महानगरका विद्यालयमा एउटै बार्षिक क्यालेन्डर, ११ को भर्ना एसईईको नतिजा पछि गर्न निर्देशन

काठमाडौं/१२ वैशाख-काठमाडौं महानगरपालिका शिक्षा विभागले सबै सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७९ मा एकै किसिमका बार्षिक क्यालेन्डर बनाई लागु गर्न परिपत्र जारी गरेको छ । महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरुको वार्षिक शैक्षिक क्यालेन्डरमा एकरुपता ल्याउन परिपत्र जारी गरेको हो ।


महानगरपालिका शिक्षा विभागले चैत ४ र ५ गते नगरकोटमा आयोजित सामुदायिक विद्यालयका प्रधानध्यापकहरूसंगको छलफल तथा अन्तक्रिया कार्यक्रममा काठमाडौं महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७९ मा एकै किसिमका वार्षिक क्यालेन्डर बनाई लागु गर्न प्रतिवद्धता व्याक्त गरेपछि यस्तो निर्णय गरिएको जनाएको छ ।


उक्त बैठकले शैक्षिक सत्र २०७८ को बार्षिक परीक्षाफल २०७९ वैशाख २१ गते प्रकाशित गर्ने, शैक्षिक सत्र २०७९ को लागि वैशाख २२ गतेदेखि जेठ ४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन तथा शैक्षिक योजना निर्माण गर्ने, जेठ ५ गतेबाट कक्षा सञ्चालन गर्ने, साउन १ गतेदेखि १५ गतेसम्म गर्मी विदा दिने, भदौ ५ गतेबाट प्रथम त्रैमासिक परीक्षा सञ्चालन गर्ने, दशै र तिहार विचको १४ दिन विद्यालय बन्द गर्ने, पौष ५ गतेबाट दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्ने, पौष १७ गतेबाट माघ २ गतेसम्म १६ दिन जाडो विदा गर्ने र हरेक विद्यालयले स्थानीय आवश्यकताको आधारमा ५ दिन स्थानीय बिदा दिनसक्ने निर्णय गरेको छ ।


त्यसैगरी महानगरपालिका शिक्षा विभागले कक्षा ११ को नयाँ भर्ना एसईईको नतिजा प्रकाशित भएपछि मात्र गर्न सबै कक्षा ११,१२ सञ्चालित विद्यालय तथा कलेजहरुलाई निर्देशन दिएको छ । कक्षा ११ मा नयाँ भर्नाका लागि विभिन्न सञ्चार माध्यमबाट सूचना सम्प्रेषण भइरहेको भन्दै एसईईको नतिजा प्रकाशित भएपछि मात्र भर्ना कार्य सञ्चालन गर्न भनिएको छ ।


साथै विभागको परिपत्र विपरीत भर्ना सञ्चालन गरेको पाइएमा नियमानुसार कारर्वाही गरीने शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बताए ।