शिक्षक लोकबहादुरको जागिर खोसेको पछुतो कहिल्यै हटेन

काठमाडौं /१३ जेठ-विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी बहन गरेपछि सहयोगी अनुकूलताले मात्र २०४५ सालमा बन्द हुने अवस्थामा पुगेको विद्यालय पुनः सञ्चालनमा आयो, टिक्यो । गर्वको विषय चाहिँ मानिसले अवसर तथा जिम्मेवारी पाएको बेलामा केही गर्छु भन्ने अठोट लिएमा सबैको सहयोग पाइने रहेछ भन्ने पनि हो । एकजना जागिर खान गुल्मिदेखि सुर्खेत पुगेको शिक्षकलाई विश्वास गरेर लाखभन्दा बढी चन्दा जुट्यो । २०५० सालमा प्रवेशिका दिएका देशभरका ४५० माध्यमिक विद्यालय स्वीकृत दरवन्दी पाउँदा र सुर्खेतको खुला मञ्चमा प्रमाणपत्र वितरण समारोहमा सहभागी हुँदाको क्षण उनको स्मरणमा अहिले पनि ताजै छ । तत्कालीन समाजसेवी स्वर्गीय गंगाबहादुर ढकालज्यूले सुर्खेत वीरेन्द्रनगरमा विद्यालयको इतिहास सुरक्षा गरेको भनी उहाँलाई अङ्गालो हाली दर्शाउनु भएको माया र बर्साउनु भएको आशिर्वाद धेरै धेरै गर्व लायक छ । विद्यालय शिक्षाका प्रारम्भिक चरणका घटना स्मरण गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेलसंग शैक्षिक नेतृत्व, प्रशासन र कार्यप्रणालीका विषयमा तितामिठा अनुभूतिबारे खबर एजुकेसनले गरेको कुराकानीको भाग पाँचको प्रस्तुति ।


प्रधानाध्यापक पदका कार्यअनुभूतिहरु के कस्ता छन् ?


मेरो जीवनको पहिलो र अन्तिम नेतृत्वदायी पद आदर्श मावि मेहेलीको प्रधानाध्यापक पद नै हुन पुग्यो । (यद्यपि २०५० साल जेष्ठमा अवलचिङ्ग माविमा प्रधानाध्यापक पदमा जिल्ला शिक्षा कार्यालयले नियुक्त गरी पठाएको थियो, जसलाई मैले अस्वीकारेर जागीरबाट नै राजीनामा गर्ने निर्णयमा पुगेको थिएँ ) । प्रधानाध्यापक पदको कार्यकाल आर्थिक रुपमा के कति तलबभत्ता बुझेँ ? सो बुझिएको रकम कहाँ हालेँ ? त्यो बेला मैले के खाएँ, के खाइनँ ? सहयोग जुटाउन, हारगुहार गर्न कहाँ कहाँ पुगेँ ? के के गरियो ? के के गरिएन ? सम्झिन्दा पनि कहाली लाग्छ । तापनि सबै मेरो उर्जाशील जीवनका प्रथम अनुभव नै संघर्षशील रह्यो । त्यतिबेला आफूले नेतृत्व गरेको विद्यालय र विश्वासमा भर्ना हुने विद्यार्थी नै सबैथोक हुन् भनेर काम गरियो र बन्द भएको विद्यालयलाई सुचारु गर्न सकियो ।


तपाईको नेतृत्वमा विश्वास गर्नेहरुलाई कसरी स्मरण गर्नुहुन्छ ?


सर्वप्रथम स्थानीय जनताहरु, गण्यमान्यजन, विद्यालयका व्यवस्थापकहरु, जिल्लाका राजनीतिक नेताहरु तथा जिल्ला शिक्षा अधिकारी सबै सबैले मेरो प्रयासमा खुलेर हैँसेमा होस्टे गरे । एकातिर जिशिअ हिराप्रसाद ढकालले दिएको आइए प्राविको दरवन्दीमा मावि तहका लागि आवश्यक अंग्रेजी शिक्षकको पदस्थापनामा सहमति मुख्य सहयोगी हुन पुग्यो । अर्कोतिर जिल्ला शिक्षा समिति सुर्खेतको शिक्षक छनौट परीक्षामा निमावि तहको आइएस्सी दरवन्दीमा एक नम्बरमा उत्तीर्ण भएका आइएस्सी तथा गणितमा स्नातक उत्तीर्ण मित्र चन्द्रनारायण यादवलाई मेरो अनुरोधमा आदर्श मा.वि.मा पदस्थापना गर्ने जिशिअप्रति कृतज्ञ थिएँ । साथै, सुगमको ठाउँमा पदस्थापना हुने सम्भावना हुँदाहुँदै पनि मेरो विशेष आग्रह स्वीकारेर मेहेलीको शिक्षक पदमा जाने यादव जीको धेरै ऋणी रहेँ । विद्यालयमा वहाँको पेसागत लगाव र इमानदारिताको आज पनि निरन्तर स्मरण गर्दछु ।


प्रधानाध्यापक पदमा पुग्दाका कुनै नमिठा स्मरणहरु छन् ?


जीवनको पहिलो र अन्तिम दुवै घटना हुन पुगेको प्रशासकीय नेतृत्वदायी प्रधानाध्यापक पदको अवधि सत्र महिना रह्यो । विद्यालयको प्रगति र उन्नतिका लागि निश्चित अवधि धेरै नै फलदायी भएपनि वैयक्तिक रुपमा भन्ने हो भने आर्थिक हैसियत बिगार्ने तथा मित्र नकमाउने जीवनको अत्यन्त पिडादायी क्षण रह्यो । तसर्थ गर्वको समय स्थीर रहेन र क्षणिक भएको तुलनामा पिडा र दुखदायी स्मरण चाहिँ जीवनभर नै रहेकोले धेरै पुगेको अनुभव रह्यो । अझ स्पष्ट भन्दा व्यवहारिक दृष्टिकोणले प्रधानाध्यापक पद निरंकुश हुन पुग्यो । सामान्य चेतनाका एकजना मित्रको सानोतिनो त्रुटी वा गल्तीले उनको जीवन धान्ने जागिर नै चट पारिदियो । स्थायी नियुक्ति हुनासाथ आफू हाजिर हुन गएको भए के हुन्थ्यो ? तर काजमा बसी अर्का मित्रलाई अस्थायी लियन पदमा सधैँ झुल्याएर अन्तिममा आफूले कतैबाट सहयोग नपाउँदा बाध्यताले हाजिर हुन जाँदा ती मित्रको अन्यायपूर्ण रुपमा जागिरबाट अवकाश भएको थियो । यी दुवै कुरामा पिडा र पछुतो चाहिँ धेरै छ । अनेकाँै पुण्यकर्मको लागि गरिएका धेरै कर्मबाट सन्तुष्ट हुनुपर्ने भएपनि मर्ने बेलासम्म पनि नबिर्सिने गरी यी दुवैको जागिर जानुमा मबाट ठूलो अपराध भएको लाग्दछ ।


प्रधानाध्यापक पद दोषी वा संयमता गुम्दाको पछुतो ?


प्रधानाध्यापक पद मात्र कसरी दोषी हुन्छ र ? कार्य गर्ने मान्छेले न हो । नेतृत्व गर्नेले क्षणिक आवेश र संयमता गुमाउँदा वा सामान्य घरपरिवारका मानिसको बुद्धि र व्यवहारसित विवेक गुमाएर तुच्छ किसिमको निर्णय गर्दा भएको घटना विवरण सुनाउछु :


शायद आमाबुबाविहिन हो वा कुनै कारणले मावलीको आश्रयमा रही आदर्श माध्यमिक विद्यालयमा नै अध्ययन गरी प्रवेशिका उत्तीर्ण हुनासाथ प्रावि शिक्षक दरवन्दीमा नियुक्त लोकबहादुर आचार्य भन्ने एकजना युवा थिए । उनी ढकाल परिवारका भान्जा हुनाले समुदायका सबैका लागि प्रिय र मेरा पनि धेरै मायाका पात्र थिए । उनका मामा गर्पन पञ्चायतका ग्रामीण स्वास्थ्य कार्यकर्ता रहेछन् । भान्जा पनि मामाकै घरमा बस्दथे । मामाले माध्यमिक विद्यालय स्थापना गर्दा २०३९ सालमा रु पाँचसय पचपन्न रुपैया, पचपन्न पैसा चन्दाको घोषणा र कबुल गरेका भएपनि २०४६ जेष्ठसम्म पनि बुझाएका रहेनछन् । आदर्श माविका लागि जहाँ पनि चन्दा दिने र लिने क्रममा सधैँ सुनिने र प्रश्न आचार्यका मामाको चन्दाको कुरा रह्यो ।


प्रधानाध्यापक पद, लोक बहादुरको पढाइ तथा मामाको चन्दा केको सम्बन्ध ? केही कुरा बुझिएन ।


झट्ट बुझिने कुरा होइन, आदर्श मावि स्थापना हुनाले लोकबहादुरले हाईस्कुलको शिक्षा पढे । मामाले भान्जालाई पढाएको जश पनि पाए । प्रवेशिका उत्तीर्ण भान्जाले सबै मावलीहरुको स्नेहमा जागिर पनि पाए । तर आफैले कबुल गरेको चन्दा मामाले तिरेनन् । चन्दाको सवाल मामा सितसम्बद्ध भएकोले लोकबहादुरलाई मैले कहिल्यै पनि नउठेको चन्दा र उनका मामाका बारेमा कुनै चर्चा गरिनँ । यसैले सम्भवतः २०४६ जेष्ठको अन्तिमसातातिर चन्दारसिद बोकेर मामाको घरमा बास बस्न पुगेँ । तपाईले कबुल गरेको चन्दा नदिएसम्म पानी, चिया केही नखाने, खाना र विस्तारामा सुत्नेकार्य समेत नगर्ने र ढोकामा धर्ना दिने अठोट मामालाई गएर सुनाएँ । लोकबहादुर विद्यालयबाट घरमा पुगेपछि सबै कुरा बुझेछन् । उनले मलाई एकान्तमा लगेर, सर आज म जुन अवस्थामा छु, सबै मामाको कृपा र अनुग्रह हो । मामाका आफ्नै बाध्यता होलान्, मैले पढेँ, जागिरसमेत पाएँ, रसिद मामाको नाममा काटेर मलाई दिनुहोस् भने । यसरी उनका नाममा सापट लगेको रकमको आयव्ययको विवरण बनाएर ढकालको घरबाट बिदा भएर आएँ । मैले लेखाको काम गर्ने शिक्षक देवबहादुर ढकाललाई विवरण मूल आम्दानीमा चढाउन र सापटी लगेको रकममा खर्च लेख्न निर्देशन गरेँ । स्पष्ट भन्दा लोकबहादुरले पाउने तलबभत्ताबाट विद्यालयको आम्दानी बाधिँने भयो ।


मामाको चन्दा संकलन भएपछि भान्जालाई जागिरबाट किन हटाउनुपर्ने ?


२०४६ सालको विद्यालय बर्षे विदाका लागि असार ६ ̷ ७ गते तयारीमा थियौँ । तलबभत्ता बुझ्ने र आ—आफ्ना घर घरमा जाने योजना अनुसार सबै शिक्षक र म पनि झोला बोकेर आएँ । विद्यालयको चौतर्फी घेराबार, झ्याल ढोकाको स्थिति सबै निरीक्षण गरेर सबै राम्ररी बन्द गर्ने व्यवस्था मिलाएर कार्यालयमा पसेँ । सबै शिक्षक, कर्मचारीहरुलाई तलब भुक्तानी भयो नि ? भनी सोद्धा, देव बहादुरले पुगेन भन्नु भयो । मैले पुराएको हुँ के भयो र ? प्रश्न गरेँ ।


लेखा शिक्षकले भने, लोेकबहादुरले रु ५५६। कटाउन मानेनन् । मैले लोकबहादुरलाई तुरुन्त बोलाएर, विद्यालयको आर्थिक अवस्था र चन्दासम्बद्ध सबै कुरा सम्झाएँ । उनले मामाबाट अहिलेसम्म रकम पाएको छैन, मैले आफैले नै मिलाउनु परेमा दशैँको पेस्कीमा अवश्य मिलाउँला भनेर जोड दिए । त्यसैले घर जाने बाटो खर्चको रकमबाट रु ५५६। झिकेर तलबभत्ता नपुगेका मित्रलाई भुक्तानी दिन लगाएँ । तर लोक बहादुरसंगको यो घटनाले विद्यालयको आर्थिक कार्य पद्धतिमा आफैँ नै धेरै अन्यौलतामा फस्न पुगेको अनुभव भयो, म किंकर्तव्य विमुढतामा पसेँ र विवेक गुमाएर आक्रोशले पूर्ण घर ग¥यो ।


फलतः मैले आवेशमा प्रधानाध्यापकको निरंकुश अधिकार प्रयोग गर्दै, लोकबहादुरलाई २०४६ श्रावण महिनाको एक गतेदेखि नै तपाईको सेवा यस विद्यालयलाई आवश्यक नभएको भन्ने जागिर खारेजीको पत्र बनाएर दिएँ । उनलाई प्रावि तहको दरवन्दीको जागिरबाट अवकाश दिइएको पत्र चलानीसाथ जिशिकाका लागि हुलाकमा चलान गरेँ । जिशिकामा जानकारी दिएको पत्र बुझाउन वा जानकारी दिन आर्थिक प्रशासनलाई भनेँ । विद्यालयको माहोल तुरुन्त तनावग्रस्त बन्यो, ढकाल परिवार मात्र होइनन् प्रायः सबै सबै स्थानीयको विनम्र अनुरोध, दवाव र धम्कीका स्वरहरु सुनिए । सबै सबै विधि र कार्यबाट मलाई र मेरो निर्णयलाई एक्लो पारियो । तर मैले आफूले गरेको निर्णयमा कुनै परिमार्जन गर्न र उनीमाथि उदारता अपनाउन तयार हुँदै भइनँ । फलतः उनको जागिर २०४६ श्रावणमा गयो ।


सर्त पालना नगर्नेलाई जागिरबाट हटाउनु प्रधानाध्यापकको नैतिक मार्ग होइन र ? अनि किन पछुतो मान्ने ?


विद्यार्थीकाल होस् वा जागिरे काल आमा, बुबा तथा घरपरिवारमा अन्य पनि सदस्य छन् र तीहरुप्रति मेरो पनि कुनै दायित्व छ भन्ने ज्ञान र चेतना शुन्य नै थिएँ भन्दा हुन्छ । मैले कहिल्यै दुईचार हजारको त कुरै छाडौँ, दुईचार सय पनि घर परिवारमा दिएको स्मरण छैन । उल्टो कतिपटक घरबाट फिर्ता आउँदा बहिनीहरुसंग उनीहरुलाई फकाएर धेरै पैसा थपेर दिउँला भनी सापट लिएर फिर्ता आउँथे । समाजसेवा, चन्दा, सहयोग र विविध कारणहरुले गर्दा मसंग घर जाने र फर्किनेसम्मको लागि पनि पर्याप्त बाटा खर्च हुँदैनथ्यो ।


लोकबहादुरले खाएको जागिर गुमाउनुको मुख्य अपराधको भागीदार मैले बहन गरेको प्रधानाध्यापक पदको नैतिक मार्ग भएकोले मैले लिएको निरंकूश निर्णय हुनु प¥यो । आज सम्झिन्छु, जीवनका धेरै वर्ष जोगीझैँ नकमाएर र चन्दा सहयोगमा नै बितेका थिए । कस्ता कस्ता घटनामा परेर बाँच्दै आएको र निस्वार्थता पूर्वक काम गरेको मानिसका लागि लोकबहादुरका नाममा थप रु५५६। थपेको भए ? के हुन्थ्यो । मेरो जीवन यात्राको आकाश मार्ग अबरुद्ध नहुँदो हो र पक्कै विपत्ति नखस्दो हो ? तर दायाँ बायाँ नहेरी, सबैको अनुरोधलाई लत्याएर आफ्नै निर्णयमा कायम रही ममात्र ठिक भन्ने अडान राखेर एकजना साधारण मानिसको जागिर खोसेको पछुतो चाहिँ कहिल्यै हटेन र पिडाको अनुभूति गर्दछु ।


एउटै कुरामा जीवनमा यति धेरै पछुतो मान्नुको कारण ?


सरकारले बहुदलको उपहार स्वरुप २०४६ सालको एक आर्थिक वर्ष वा शैक्षिक सत्र भरी विशुद्ध शिक्षक दरवन्दीमा भएकाहरुको स्वतः स्थायीको घोषणा ग¥यो । मैले दिएको अवकाशले गर्दा यो सरकारी निर्णयको लाभबाट लोकबहादुर बन्चित हुन पुगे । सुन्दछु उनी जीवनभर कहिल्यै स्थायी हुन सकेनन्, कहिले अस्थायी रोजगार र कहिले बेरोजगारको भूँमरीमा सधैँ परिरहे । शायद मैले यो कठोर निरंकूशता नअपनाएको भए, उनका घर परिवार सन्तानले आशिर्वाद नदिएपनि अवश्य मलाई श्राप नदिँदा हुन् भन्ने लाग्दछ ।


अर्को पक्षबाट समीक्षा गर्दा २०४६ साल बैशाखमा स्थायी नियुक्ति हुनासाथ कोही कसैको प्रभावमा नपरी जनसेवा माविमा हाजिर हुन गएको र प्रधानाध्यापक छाडेको भए, लोकबहादुर मेरो हातबाट कार्वाहीमा पर्दैनथे । एक डेढ वर्षदेखि झुल्याएर राखेर अन्तमा २०४७ माघमा जागिरबाट अवकाश हुन पुगेका स्थानेश्वर पाण्डे पनि एकवर्षे स्वर्णिम स्थायीको उपहारबाट बन्चित हुँदैनथे । यसर्थ छोटो कालको प्रधानाध्यापक पद जीवनभरको पछुतो र पिडाको मारमा परेको अनुभव गर्दै आएको छु ।


जिम्मेवारी नपाउनुमा यो घटना कसरी जोडिन्छ ?


सरकारी तलबभत्ता समेत नखाने जनताले सञ्चालन गरेको माध्यमिक विद्यालयको सत्र महिनाको प्रधानाध्यापकको पद नै निरंकूशताको कारण बन्यो । सबै किसिमको प्रगतिशील र निष्पक्ष कार्यको व्यवहारको दम्भबोकी प्रधानाध्यापक कार्यमा उत्साहित भएर व्यावहारिक न्याय गर्नुको सट्टा साधारण घरपरिवारको मानिसलाई पिडामा पारेको ठानी दैवले मलाई पनि जीवन भर कुनै जिम्मेवारी नदिएर निकम्मापनमा गाँजेर राख्यो भन्ने ठान्दछु । दैवले कलीयुगमा सत्य र अडान राखेर धेरैको जीवनलाई बर्बाद पार्न सक्छ भनी मलाई कार्यालय प्रमुख हुने अवसर नदिनुमा कतै लोकबहादुरको आसुँ र उनका परिवारको श्राप त होइन ? त्यतिबेला कठोर नभएको भए सबैले आशिष दिँदा हुन र म पनि जीवनमा धेरै जिम्मेवारी पाउँदो हुँ । यसैले नेतृत्वकारी भूमिका मेरालागि फलदायी रहेनछ । विधि र विधानले पनि तँ उपयुक्त पात्र होइनस्, मालिक होइन, दासको भूमिकामा बस भनी खटाएको अनुभव हुन्छ र पिडामा बाँच्न बाध्य हुने गरेको छु ।


जीवनको उत्तरार्धमा राजनीतिको परिभाषा कसरी गर्नुहुन्छ ?


जीवनमा यी र यस्ता घटना घटाउने र अनावश्यक तनावमा पार्ने तत्वमा मुलुकको कुराजनीति र प्रशासनिक कुव्यवस्थापन पनि हो भन्ने लाग्न थालेको छ । यी सबै परिस्थितिहरुको विश्लेषण तथा समीक्षा र आत्मसाती करणले मलाई विद्यार्थीकालीन राजनीतिदेखि बोक्दै आएको आस्था र विश्वासको घरलाई मैले २०५१ सालपछि पूर्ण रुपमा छाडेको र कसैप्रति झुकाव नराखेको अवस्था छ । म पूर्ण स्वतन्त्र र विशेष गरी जनमुखी र प्रगतिशील मुद्दामा आफूलाई स्वतन्त्र नागरिकका रुपमा राख्ने प्रयास गर्दै आएको पाउँछु । मलाई मतदान गर्दा एउटै दल, एउटै नेता र एउटै चुनाव चिन्हमा बाँधिएर मत हाल्नु पर्दछ भन्ने लाग्दैन र आवश्यकतानुसार छनौट गरी मत हाल्नु नागरिक धर्म हो भन्ने मान्यता राख्दै, पालना गर्दै आएको छु । नो भोटको नागरिक अधिकार स्थापना गर्न, गराउन जोड दिदैँ पनि आएको छु । कता कता मलाई बहुदलको अर्थ विकृत भएर (बहुलाहा, हुल्याहा, दलाल, लफङ्गा) हरुको चर्तिकला भन्ने हुन थालेको छ ।


नेतृत्वको पक्षपाती तथा बहुलठ्ठीपनको राजनीतिले देशलाई तवाहा बनाएको छ । न्याय भन्ने कुरा निरीहको औजार हो तर सत्ता, शक्ति र साधनस्रोतमा पहुँच हुनेले जे गरेपनि हुन्छ भन्ने कुरा मनमस्तिष्कमा घुम्न थाल्दछ । यसरी बहुदलपछिको प्रारम्भिक कालीन समयदेखि नै राजनीतिक घटनाक्रमले वैयक्तिक रुपमा मलाई धेरै चोट पुराइयो र पिडा, दुख मात्र दिइयो । कोही कसैले धन्य भन्ने र साथ दिने भएनन्, सबै तास्ने, काट्ने र दवाएर राख्ने भूमिकामा देखिन थाले । यो अवस्थाको चरम विकासमा राजनीतिक दलहरुको शिक्षामाथिको हस्तक्षेप कस्तो रह्यो ? के के अपराध र कुशासनको श्रृंखला बढाए ? मैले भनिरह्नु नपर्ला । लोकबहादुरको आँसुले मात्र होइन, कुशासनका मतियार राजनैतिक नेता, दल र कार्यकर्ताहरुले नै मलाई प्रगतिशील र सिर्जनशील कामको नेतृत्व गर्ने जिम्मेवारीबाट बन्जित गरेका हुन् । यसर्थ भ्रष्टाचार र कुशासनका मुख्य अभियन्ता राजनीतिक दलहरु नै हुन् भन्ने निचोडमा रहेको छु । बाँकी अर्को भागमा प्रस्तुत गर्ने छौं …

Leave a Reply

Your email address will not be published. Required fields are marked *