काठमाण्डौं/७ माघ– लामो समयदेखि शैक्षिक संस्थाहरूले उठाउँदै आएको शिक्षक अस्पतालको मुद्दा अब नेपाल शिक्षक महासंघले सम्बोधन गर्ने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारिरहेको शिक्षा ऐनको मस्यौदामा शिक्षक अस्पतालको परिकल्पनालाई पनि समेटिएको छ । विद्यालयका शिक्षक तथा कर्मचारीलाई सहुलियतपूर्ण उपचार दिने उद्देश्य सहितको शिक्षक अस्पतालको परिकल्पना ऐनमा समेटिएको हो ।
विभिन्न शैक्षिक संस्थाहरूमा कार्यरत शिक्षकहरूका लागि तत्काल शैक्षिक अस्पताल स्थापना गर्न सम्भव नभए पनि अहिले प्रदेशस्तरमा चलिरहेको कुनै पनि अस्पतालबाट शिक्षक र विद्यालयका कर्मचारीलाई सहुलियतपूर्ण स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनुपर्ने प्रावधान ऐनमा समेटिएको छ ।
शिक्षण पेशालाई अझ मर्यादित बनाउन सरकारले शिक्षकहरुको सेवा, सुविधा वृद्धिमा विशेष व्यवस्था गनुपर्ने भन्दै निजामती सेवा, आर्मी अस्पताल, नेपाल प्रहरी र नागरिक अस्पताल भएजस्तै शिक्षकहरुको पनि छुट्टै अस्पताल हुनुपर्ने माग लामो समयदेखि उठिरहेको थियो । शिक्षकहरूको यही अवस्थालाई मध्यनजर गर्दै उक्त माग सम्बोधन हुनेगरी ऐनको मस्यौदा निर्माण भइरहेको मन्त्रालय निकट स्रोतले जानकारी दिएको छ ।