याब्सन, हिसान, अभिभावक महासंघ, शिक्षक महासंघ तथा शिक्षा मन्त्रालयका अधिकारी त्यस्तै उपत्यका ट्राफिक महाशाखाका अधिकारी र अन्य सरोकारवालाबीच छलफल गरि बिहान कार्यालय समयमा स्कुल बस चलाउँदा सवारी आवागमनमा समस्या भएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरिएको हो । छलफलमा अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले केटाकेटी बोक्ने सबै बस बिहान ९ बजेभित्र स्कुल हातामा प्रवेश गरिसक्नुपर्ने निर्णय भएको बताए । तर यो निर्णय अव्यवहारिक भएको भन्दै अभिभावक महासंघका सञ्चालकहरूले भने असन्तुष्टि जनाएका छन् ।
गत माघ १ देखि नै लागू हुने गरी सरकारले यस्तो नियम बनाउन खोजे पनि सरोकारवालाहरूको सुझाव अनुसार केही समयपछि मात्र यस्तो नियम लगाउने भनिएको थियो । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न भन्दै ३७ बुँदे कार्ययोजना पारित गरेको थियो । गत पुस १५ मा बसेको मन्त्रीपरिषद् बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित भएको हो । उक्त कार्ययोजनाको १४ नम्बरमा स्कुल बसहरू बिहान नौ बजेसम्म अनिवार्य रूपमा स्कुलको कम्पाउण्डभित्र प्रवेश गरिसक्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मा तोकेको थियो । यही अनुरूप सो नियम लागू गरेको हो ।
शिक्षा मन्त्रालयले सम्वन्धित निकायलाई निर्णय कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ भने सो नियम कार्यान्वयन गर्न प्याव्सन, एन प्याव्सन, हिसान र शिक्षक अभिभावक संघलाई समन्वय गर्ने जिम्मेवारी समेत दिइएको छ ।