काठमाडौं/१३ जेठ- जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि अहिलेसम्म विद्यार्थीहरुले पुरै पाठ्यपुस्तक पाउन सकेका छैनन् । एक महिना ढिलो गरी शैक्षिक सत्र सुरु भए पनि अझै ३० लाख थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।
गत वर्षको बिक्रिका आधारमा यो वर्ष १ करोड ९० लाख पुस्तक छाप्ने अनुमान गरेको केन्द्रले अहिलेसम्म कक्षा १ देखि १० सम्मका १ करोड ६० लाख पाठ्यपुस्तक छापेर बिक्रि वितरण भइरहेको जनाएको छ ।
जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता चित्र आचार्यले अहिले ३० लाख थान पुस्तक अपुग रहेको बताउँदै सबै पुस्तक अपुग नभएपनि सेटमा केही पुस्तक अपुग भएको जानकारी दिएका छन् । उनले १ महिनादेखि ३५ दिन भित्रमा सम्पुर्ण पुस्तक छापिसकेर वितरण गर्ने तयारी गरेको जानकारी दिए ।

कोरोना महामारी, स्थानीय तहको निर्वाचनका लागि मतपत्र छाप्न जनशक्ति र मेशिनको प्रयोग, मुल्य वृद्धिसँगै कागजको अभाव र अघिल्लो शैक्षिक सत्र असारमा सुरु भएर नयाँ शैक्षिक सत्र छिटो सुरु भएकोले पुस्तक छाप्ने समय ८ महिना मात्रै भएको कारण देखाउँदै पुस्तक छापाइमा ढिलाइ भएको बताए । प्रवक्ता आचार्यले शिर्षक अनुसार पुस्तक छापिने र दैनिक १ लाख २५ हजार सेटका दरले छापाइ भइरहेको जनाए । यसमा शिर्षक अनुसार पुस्तक छाप्न समय लाग्ने उनको भनाइ छ ।
साथै,कक्षा ५, ६ र ८ का पुस्तक कम रहेको त्यसमा पनि नेपाली अंग्रेजी र सामाजिक शिक्षा बढी अपुग रहेको आचार्यले बताए । सार्वजनिक विद्यालयमा मात्र नभएर संस्थागत विद्यालयमा पनि सामाजिक शिक्षा बिक्रि भइरहेको जानकारी दिँदै यसको माग अझ बढी आउन सक्ने र माग बढेको खण्डमा थप केही दिन बढी लाग्न सक्ने खबर एजुकेशनलाई जानकारी दिए ।
उनले जेठ २० गतेसम्म नयाँ शैक्षिक सत्रको भर्ना अभियान अझै बाँकी रहेकोले पुस्तक पुगेन भनिहाल्न नमिल्ने बताउँदै मिडियाले समाचार बिकाउनका अनावश्यक हल्ला गरेको समेत आरोप लगाएका छन् ।



