काठमाडौं /१२ वैशाख-शारदा सुदर्शन देवकोटा फाउण्डेसनले श्री टिका विद्याश्रम माध्यामिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । आज एक कार्यक्रम आयोजना गरी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।
शारदा सुदर्शन देवकोटा उक्त विद्यालयको शिक्षक भएको र शिक्षामा निकै लगाव रहेका कारण फाउण्डेसनले प्रत्येक वर्ष कक्षा ९ र १० का छात्र र छात्रा गरी दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिँदै आएको जनाएको छ । छात्रवृत्ति पाउनेमा कक्षा ९ का स्मीता सिग्देल र युवराज खड्का रहेका छन् ।
कार्यक्रममा बोल्दै विद्यालयकी प्रधानाध्यापक विमला देवी लामिछाने पौडेलले विद्यालय भौतिक रुपमा राम्रो भएपनि शैक्षिक गुणस्तर वृद्धिमा सबैको सहयोगको आवशयक रहेको बताइन । उनले विद्यार्थीलाई दिइने छात्रवृत्तिले पढाइमा उत्प्रेरणा हुने बताइन ।
विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष वंशीधर पौडेलले विद्यालयलाई माथी ल्याउन समुदायको दायित्व महत्वपुर्ण रहेको भनाई राखे । उनले विद्यालयलाई राजनितिबाट टाढा राख्नुपर्ने र समुदायलाई नै जिम्मा दिनुपर्ने बताए ।
त्यसैगरी चन्द्रागिरी रोटरी क्लवबाट समिता कार्कीले दुई जना विद्यार्थीलाई पाँच वर्षसम्म चार हजारका दरले सहयोग गर्ने घोषणा गरेकी छन् । साथै उनले आज नै कक्षा ३ की नितिशा साह र कक्षा १ का सोनिया थापा गरी दुई जना विद्यार्थीलाई उक्त रकम हस्तान्तरण गरिन् ।
साथै कुमार केसीले विद्यालयको अक्ष्यकोषका लागि रु एक लाख दिने घोषणा गर्दे चेक हस्तान्तरण गरे ।





