हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजको ग्राजुयसन कार्यक्रम सम्पन्न

काठमाडौं/१५ जेठ–काठमाडौंको पुतलिसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले शनिबार ग्राजुयसन सेरेमनी कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ महामारीका कारण विश्वविद्यालयको दिक्षान्त समारोहमा उपस्थित हुन नपाएका विद्यार्थीहरुलाई कलेजको आयोजनामा ग्राजुयसन सेरेमनी कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रममा स्नातक तह तर्फ बिई सिभिल २०११, बिबिए २०१६, बिआईएएस २०१५ , स्नातकोत्तर तह तर्फ एमबिए तथा ईएमबिए २०१६ र २०१७ व्याच पास आउट गरेका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो । त्यसैगरी बिबिए, बिएलएएस, बिटेक इन बायोटेक्नोलोजि २०१६ र २०१७ का विद्यार्थीलाई बिधाई गरीएको थियो ।


कार्यक्रममा बोल्दै पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणी पोखरेलले विद्यार्थीहरुलाई शुभकामाना दिँदै देशका लागि उत्कृष्ट काम गर्न र विश्वविद्यालय तथा कलेजबाट आर्जन गरेको ज्ञान सिपलाई व्यवहारिक जिवनमा प्रयोग गर्न सुझाब दिए । उनले भने “प्राप्त गरेको ज्ञान सिप, दक्षतालाई मुलुक विकासमा प्रयोग गरे मुलुक समृद्धिमा जान टेवा पुग्ने छ । देश परविर्तनका लागि आजै आफैबाट अहिले नै सुरु गर्नुहोस ।”


उनले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेज मध्ये हिमालय ह्वाइट हाउस इन्टरनेशनल कलेज उत्कृष्ट कलेज रहेको बताउँदै काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन्द्र शाहा जस्ता विद्यार्थी पढाएकोमा खुशी व्याक्त गरे । उनले बालेन्द्र शाहा र सुनिता ढंगोल जस्ता धेरै व्याक्तिहरु यो देशका लागि खाँचो रहेको र यसका लागि पूर्वाञ्चल विश्वविद्यालयले उत्पादन गर्ने उदेश्य लिएको भनाई राखे ।


साथै ह्वाइट हाउस इन्टरनेशनल कलेजले विगत २२ वर्ष देखि अविछिन्न रुपमा विद्यार्थीहरुलाई सिप सहित व्यवहारी शिक्षा दिन सफल भएकोले सधै विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल भएको बताए ।

कलेजका प्रिन्सिपल प्रा.तोयानारायण पौडेलले पूर्वाञ्चल विश्वविद्यालयमा पहिलो पटक हिमालयन ह्वाइट इन्टरनेशनल कलेजले ग्राजुयसन सेरेमनी कार्यक्रम आयोजना गरेको जनकारी दिए । दीक्षित भएका विद्यार्थीहरु पास भएर गएपनि विद्यार्थीहरुलाई मार्गदर्शन गर्न सधै कलेज तयार रहेको बताए । साथै पास भएर गएका विद्यार्थीहरु विभिन्न क्षेत्रको उच्च स्थानमा रहेर काम गरीरहेको बताउँदै कलेजले सुधार गर्नुपर्ने केही भए सुझाब दिन आग्रह गरे । उनले भने “तपाइहरु विभिन्न क्षेत्रमा रहेर काम गरीरहनु भएको छ । कलेजले कस्तो ज्ञान दियो भने जिवनमा प्रयोग गर्न सहज हुन्छ, यसमा तपाईहरुले देखेका कमी कमजोरी देखाइदिनु होला, हामी कलेजलाई अझ उत्कृष्ट बनाउन चाहान्छौँ ।”

एमबिएकी विद्यार्थी पूजा पोखरेलले पूर्वाञ्चाल विश्वविद्यालय अन्तर्गतको हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा पढ्न पाएकोमा खुशी व्याक्त गर्दै कलेजले दिएको ज्ञान र सिपलाई व्यावहारमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरीन । उनले यसरी कलेजले ग्राजुयसन सेरेमनी आयोजना गरेर दीक्षित गरेकोमा धन्यवाद दिइन ।


प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा विश्वविद्यालयका वरिष्ठ अधिकृत विनय भट्टराई, कलेजका डाइरेक्टर सुरेश अधिकारी, भाईस प्रिन्सिपल डा. अजय खड्का, भाईस प्रिन्सिपल डा.अल्का सापकोटा र फ्याकल्टि प्रमुखहरुको उपस्थित रहेको थियो ।