काठमाडौं /८ चैत-निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को १४ औँ महाधिवेशनबाट महिला तर्फ उपाध्यक्षमा निर्विरोध निर्वाचित दीपिका थापा रिमाल १५औं राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिनु भएको छ । प्याब्सनले सीप, संस्कार र प्रविधि सहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता’ नारासहित १५औं राष्ट्रिय महाधिवेशन आगामी चैत ९ र १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गर्ने तयारीमा छ । तीन वर्षे कार्यकालका लागि २७ जना पदाधिकारीहरू र ३९ जना सदस्य सहित ६६ जनाको कार्यसमिति चयन गर्ने छ । लामो समयदेखि प्याबसनमा आवद्ध रहनु भएकी तथा १५औं राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्षकी उम्मेदवार दीपिका रिमाल थापासँग खबर एजुकेसनले गरेकोे संवाद ।
तपाइले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुको कारण के हो ?
प्याब्सनमा म २०५६ सालदेखि नै छु । जिल्लाको सदस्य र कोषाध्यक्ष हुँदै केन्द्रमा आएको हुँ । २०६० सालदेखि प्याब्सन केन्द्रमा रहेर काम गरिरहेको छु । दुई कार्यकाल सदस्य, दुई कार्यकाल सचिव र त्यसपछि उपाध्यक्षमा रहेर काम गरिसकेको छु । महिला कोटाबाट उपाध्यक्ष बस्न साथिहरुले आग्रह गरेपछि चार कार्यकालसम्म उपाध्यक्ष भएर काम गरे । विभिन्न कारण, प्याब्सनको बाध्यता र मेरो व्यक्तिगत कारणले लामो समयसम्म उपाध्यक्ष भएर बसे ।
अब पनि म उपाध्यक्ष पदमै बसिरहँदा महिलाहरु माथि प्रश्न चिन्ह उठ्छ की, महिला उपाध्यक्ष भन्दा माथि जाँदै जाँदैन भनेर विभिन्न प्रश्नहरु आउला भन्ने मलाई लाग्यो । किनकी म भन्दा अग्रज महिलाहरुलाई सल्लाहकारमा लगियो तर खुला पदहरुमा उपाध्यक्ष भन्दा माथि जानु भएन । त्यसैले उपाध्यक्ष भन्दा माथि महिला किन जान नसक्ने भनेर आज मैले आट गरेको हो । मैले आज गरेको हिम्मतले भविष्यमा देशै भरीका दिदी बहिनीहरुलाई प्याब्सनमा आउन सहज होस र अगाडि बढ्न हौँसला पनि मिल्नेछ भन्ने मेरो उदेश्य हो । त्यसैले यसपालि मैले उम्मेदवारी दिएको हुँ । साथै म प्याब्सनमा रहेर काम गर्न सक्छु भन्ने आटले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिए ।
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिदैँ गर्दा प्याब्सन भित्र नै महिला आएर काम गर्न सक्दैन भन्ने गर्छन । यसलाई कसरी लिनु भएको छ ?
म लामो समयदेखि प्याब्सनमा रहेर काम गरे । म महिला भएर पनि अरुले भन्दा बढी काम गरेको छु । महिला भन्दा पनि म एउटा ह्युमन हुँ । मैले काम गर्न सक्दिन भन्ने सोच्नु खराब हो । मैले काम गर्न किन नसक्नु । काम गर्न सक्दैन, समय दिन सक्दैन भनेको आफुहरु अगाडि जानका लागि मिथ्या कुरा गरिएको हो । राम्रा विद्यालयहरु पनि महिलाले नै समालेका छन् त्यसअर्थमा पनि महिलाले राम्रो व्यवस्थापन गर्न सक्छन् भन्ने हो । मैले पनि विद्यालय र प्याब्सन दुबै हेरेकै छु, यो सँगै घर परीवार पनि हेरेको छु ।
विद्यालयलाई राम्रो बनाउनुपर्ने समय मैले प्याब्सनलाई दिए । अब त विद्यालय पनि म आफैले हेर्नु पर्देन श्रीमानले हेरिरहनु भएको छ । प्याब्सनलाई अझ बढी समय दिन सक्छु । त्यसैले म सक्छु र एउटा उदाहरण बन्ने मेरो लक्ष्य छ । आज जस्ले महिलाले काम गर्न सक्दैन भन्नु भएको छ पछि बोलेकोमा पछुतो हुने छ ।
नेतृत्वमा आउनका लागि प्याब्सनलाई गरेको आर्थिक लागानिका विषय उठ्ने गरेका छन् । प्याब्सनका लागि पैसा नै महत्वपुर्ण हो ?
लगानिको कुरा गर्ने हो भने मैले पनि २०५६ सालदेखि प्याब्सनलाई मेरो जिवनको महत्वपूर्ण समय दिएको छु । भौतिक रुपले, मानसिक रुपले, आर्थिक रुपले र सामाजिक रुपले लगानि गरेको छु । खालि पैसा हालेको मात्र लगानि हैन । प्याब्सनलाई पैसा दिएकोलाई मात्र लागानि भन्न मिल्दैन किन भने नितीगत सवालमा, विद्यालयका आवज उठाउने सवालमा पैसाले काम नगर्न सक्छ, पैसा नै सबै थोक हो, भन्नेले यो बुझ्न आवश्यक छ । प्याब्सनलाई दिएको समय अरु विभिन्न विषयमा गरेका कामहरु पनि लगानि नै हो । तर यसलाई म लगानि भन्न रुचाउँदिन ।
लगानिको कुरा गर्नु भनेको आफ्ना छोराछोरीलाई पाले, हुर्काए, पढाए भने जस्तै प्याब्सन पनि हाम्रा लागि त्यस्तै थलो हो । यदि प्याब्सनलाई पैसाकै लगनि गर्ने हो र सहयोग गर्ने मन छ भने पद नै चाहिन्छ भन्ने हुँदैन । दीपिका रिमाल थापाले वरिष्ठ नहुँदा पनि वरिष्ठ सरह, महासचिव सरह, सहसचिव सरह काम गरेकै छ । काम गर्न चाहाने मान्छेलाई पद नै चाहिन्छ भन्ने छैन सामान्य सदस्य भएर पनि काम गर्न सक्छ ।
त्यसो भए तपाइलाई नै भोट किन हाल्ने ?
यो मलाई धेरै साथीहरुले सोध्ने गरेको प्रश्न पनि हो । यो चाहि साथीहरुको स्वविवेकको कुरा हो । भोट् हाल्नेले आफै सोच्नु पर्छ । तर, मत मलाई नै हाल्नु पर्छ भन्ने मेरो विचार हो । किनभने मैले मन र तन लगाएर आफुलाई भन्दा पनि सबै प्याब्सनका सदस्यलाई सम्झेर काम गर्ने गरेको छु । अर्को कुरा प्याब्सनमा रहेर अरुले जस्तो व्याक्तिगत नाफा घाटा मैले हेरेको छैन मात्र प्याब्सन र यसमा आवद्ध विद्यालयहरुलाई हेरेर काम गरेको छु । मैले काम कसरी गरेको छु उहाँहरुले देख्नु भएकै छ । मलाई भोट हाल्नुहोस भनेर म कसैलाई दवाव दिन्न र दिन चाहान्न । मैले यत्ति आग्रह गर्छु कस्ले काम गरेको छ छैन सोचेर बुझेर हेरेर मत हाल्नु होला । दीपिका रिमाल थापाले काम गरेको छैन भने खुलस्त भन्नुहोस् भोट नहाल्नुहोस् ।
मैले काम गरेको छु छैन भन्ने कुरा प्रतिवेदन हेरे थाहा हुन्छ । मैले काम नगरेको भन्ने प्रमाण देखाउनु भयो भने मलाई भोट नहाल्दा पनि हुन्छ । दीपिका रिमाल थापा वरिष्ठ हुनु हँुदैन भन्ने कुराको कमि कम्जोरी के छ देखाइदिनुस म सुधार गर्न चाहान्छु । एउटा महिला म गर्छु भनेर लागि रहेको बेलामा सजावटको सामान जस्तो ठानेर थापना मात्र राख्ने होइन ।
महिलालाई उत्सहित गर्नु भयो भने न अरु महिलाको पनि प्याब्सनमा सहभागिता रहन्छ । महिलालाई उपाध्यक्ष भन्दा मथि जान नदिएकै कारणले प्याब्सनमा महिलाको सहभागिता कम छ । अहिलेकै मनोनयनलाई हेर्ने हो भने पनि अधिकांश महिला कोटा खालि नै छन् ।
एउटा महिला नेतृत्वमा पुग्दै गर्दा अरु महिलालाइ पनि प्याब्सनमा सहभागिता हुन उत्साह मिल्ने छ भन्ने कारणले पनि मलाई मत हाल्न आग्रह गर्छु ।
प्याब्सनमा रहेर काम गर्नका लागि आगामी योजना के के छन् ?
थुप्रै योजना र एजेण्डा छन् । वर्तमान अध्यक्षले चालेको कदममा हामी सबैले साथ दिएकाले आज हामी प्याब्सनको आफ्नै भवनमा बसेर काम गर्न पाएका छौँ । यो प्याब्सनको साथै मेरो पनि सपना थियो । अहिले आएर सफल भएको छ । अब स्रोत खोजेर प्याब्सनको केही लोन चुक्ता गर्नुपर्ने छ ।
अर्को देश भरमा रहेका विद्यालयहरुमा कसरी टेक्नोलोजि अवलम्बन गर्दे समयनुकुलको शिक्षा दिन सक्छाँै भन्ने सवालमा विद्यालय, शिक्षक, प्रिन्सिपलहरुलाई तालिम दिने र विद्यालयलाई विकास गर्नका लागि योजना बनाएको छु ।
त्यसैगरी छात्रवृत्ति दिने सवालमा, निजी र सार्वजनिक विद्यालय विचमा रहेको विभेदको सवालमा लगायत नितीगत विषयमा जुनसुकै सरकार आएपनि प्रत्यक्ष रुपमा कुरा गरेर निजी विद्यालयको हितमा कामगर्ने वातावरण सिर्जना गर्न सक्ने हिम्मत म सँग छ ।



